२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कतारबाट फर्किएर कफी व्यवसाय

२०७९, १८ फाल्गुन बिहीबार ०७:३७

फागुन १८, काठमाडौँ | मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतदेखि पोखरा पुग्नु अगावै लुम्ले गाउँ आउँछ । मुटु काम्ने गरी चिसो हावा चल्ने भएरै होला, यस ठाउँलाई लिएर गायक तिलक बम मल्लले ‘मुटु छुने लुम्लेको हावाले’ बोलको गीत नै गाउनुभएको थियो । लुम्ले गाउँ गीतमा मात्रै सीमित छैन । कृषि, कृषि पर्यटन र कृषि अध्ययन गर्न चाहनेका लागि पनि लुम्ले गाउँ परिचित छ । 

यही गाउँका २७ वर्षीय युवा नवीन देवकोटाले सडक छेउमा ‘लुम्ले कफी स्टेट’ नाम दिएर ग्राहकलाई आफैँले उत्पादन गरेको जैविक कफीबाट बनेका पेयपदार्थ पिलाउँदै आउनुभएको छ । उहाँले चार वर्षअघि सडक छेउको आफ्नै जग्गामा सानो कन्टेनरमा क्याफे सञ्चालन गर्नुभएको हो । राजमार्ग हुँदै गन्तव्यतर्फ दौडिरहेका यात्रु केही छिन आफ्नो क्याफेमा कफी पिउनलाई रोकिने गरेको देवकोटाले बताउनुभयो । 


“सडक छेउमा त्यो पनि एकान्त वातावरणमा भएर पनि हुन सक्छ मुस्ताङ, पर्वत, बागलुङ हिँडेका नेपाली र विदेश पर्यटक रोकिने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “विदेशी ग्राहकलाई मैले आफैँ उत्पादन गरेको जैविक कफी हो भनेपछि उनीहरू जिज्ञासु र उत्साहित हुन्छन्, कति त कफी खेती देखाउन लैजा भनेर बोटसम्म नै पुग्ने गर्छन् ।” 

होटेल म्यानेजमेन्ट विषय पढ्दै गर्दा पैसा कमाउने हुटहुटीले पढाइ छाडेर कतारको यात्रामा लाग्नुभएका देवकोटा दुई वर्षको बिचमै स्वदेश फर्कनुभयो । आफ्नै बाँझो जग्गा जमिनमा सहजै फलाउन सकिने कफी कतारका ठूला क्याफेमा महँगो मूल्य खर्चेर कफी पिउने पारखीको भीड देखेपछि देवकोटालाई स्वदेश फर्कन प्रेरित गरेको थियो । 

“म पोखराको बरिस्टामा कफी बनाउने तालिम लिएर कतार गएको थिएँ, अन्तर्राष्ट्रियस्तरमै कफी कल्चरलाई नजिकबाट नियाल्ने र काम गर्ने अवसर पाएँ”, उहाँले भन्नुभयो, “कतार जानुअघि नै लुम्लेमा कफी उत्पादन गर्न सकिन्छ भन्ने थाहा भएको कुराले हरेक दिन दिमागमा हान्न थाल्यो, भिसा बाँकी रहँदै देश फर्केर आफ्नो र भाडामा लिएको १५ रोपनी जमिनमा कफी खेतीको सुरुवात गरेँ ।” 

सामान्य परिवारमा हुर्केका देवकोटाका बुबा अहिले पनि विदेशी मुलुकमा श्रम गर्दै आउनुभएको छ । छिट्टै बुबालाई पनि स्वदेश फर्काउने उहाँको चाहना छ । आमाले छोराको कफी यात्रालाई पूर्ण रूपमा सघाउँदै आउनुभएको छ । “नर्सरीमा उत्पादन भएका बिरुवादेखि प्रशोधनसम्मको काममा आमाले सघाउनुहुन्छ”, देवकोटाले भन्नुभयो, “मैले क्याफे सञ्चालनदेखि कफीको बोट र धुलो पनि प्याकेजिङ गरेर बेच्ने भएकाले त्यसको बजारीकरण र ब्राण्डिङमा काम गर्छु ।” 

देवकोटालाई आफूले उत्पादन गरेको कफी बजारमा राम्रो मूल्यमा बिकोस् भन्ने चाहना थियो । उहाँ धेरै ठाउँमा कफी बेच्न पुग्नुभयो । उहाँले दुःखअनुसारको मूल्य कहीबाट नपाएपछि आफ्नो जग्गामा उत्पादित कफी प्रशोधन गर्ने र क्याफेसमेत सञ्चालन गर्ने निर्णय गर्नुभयो । पहिले गुड्ने क्याफे सञ्चालन गर्ने सोच बनाउनुभएका उहाँले भनेजस्तो सस्तो मूल्यको सवारीसाधन फेला नपरेपछि सजिलै उचालेर सार्न सकिने कन्टेनरमा क्याफे स्थापना गर्नुभएको हो । 

“नेपालमा कफी संस्कृति बढिरहेको अवस्थामा स्थानीय कफीले सही मूल्य नपाउँदा कृषकले कफी खेतीमा चासो नदिएको देखिन्छ”, उहाँले भन्नुभयो, “नजिकै गाउँहरूमा कृषकले लगाएको कफीसमेत खरिद गर्दै आएको छु, उहाँहरू मैले दिने मूल्यमा खुसी हुनुहुन्छ, कृषकलाई बचाउन सकेमा मात्रै सहरका क्याफेमा गाउँको जैविक कफी पिउन पाइन्छ भन्ने हो ।” 

देवकोटाको क्याफेमा स्थानीय कफीबाट बन्ने पेयपदार्थको स्वाद लिने मुख्य ग्राहक भनेका राजमार्गमा गुड्ने यात्रु नै हुन् । विदेश त्यागेर आएका देवकोटालाई गाउँमा बसेर कफी बेच्नुभन्दा पोखरामा गएर राम्रै क्याफे सञ्चालन गर्न सल्लाह दिने प्रशस्तै भेटिन्छन् । उहाँलाई अहिलेसम्म गाउँ छाडेर कतै जाने रहर आएको छैन । 

आफ्नै घरमा बसेर कफीका बिरुवा हुर्काउन पाउँदाको आनन्द आफूले अन्त कतै नपाउने देवकोटा बताउनुहुन्छ । “हाम्रो कफी बजारभन्दा फरक भएरै होला दिनप्रति दिन ग्राहकको सङ्ख्या बढ्ने गरेको छ”, उहाँले भन्नुभयो, “कफी पारखीहरूले कफीको कपमा स्वाद मात्र भेट्दैनन् त्यहाँ खुसी र माया पनि भेट्ने गर्छन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित