2026-09-19 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा को कसको हस्ताक्षर ?

असोज २७, काठमाडौँ | चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका  २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने उच्च अधिकारीको विवरण राससलाई प्राप्त भएको छ । 

राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ यीले दुई वटा समझदारीपत्र, एक सम्झौता र अर्को एक सन्धिमा हस्ताक्षर गरी ती दस्तावेज आदानप्रदान गर्नुभएको थियो । 

परराष्ट्रमन्त्रीस्तरमा सीमा व्यवस्थापन प्रणाली सम्झौता, शासकीय क्षमता अभिवृद्धि तथा आदानप्रदानसम्बन्धी समझदारीपत्र, आपराधिक गतिविधि नियन्त्रणसम्बन्धी कानूनी सहायता सन्धि र सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष एवं चिनियाँ जनताको राजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)का उपाध्यक्ष ही लेफङले दुई मुलुकका योजना आयोगबीच लगानी तथा सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । 

चीन–नेपाल सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा चीनको यातायात मन्त्रालयका तर्फबाट नेपालका लागि चीनका राजदूत हउ यान्छीले  हस्ताक्षर गर्नुभयो । 

काठमाडौँ महानगरपालिका र जनवादी गणतन्त्र चीनको नान्जिङ शहरबीच भगिनीसम्बन्ध स्थापना गर्नेसम्बन्धी सम्झौतामा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र चिनियाँ कम्युनिस्ट पार्टीको झाङसु प्रान्तीय स्थायी कमिटी सदस्य तथा सोही पार्टीको नान्जिन नगर कमिटिका सचिव झाङ जिङह्वाले हस्ताक्षर गर्नुभयो । 

बुटवल उपमहानगरपालिका र चीनको सियान नगरबीच भगिनीसम्बन्ध स्थापना गर्नेसम्बन्धी सम्झौतामा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र सियान नगरप्रमुख ली म्युङवानले दस्तखत गर्नुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चीनको परम्परागत औषधि व्यवस्थापन राष्ट्रिय प्रशासनबीच परम्परागत उपचार पद्धतिमा सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव खगराज बराल र नेपालका लागि चिनियाँ राजदूत  हउले हस्ताक्षर गर्नुभयो । 

गृह मन्त्रालय र चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयबीच दैवीविपत्ति न्यूनीकरण तथा आपतकालीन द्रुत उद्धारका लागि सहयोगसम्बन्धी समझदारीपत्रमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र चिनियाँ राजदूत हउले हस्ताक्षर गर्नुभयो । 

दुई देशका महान्यायाधिवक्ताको कार्यालयबीच पनि सहकार्य र साझेदारी गर्ने समझदारी भएको छ । त्यससम्बन्धी समझदारीपत्रमा महान्यायाधिवक्ता अग्नि खरेल र चीनको सर्वोच्च  महान्यायाधिवक्ताको कार्यालयका प्रमुख झाङ जुनले हस्ताक्षर गर्नुभयो । 

त्रिभुवन विश्वविद्यालय र कन्फ्युसियस अध्ययन संस्थानको मुख्यालयबीच त्रिभुवन  विश्वविद्यालयमा कन्फ्युसियस अध्ययन संस्थान स्थापना गर्नेसम्बन्धी सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल र चिनियाँ राजदूत हउले हस्ताक्षर गर्नुभयो । 

कृषि विभाग र जनवादी गणतन्त्र चीनको सामान्य भन्सार प्रशासनबीच अमिला वर्गका फलफूल चीन निर्यात गर्नेसम्बन्धी फाइटोस्यानेटरी (वनस्पति स्वच्छता) को आवश्यकतासम्बन्धी प्रोटोकलमा कृषि विकास तथा पशुपक्षी मन्त्रालयका सचिव डा युवकध्वज जिसी र नेपालका लागि चिनियाँ राजदूत हउले हस्ताक्षर गर्नुभएको हो । 

चीनको सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्यदूतावास स्थापना गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र) मा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी र चिनियाँ राजदूत हउले हस्ताक्षर गर्नुभयो । 

अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठनसम्बन्धी समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र चीनको वाणिज्य मन्त्रालयका सचिव यू जीनह्वाले हस्ताक्षर गर्नुभएको थियो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको समझदारीपत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र चीनको वाणिज्य मन्त्रालयका सचिव यू जीनह्वाले हस्ताक्षर गर्नुभएको हो । 

चिनियाँ सहयोगमा नेपालमा भूकम्प अनुगमन सञ्जाल परियोजना आपूर्ति तथा स्वीकारसम्बन्धी प्रमाणपत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा र चीनका वाणिज्यसचिव यू जीनह्वाले हस्ताक्षर गर्नुभयो । 

अर्थमन्त्रालय र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोगबीच सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारीपत्रमा अर्थसचिव खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोग(सिड्का) का अध्यक्ष वाङ सियाटोले हस्ताक्षर गर्नुभयो । 

सीमा सुरक्षा तथा कार्यालय उपकरणका लागि ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र) मा अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोग(सिड्का) का अध्यक्ष वाङले हस्ताक्षर गर्नुभयो । 

चिनियाँ सहयोगमा काठमाडौँ उपत्यकाका नगर क्षेत्रमा खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी बैठकका निर्णयमा खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोग(सिड्का) का अध्यक्ष वाङले हस्ताक्षर गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई