एजेन्सी | साइलाजिन वा ट्रान्क भनिने एक लागूपदार्थले अमेरिकाका विभिन्न शहरमा आतंक मच्चाइरहेको छ । यसको सेवनले छाला कुहिने लगायतका समस्या उत्पन्न गर्छ ।

यस लागूपदार्थलाई पशुचिकित्साका लागि उपयोग गर्न देशको खाल् नियमन निकाय फूड यान्ड ड्रग एडमिनिस्ट्रेसनले अनुमति दिएको छ ।

तर यो मानिसले उपभोग गर्नका लागि सुरक्षित छैन । यसको अत्यधिक सेवनले व्यक्तिलाई ओभरडोजबाट निस्कन मद्दत गर्ने नालोक्सोनमा प्रतिक्रिया जनाउन असमर्थ बनाउँछ ।

यो लागूपदार्थ सेवन गरेपछि धेरै सुत्न मन लाग्ने, श्वासप्रश्वासमा समस्या हुने अनि सानो घाउ पनि गहिरो बन्दै जाने समस्या देखिन्छन् । यसको बेलैमा उपचार नगरिएमा छाला मर्छ अनि शरीरको अंग नै काट्नुपर्ने हुन्छ ।

यो लागूपदार्थ सेवन गरेकाहरूले शुरूमा आएको मज्जालाई पछिको असरले पूरै नष्ट गरिदिएको बताएका छन् ।

सन् २०२१ मा न्युयोर्कमा मात्र २६ सय ६८ मानिसको मृत्यु भएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । अमेरिकामा व्याप्त लागूपदार्थ महामारीलाई यसले थप बिगार्ने विज्ञहरू बताउँछन् ।