बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुग्यो, ३८ अझै बेपत्ता

Posted on: 15 Aug, 2017


साउन ३१, काठमाडौं । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुगेको छ । ३८ जना बेपत्ता छन् भने २५ घाइते भएका छन् । 

बेपत्ता भएकाको खोजी कार्यलाई तीव्रता दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । शुक्रबार रातिदेखि तीन दिनसम्म आएको बाढीपहिरोबाट २ हजार ८ सय ४७ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् । 

३ हजार ७ सय ४७ विभिन्न पूर्वाधार संरचनामा क्षति भएको गृह मन्त्रालयले जनाएको छ । पीडितहरूको उद्धारका लागि २६ हजार ७ सय व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिएका छन् । बेपत्ताहरूको खोजी, उद्धार र राहत वितरणका लागि सेनाका ७ र ६ निजी हेलिकोप्टरसहित मोटरबोट र रबर्टबोट प्रयोग गरिएको गृह मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।

प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रमा 

प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री जनार्दन शर्मासहितको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको छ । प्रधानमन्त्रीको टोलीले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापा क्षेत्रका बाढीपीडितलाई भेटेको छ । राहत वितरणमा कुनै कसर बाँकी नराख्न टोलीले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

१२ जिल्लामा राहत वितरण

सरकारले तराईका १२ जिल्लाका बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । झापा, सुनसरी, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलालीमा राहत वितरण गरिएको हो । अरू राहत सामग्री आवश्यकता अनुसार वितरण गरिने प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

कुन जिल्लामा कस्तो राहत

झापा : विस्थापित ७ सय परिवारका लागि ८५१ थान त्रिपाल, ४७५ थान कम्बल, २६१ सेट भाँडाकुँडा र ड्राइफुड वितरण ।

सुनसरी : चामल ६४५० केजी, चिउरा १२०६० केजी, भुजा ६७१० केजी, नुन ९१० केजी, चाउचाउ २१४५० गोटा, खाने तेल ५० लिटर, बिस्कुट ५० कार्टुन, दालमोठ ६४० पोका र दाल ३२५ केजी वितरण ।

सप्तरी : त्रिपाल ६७० थान, चिउरा १५ बोरा, भुजिया ५० बोरा, चामल १० बोरा, लत्ताकपडा १४६ थान, विराटनगरबाट ५ हजार केजी ड्राइफुड पठाएको छ ।

सर्लाही : चिउरा ६२८० केजी, चाउचाउ ३४२ कार्टुन, नुन ४५० केजी, चिनी ३०० केजी, दालमोठ ८ बोरा, प्याज १५० केजी, लत्ताकपडा २०० सेट, त्रिपाल १८३ थान, साबुन ३० वटा, कम्बल ३० थान, बाल्टिन ३० वटा, मग ३० वटा, अन्य खाद्य सामग्री ५ हजार केजी ।

धनुषा : त्रिपाल १५ वटा, चामल १० क्विन्टल, चिउरा १५ क्विन्टल, मुरै दुई क्विन्टल, दाल एक क्विन्टल, आलु ३ क्विन्टल, चिनी २ क्विन्टल, खाने तेल १५० लिटर ।

महोत्तरीः चिउरा ११४ केजी, भुजिया ६२ केजी, चिनी २५ केजी र ३०० जनालाई खाना खुवाइयो ।

बारा : चाउचाउ ८५ कार्टुन, चिउरा १७ सय केजी, दालमोठ १४० केजी, लिटो ९३ केजी, पानी ६०० बोतल, बिस्कुट ६०० प्याकेट, चामल ७२० केजी, दाल ७२ केजी, आलु ३६० केजी, तेल ७२ लिटर, नुन ७२ प्याकेट र बाल्टिन ८४ वटा वितरण ।

रौतहट : काठमाडौंबाट २०५० केजी ड्राइफुड, हेटौँडाबाट ७५८० केजी ड्राइफुड र ८० थान सेल्टर त्रिपाल हेलिकोप्टरमार्फत पठाइयो ।

दाङ : चिउरा ५४५ केजी, दालमोठ ४५ केजी, चामल २६ क्विन्टल, दाल १३५ केजी, बिस्कुट ४५ कार्टुन, चाउचाउ ९० कार्टुन, तेल १२५ लिटर, नुन १३५ केजी, आलु १५० केजी, सोयाबिन १२५ केजी, त्रिपाल ५३ थान, साडी २० थान, पानी ७० कार्टुन, बाल्टिन ४५ वटा, जग ४५ वटा र जर्किन ४५ वटा वितरण ।

बाँके : चिउरा ८८०० केजी, चाउचाउ १५००० प्याकेट, बिस्कुट १८७२० प्याकेट, पानी ३३२० बोतल, चिनी ५२५ केजी, जीवनजल २१६० सिटामोल, २००० थान ट्याबलेट, त्रिपाल १० थान ।

बर्दिया : १५०० केजी ड्राइफुड, बाँकेबाट १० क्विन्टल खाद्य सामग्री पठाइयो ।

कैलाली : त्रिपाल १६२ थान, कम्बल ५० थान, म्याटे«स १०० थान, कार्पेट रोल, चिउरा ५१५ प्याकेट, चिनी ३० केजी, चाउचाउ १४६ केजी, बिस्कुट ५९ पेटी, नमकिन ४० केजी, भुजा ९ बोरा, पानी ९५ पेटी हाइजिन, किट १०० थान वितरण ।

पीडितलाई दिने राहत एकद्वार प्रणालीबाट गरिने 

गृह मन्त्रालयले राहत वितरण प्रणालीमा एकद्वार प्रणाली अपनाउने निर्णय गरेको छ । बाढी प्रभावित क्षेत्रमा राहत वितरण प्रणालीलाई प्रभावकारी बनाउन गृह मन्त्रालयका सहसचिव केदार न्यौपानको अध्यक्षतामा राहत संकलन संयोजन समिति गठन गरिएको छ ।

मृतकका परिवारलाई दुई लाख केही दिनपछि मात्रै दिइने

बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई सरकारले दिने भनेको दुई लाख रुपैयाँ पठाउन अझै केही दिन लाग्ने भएको छ । मृतक सबैको पहिचान भइसकेपछि मात्रै सो रकम पीडित परिवारलाई दिइने मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले बताए । हाल मृतकको तथ्यांक संकलन भइरहेको छ ।

बाढीले राजमार्ग भन्दा पुलमा क्षति अत्यधिक 

सोमबारसम्म बाढीले देशभरका १७ पुलमा क्षति पुगेको छ । सडक विभागका अनुसार ६ वटा सडकखण्ड र दुईवटा कल्भर्टमा पनि क्षति भएको छ । ‘मध्यपश्चिममा सञ्चार समस्या भएकाले सबै विवरण आएको छैन,’ विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले भने ।

औषधिको पर्याप्त मौज्दात, बाढी प्रभावित क्षेत्रमा सर्पदंश

बाढीबाट उत्पन्न प्रकोप न्यूनीकरणका लागि औषधिको पर्याप्त मौज्दात र स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाँच ठाउँमा छुट्टाछुट्टै टोली बनाएर खटाइएको मन्त्रालयले जनाएको छ । बाढी प्रभावित क्षेत्रवरिपरि सर्पदंशको त्रास बढेको छ। -नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!