नन्द बहादुर ऐडी । बा, तपाईले मलाई काठमाडौं पठाएको आज ११ वर्ष भएछ । तपाईले मलाई वि.स. २०६२ सालमा पढ्नको लागि काठमाडौं पठाउँनु भो । त्यत्तिबेला हाम्रो गाउँघरमा माओवादीले जनयुद्ध चलाएको थियो । जनयुद्ध अर्थात अर्को भाषामा शसत्र विद्रोह उत्सर्गमा पुग्या थियो ।
छोरा पढेर राम्रो जागिर खाउँला भनी तपाईले मलाई काठमाडौं पठाउँनु भो । म राजधानी शहरमा तपाईले भने जस्तो गरी त पढे तर तपाईले चाहेको विषय पढिन् । बा, तपाईको चाहना छोराले ऐच्छिक गणित अथवा ऐच्छिक अंग्रेजी विषय पढेर शिक्षक बनोस्, अनि गाउँमै आएर जागीर खाओस् भन्ने थियो तर मैले पत्रकारीता अध्ययन गरे र पेशा पनि पत्रकारीता नै अंगाले ।
म आज काठमाडौंको एउटा कुनामा बसेर पत्रिका सञ्चालन गर्दै आएको छु । पत्रकार आफैं पत्रिकाको मालिक पनि आफै । मैले एउटा सानो क्षेत्र समेटेर राजधानी भित्र मोफसलको पत्रकारीता गर्दैछु । हुन त मोफसलको पत्रकारीता भनेको राजधानी बाहिरबाट गरिने पत्रकारीता हो तर म बसेको क्षेत्र राजधानी भएर पनि विकासको पहुँचमा पुग्न सकेको छैन् । यसैले आजकल कसैले सोध्यो भने म राजधानी भित्रकै मोफसलको पत्रकारीता गर्छु भन्दै आएको छु ।
बा, म बसोबास गर्दै आएको क्षेत्र हो काठमाडौंको उत्तरी भेगमा अवस्थित तारकेश्वर नगरपािलका । तारकेश्वर नगरपालिकाको अधिकाश भूभागमा सडक सुविधा व्यवस्थापन हुन सकेको छैन् । २ हप्ता अगाडी तारकेश्वर नगरपालिका वडा नं ६ अन्र्तगतको देवीस्थान भन्ने ठाउँ (जुन शिवपुरी राष्ट्रिय निकुञ्जको फेदैमा पर्दछ) मा पुगेको थिए । तारकेश्वरको देवीस्थान प्राकृतिक रुपले अत्यन्तै सुन्दर छ तर पूर्वाधार विकासका दृष्ट्रिले पिछडिएको छ ।
काठमाडौं भित्रकै हुमला भनदा फरक नपर्ने । सो स्थानमा पुगेर एउटा मोबाईलबाट सेल्फी लिईयो र सामाजिक सञ्चालमा अफलोड गरौ भन्दा नेपाल टेलीकमको टावर नै गायव भएछ । देशका दूरदराज एवं विकट मानिने हुम्लाका गाउँबस्तीमै नेपाल टेलीकमको थ्री जी सहितको मोबाईल सेवा विस्तार भईसकेको छ ।
थ्री जी सहितको मोबाईल सेवा विस्तारले गर्दा एनोराई मोबाईल बोकेका स्कुले भाईबहिनी देखि हरेकले फेसबुकमा फोटो अपलोड र मनमा लागेका कुराहरु शेयर गर्दै आएका छन् । तर देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाट जम्मा १४ किलो मिटरको दुरीमा रहेको तारकेश्वर नगरपालिकाको देवीस्थान र साङला क्षेत्रमा भरपर्दो सञ्चार सुविधा समेत छैन् । बा, यसैले मलाई महशुस हुन्छ “म शहरभित्रकै ग्रामीण भेगमा बसेको रहेछु” ।
हो बा, म आज तपाईलाई म बसोबास गर्दै आएको राजधानीको बारेमा सकेजत्ति जानकारी दिन चाहान्छु । आफनो भोगाई बताउँन चाहान्छु । मैले ११ वर्ष सम्म गरेको दुख सुख साट्न चाहान्छु । मैले सोचेको शहर र मैले भोगेको शहरको बारेमा बताउँन चाहान्छु । भारी मनलाई हल्का बनाउँन चाहान्छु ।
बा, नेपाल सरकारले वि.स. २०७१ मंसिर १६ गते देशमा थप नयाँ ७२ वटा नगरपालिका घोषणा ग¥र्यो । जसमा उपत्यकाको तीन वटै जिल्लालाई गा.वि.स विहिन बनाई नगरपालिकामा रुपान्तरण गरेको हो । यसै अन्र्तगत साविकका सात वटा गाउँ विकास समिती (साङला,, फुटुङ, मनमैजु, कार्भेस्थली, धर्मस्थली, गोलढुङगा र जीतपुरफेदी) समायोजन गरी तारकेश्वर नगरपालिका निर्माण भएको हो । २०६८ को राष्ट्रिय जनगणना अनुसार ८१४४३ कुल जनसंख्या रहेको छ ।
बा, तपाईले छोरो पत्रकार भएर बिग्रियो र दुख पाउँछ भन्ने सोच्नु भयो होला । पत्रकारको कमाई थोरै, रिक्स बढी तपाईले बुझि सक्नुभएको छ । तपाई सोच्नु स्वभाविक नै हो । बा, सानो छदाँ तपाई भन्नुहुन्थ्यो आत्मासन्तुष्टि नै सर्बश्रेष्ठ हो । आत्मा सन्तुष्टिले आत्मा निर्भर बनाउँछ । गलत बाटोबाट रोक्छ । यसैले त कमाई थोरै भए पनि मैले पत्रकारीता पेशा अंगालेको हुँ । बा, पत्रकारीता समाजको पहेदार हो । राज्य र जनताबीचको पुल हो । सकरात्मक विकासको सम्वाहक हो ।
यसैले राजधानीमा आफू बसेकै क्षेत्र तारकेश्वर नगरपालिका स्थापनाको ८ महिना पछि तारकेश्वर विकासका लागि पत्रकारीता नै हाम्रो प्रतिवद्धता भन्ने ध्ययका साथ तारकेश्वर आवाज मासिक पत्रिका सञ्चालनमा ल्याईयो । विगत १५ महिनायता निरन्तर रुपमा प्रकाशन हुदैँ आएको तारकेश्वर आवाजको लागि फिल्ड रिपोटिङका क्रममा नगरपालिका क्षेत्रका कुना कन्दरामा पुगियो । कुनै ठाउँमा गुडेर त कुनै ठाउँमा पैदल हिडेर पनि पुगियो । रिपोटिङका क्रममा देखिएका समस्यालाई मैले उजागार गर्न खोजेको छु ।
बा, तारकेश्वर नगरपालिकाको कार्भेस्थली, साङला, जीतपुरफेदी क्षेत्रका अधिकाश भूभाग विकट बस्ती नै छन् । सो क्षेत्रको भौगोलिक बनावट प्राकृतिक सुनदरता र वस्तीलाई नजर अन्दाज गर्दा म जन्मेको विकट बस्ती झै लाग्छ । यीनै विकट वस्ती भित्र आफनै कथा छ र कथा भित्र पनि व्यथा लुकेको छ । ती क्षेत्रमा सडकको नाममा ट्रयाक मात्र खोलिएको छ । वर्षातको समयमा मोटरसाईकलमा यात्रा गर्न समेत कठिनाई छ ।
तारकेश्वर नगरपालिकाको चो गाउँ देवीस्थान, कुञ्चिप्वालकल, ढकालचौर लगायतका स्थानमा तामाङ बस्ती छ । सो तामाङ बस्तीमा पुग्दा आफनै गृह जिल्ला हुम्लाको लामा बस्तीमा पुगेको महशुस हुन्छ । बा, हाम्रो विकट गाउँमा थीजी सहितको मोवाईल सेवा त विस्तार भईसकेको छ तर तारकेश्वर नगरपालिकाको तीनै तामाङबस्तीहरुमा नेपाल टेलीकमको मोबाईल सेवाले काम गर्दैन् । साविकको गाउँ विकास समितिबाट नगरपालिकामा रुपान्तरण भएको दुई वर्ष पूरा भईसकेको अवस्थामा पनि भौतिक पूर्वाधार विकासले गति लिन सकेको छैन् । नगरपालिका भएपछि यस क्षेत्रको जग्गाको मूल्याङकनको स्तर उन्नती भएको छ । हरियाली डाडाहरु धमाधम प्लानिङ हुर्दैछन् ।
यो कार्यले तत्कालीन रुपमा केहि फाईदा भएता पनि दीर्घकालीन रुपमा नकरात्मक असर पर्ने निश्चित छ । कृषि योग्य भूमीमा घर धमाधम निमार्ण भई अव्यवस्थित बस्ती विस्तार हुदैँछ । न त सडकको न्यूनतम मापदण्ड लागू भएको छ न स्तर उन्नती नै भएको छ । ट्रयाक मात्र खोलिएको सडकमा धुलो उडाउँदै सवारी साधन गुडिरहेका छन् । बा, नेपालको राजधानी मानिने काठमाडौंको यो विजोग अवस्थाले दिनानू दिन विभिन्न संक्रमणकालीन रोगहरु सिर्जित भईरहेका छन् । यसैले बा, यी समग्र कुरालाई नजर अन्दाज गर्दा शहर भित्रकै ग्रामीण भेगमा बसेको छु कि भन्ने अनुभूति हुन थालेको छ ।
