२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काफल पाक्यो तर भोटे फर्केनन् !

७ बैशाख २०७७, आईतवार ०५:३४

निरज थकाली | वैशाख ७, ठिनी | हिमालबाट जाडो छल्न पोखरा झरेकी छिरिङ गुरुङ गर्मी बढ्दै जाँदा दुःखी बन्नुभएको छ । गत मङ्सिरमा (पोखरा) झर्नुभएकी उहाँ गाउँ फर्कन नपाएर हैरान हुनुभएको हो । गाउँ फर्कने तयारीमा रहेका बेला सरकारले कोरोना नियन्त्रण गर्न लकडाउन गरेकाले पोखरामै अलपत्र पर्नुभएको हो ।

हिमाली भेकका बासिन्दालाई गर्मी ठाउँ फाप्दैन । “पोखरामा गर्मीले बस्नै गाह्रो भयो । खाना पनि रुच्दैन”, ६८ वर्षीया गुरुङले टेलिफोनमा भन्नुभयो, “गाउँ सम्झँदै धुरुधुरु रोइरहन्छु ।” उहाँको गाउँ लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ढेगाउँमा छ ।

यस्तो व्यथा छिरिङ एक्लैको मात्र होइन, पोखरासहित अन्य ठाउँमा जाडो छल्न झरेका मुस्ताङीको सङ्ख्या ५५० भन्दा बढी भएको अनुमान छ । “गाउँ जान नपाएर मुस्ताङी अलपत्र परेका छन्”, गण्डकी प्रदेशसभा सदस्य एवं उपल्लो मुस्ताङ लो–मन्थाङका बासिन्दा इन्द्रधारा विष्ट भन्नुहुन्छ, “हामीले सम्पर्कमा आएका ३४९ जनालाई प्रदेश सरकारमार्फत राहत वितरण गरिसक्यौँ ।”

जाडो शुरु हुनेबित्तिकै मङ्सिरमा मध्यपहाड र तराईमा झर्नु र गर्मी शुरु हुँदा हिमालतिर उकालो लाग्नु मुस्ताङीको जीवनशैली हो । पोखरा, काठमाडौँ र भारत झर्नेहरू जिम्बु, जडीबुटीसहित खिच्रिङमिच्रिङ र कपडाको व्यापार गर्थे । कतिपय जाडो छल्नका लागि मात्र कोठा भाडामा लिएर दिन बिताउँथे । उनीहरू गाउँ फर्कंदा पहाडी भेगमा चराको आवाज सुनिन्थ्यो, ‘काफल पाक्यो ! काफल पाक्यो !’ यही परिवेशमा पहाडी समुदायबीचमा एउटा भनाइ नै प्रचलित बन्यो, ‘काफल पाक्यो, भोटे फर्कियो ।’ 

त्यतिमात्र होइन, भोटेहरू घोडा, खच्चड, काम्लो, रासन र बक्खु लगाएर उकालो लागेपछि पहाडिया र तराईवासी बर्खामासको स्वागतमा तयार हुन्थे । भोटेहरू पनि औल फाप्दैन भनेर काफल चरीको आवाज सुन्दै थातथलो फर्कन्थे ।  समयको परिवर्तनसँगै, तराई, पहाड र भोटमा स्वास्थ्य, यातायात र शिक्षा क्षेत्रमा विकास हुँदै आयो । भोटेहरू पनि सधैँ पहाड र तराईमा बस्न थाले, औलोको डर कसैलाई भएन । मोटर तथा हवाईजहाजमा एकै दिनमा हिमाल पुग्न सक्ने भए । त्यतिमात्र होइन इन्टरनेटले संसारलाई नै जोडेसँगै उनीहरू संसारका हरेक कुनामा व्यापार गर्न सक्ने भए । 

सबै समयअनुसार परिवर्तन हुँदै गयो तर मौसम परिवर्तन भएन । पुर्खाहरू पैदल वा घोडामा व्यापार गर्थे, अहिलेको नाति पुस्ता मोटर वा हवाई यात्रा गरेर भारतसम्म पुगेर व्यापार गर्न थालेका छन् । सधैँ बेलैमा उनीहरू गाउँ फर्कन्थे । तर यसपालि नसोचेको भयो । नचाहँदा नचाहँदै उनीहरूले एक महिनाभन्दा बढी समय बेँसीमै बस्नुपरेको छ । “अझै कति दिन पोखरामै बस्नु पर्ने हो”, थासाङ गाउँपालिका–२ नाउरीकोटका ९१ वर्षीय भक्तिप्रसाद गौचन भन्नुहुन्छ, “यत्रो उमेर भो, यस्तो महामारी त कहिल्यै भोग्नुपरेको थिएन ।”

विषेशगरी उपल्लो मुस्ताङका स्थानीयवासी बक्खु लगाएर गर्मी ठाउँमा बस्न बाध्य छन् । “हिमाली जनता मर्कामा परेका छन्”, सासंद प्रेमप्रसाद तुलाचन भन्नुहुन्छ, “चिसो वातावरणमा बाक्लो कपडा लगाएर बस्नुपर्ने नागरिक हाल गर्मीमा बाक्लो कपडामा कसरी बसेका होलान् !”

हिमाली भेगमा फागुन महिनादेखि खेतीको समय शुरु हुन्छ । वर्षमा एक बाली मात्र लगाइन्छ, त्यो बाली असोजमा भित्र्याइन्छ । तत्काल बाली लगाउन नपाए खेती बाँझो रहने सम्भावना हुन्छ । “पोखरातिर अलपत्र परेका नागरिकलाई गृह जिल्लामा फर्काउने पहल गरेका हौँ”, सासंद तुलाचनले भन्नुभयो, “माथि पहिल्यैदेखि बसिरहेकाहरू बाहिरबाट गाउँले आउँदा कोरोनाको सङ्क्रमण हुने डरले त्रसित भएकाले समस्या भएको छ ।”

लकडाउनले पुस्तौँपुस्ताको व्यापार र स्थानीयवासीको दिनचर्या नै परिवर्तन गरिदियो । त्यसैले परापूर्वकालदेखि चलेको भनाइ ‘काफल पाक्यो, भोटे फक्र्यो’ यसपालिका लागि ‘काफल पाक्यो तर भोटे फर्केन’ भनेझैं भयो । तैपनि गाउँलेको आशा मरेको छैन । “हाम्रो ठूलो चुनौती भनेकै गर्मी हो”, छिरिङले आग्रहको भाकामा भन्नुभयो, “हाम्रो व्यथा बुझेर सरकारले चाँडोभन्दा चाँडो हामीलाई गाउँ जान दिए हुन्थ्यो ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान