पढ्न करिब 1 मिनेट लाग्छ

असार १३, डोल्पा । झन्डै चार महिनापछि भएको वर्षात्ले गर्दा डोल्पाली कृषक उत्साहित भएका छन् ।

वर्षात्पछि जिल्लाका सुं, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा, लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धोलगायत गाउँका बासिन्दा उत्साहित भएका हुन् ।

“बर्खे बालीका रुपमा लगाइएको मकै, कोदो, फापर, सिमीलगायतका अन्नबाली खेतबारीमा उम्रेपनि पानी नपर्दा सुक्न थालेका थिए । ढिलै भए पनि दुई दिन लगातार वर्षात् भयो, सुक्खापनले गर्दा नउम्रेका अन्नबाली उम्रिनुका साथै उम्रेका अन्नबाली पनि हुर्कन सहयोग पुग्ने त्रिपुरा सुन्दरी नगरपालिका–१ का कृषक भीमप्रसाद देवकोटाले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक सम्पती बुढाका अनुसार यतिखेरको वर्षात्ले खेतबारीमा लगाइएको अन्नबाली उम्रर्नुका साथै उम्रिएका बीउलाई हुर्कन मद्दत पुग्नेछ ।

यसपटकको वर्षात्ले अन्नबाली उत्पादनमा थोरै भए पनि सहयोग पुग्ने र असोजमा भित्र्याउने गरी लगाइएको बर्खे बाली पाकुन्जेलसम्म पटक पटक वर्षात् भयो भने अन्नबाली उत्पादनमा वृद्धि हुने प्राविधिक सहायक बुढाको भनाइ छ ।

यतिखेरको वर्षात्ले गाउँघरमा फैलिएको धुलो धुवाँ नष्ट गराउनुका साथै वस्तुभाउका लागि डाँडापाखामा घाँसपातसमेत उम्रने सम्बद्ध कृषकले बताए । रासस