बा, तपाईले मन नपराएको पेशा मैले गृह जिल्ला हुम्लामा पनि गरेकै हो । म राजधानी शहरमा बसेको ११ वर्ष पूरा भयो । राजधानी शहर लगायत अन्य जिल्लाका माण्ठले हाम्रो गृह जिल्ला हुम्लालाई विकट र दुर्गम भन्छन् । हो हुम्ला राजधानीबाट टाढा छ, दुर्गम भन्नु, दुर्गमको अर्थ नै टाढा हो । राजधानीले हुम्लालाई दुर्गम भन्ने हो भने हुम्लाले पनि राजधानीलाई दुर्गम भन्न पाउँनुपर्छ हैन र बा ? । विकटको अर्थ विकास नहुनु हो । यहिनेर दुविधा उत्पन्न हुन्छ । विकासको शाव्दिक अर्थ के हो । के सडक सुविधा विस्तार भई पिलरवाला घर निर्माण गर्नु नै विकास हो त बा ? के भौतिक पुर्वाधारको निर्माण गर्नु मात्र विकास हो त बा ? मैले बुझेको विकास त सहअस्तित्वको भावना सहितको सभ्य समाज, जुन आफनै उत्पादन र स्वाभिमानमा जिविकोनिर्वाह गर्दै आएको छ । जहाँ भाईचाराको सम्बन्ध छ । जुन ठाउँमा अैचौपैचो चल्दै आएको छ । जहाँ खल्तीमा सुको नभए पनि एक छाक भोको मरिदैन् । त्यो नै विकास हो ।
बा, यो शहर भन्ने ठाउँमा न सहअस्तित्वको भावना छ, न भाईचाराको सम्बन्ध छ न त सभ्यता नै । करोडको घरमा बस्छ । शानसँग घरमा कुकुर समेत पाल्छ तर त्यो कुकुरलाई बाटोमा दिशा गराउँछ । सुत्ने कोठा सम्म लिन सक्ने कुकुरलाई टवाईलेटमा दिशा किन गराउँदैन् । यो बुझि नसक्नुको कथा छ बा । जब सम्म सकरात्मक मानसिक विकास हुदैन् तब सम्म सामाजिक विकास हुन् सक्दैन् । सामाजिक विकास नहुदाँ सम्म सम्पन्न भएका भौतिक विकासको संरक्षण हुदैन् । भौतिक पूर्वाधार विकासको संरक्षण र अनुगमन स्थानीय स्तरबाट नहुदाँ सम्म दीगो एवं टिकाउ विकास हुदैँन् । विकासमा अपनत्व हुनुपर्छ । सामाजिक कार्यमा अपनत्वको भावना नहुँदा सम्म दीर्घकालीन हुन् सक्दैन् ।
बा, तपाई हामीले हाम्रो गाउँलाई ४ वर्ष अगाडी नै खुला दिशा मुक्त गराई सकेका थियौ तर राजधानी काठमाडौंको ११ वटा नगरपालिकामा भर्खरै खुला दिशामूक्त भएका छन् । हामीले यहि सानो कुरा बाट पनि प्रष्ट्र हुन्छौ, राजधानी भन्दा त सामाजिक विकासमा विकट हुम्ला नै अगाडी रहेछ । बा, विकट हुम्ला र राजधानी काठमाडौंलाई विकासमा तुलना गर्न मिल्दैन् तर राजधानी काठमाडौंमा जति हुनपर्ने हो त्यो विकास हुन सकेको छैन् ।
बा, काठमाडौं महानगरपालिका अर्थात चक्रपथ भन्दा भित्रका क्षेत्रमा गल्ली गल्ली सवारी साधन हिड्ने बाटो छ तर व्यवस्थित छैन् । म बसेको क्षेत्र त उत्तरी भेग जुन नुवाकोट जिल्लाको सिमाना सम्म फैलिएको छ । कहिलेकाही राज्यले उत्तरी भेगलाई वेवास्ता ग¥र्यो कि भन्ने अनुभूती हुन्छ । गृह जिल्ला हुम्ला पश्चिमको पनि उत्तरी क्षेत्र जुन तीव्वतसँग जोडिएको छ । हाल सम्म पनि सडक सुविधा पुग्न सकेको छैन् ।
हाल बसोबास गरेको राजधानीको उत्तरीभेग तारकेश्वर नगरपालिका । यो स्थानको सडक सुविधा पहुँच र भौगोलिक बनावट हेर्दा राजधानी भित्रकै विकट क्षेत्र भन्दा अतियुक्ति नहोला । बा, यसैले त भन्छु म “शहर भित्रकै ग्रामीण भेगमा बस्या छु ” !