असोज ७, काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ।

महाशाखाले वर्षाका कारण उक्त स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ।

आज देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा झार खण्ड आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।

भने, बिहानको मौसम देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्का बर्षा भइरहेको छ।

यसैगरी, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।