कात्तिक १९, काठमाडौँ । छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो ।
नेपालको पूर्वी तराईमा बसोवास गर्ने सन्थाल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ । पाँच वर्षअघि झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुमसँग मागीविवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल बेस्रा ससुरालीमै घरजम गरेर बसेका छन् । हेम्रुमसँग वैवाहिक सम्बन्ध गाँसेपछि बेस्राले आफ्नो थातथलो नै त्याग्नुपर्यो ।
बेस्रा दम्पती सन्थाल समुदायमा नौलो पात्र होइनन् । सन्थाल जातिमा घरज्वाइँ राख्ने परम्परा परापूर्वकालदेखिकै हो । ‘हामी छोरी अर्काको घरमा पठाउँदैनौं । ज्वाइँ ल्याएर घरजम गर्ने गर्छौं,’ झापा सरणामतीका ३० वर्षीय मुन्सी बासकीले भने । ‘अन्य जातिले छोरी अन्माएर कुटुम्बलाई दिइन्छ तर यो समुदायमा फरक प्रचलन छ,’ झापाका कांग्रेस नेता टंक विश्वकर्माले भने ।
पूर्वीनेपालमा सन्थाल समुदाय करिब ५ हजार संख्यामा छ । झापा सुरुंगा आसपास वन क्षेत्रमा बसोवास गर्ने यो समुदायका करिब ४० घरमध्ये अधिकांशमा घरज्वाइँ छन् । लाल बेस्राका आमा रानी वासकीले २६ वर्षअघि बुबा हणमा वासकीलाई विवाह गरी भित्र्याएकी थिइन् । सरणामती- ६ झापामा जन्मे÷हुर्केका हणमा हाल घरज्वाइँ भएर झापाको भाकोडुब्बामा बस्दै आएका छन् ।
सन्थाल समुदायको अन्य जातिको भन्दा छुट्टै विवाह संस्कार रहेको स्थानीय बताउँछन् । यो समुदायमा ज्वाइँ खोज्न रस्साकस्सी पर्छ । लाल बेस्रालाई घरज्वाइँ बनाएकी सुमीकी आमाले देवन मि श्रलाई बिहे गरी आफ्नो घर भित्र्याएकी थिइन् ।
रानी सामुदायिक वन क्षेत्रमा सन्थाल परिवारले टहरा बनाएर बस्दै आएका छन् । वन क्षेत्रमा पाँच वर्ष अघिसम्म ५/७ परिवार मात्र थिए तर ज्वाइँको संख्या बढ्दै जाँदा परिवार पनि फैलिएको र सामुदायिक वनमा अतिक्रमणसमेत बाक्लेको समूहका अध्यक्ष रामबहादुर कार्कीले बताए ।
उनले नजिकै नयाँ बस्ती निर्माण गरी व्यवस्थापन गरिएको बताए । आफ्नो थातथलो यकिन नभएका सन्थाल जातिको आफ्नै नाममा जग्गा जमिन छैन । खुला ऐलानी जग्गामा टहरा बनाई सुकुम्बासीका रूपमा बसोवास गर्दै आएका छन् ।
सन्थालहरू श्रमको खोजीमा सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल छिरेर बसोवास गर्दै आएका हुन् । हाल उनीहरूको संख्या बढ्दै गएको सेक्टर वन सुरुंगा झापाका सहायक वन अधिकृत ओमनाथ भट्टराईले बताए । अन्नपूर्ण पोष्ट दैनिक