हेऽऽ खोलीको ढुङ्गो टपक्कै टिपी
चौतारी चिनौँला नि बरिलै, चौतारी चिनौँला ।
गएको जोबान फर्कि आउने भए
पैसाले किनौला नि बरिलै, पैसाले किनौला ।।
हेऽऽ खोलीको ढुङ्गो टपक्कै टिपी
चौतारी चिनौँला नि बरिलै, चौतारी चिनौँला ।
गएको जोबान फर्कि आउने भए
पैसाले किनौला नि बरिलै, पैसाले किनौला ।।
हेऽऽ खोलीको ढुङ्गो टपक्कै टिपी
चौतारी चिनौँला नि बरिलै, चौतारी चिनौँला ।
गएको जोबान फर्कि आउने भए
पैसाले किनौला नि बरिलै, पैसाले किनौला ।।
अब यस प्रकारका शब्द अनि भाखा कहाँ सुन्न पाइएला र ? अबका पुस्ताहरुका लागि यी शब्दहरु अनि यसमा बुनिएका लयहरु विराना हुँदै गएका छन् । आम हिन्दु नारीहरुका जीवन र जगतका विषयहरु समेटिएर गाइने गरिएका तीजका भाखाहरुलाई केही वर्ष यता व्यापारीकरण गरिँदै आइएको छ । यसका पछाडि कलाकारहरुको बाद्यात्मक अवस्था होला । त्यो भन्दा पनि ठूलो कुरा के भने तीज हिन्दु नारीहरुमा प्रचलित एक मात्र यस्तो पर्व हो जुन पर्वका माध्यमबाट आम नेपाली आमा, दिदीबहिनीहरुले वर्षभरीका आफ्ना वेदनाहरु पोखी मन हलुको बनाउने गर्दछन् । गाउँको कुनै सार्वजनिक स्थलहरु वा हाट बजार लाग्ने स्थानहरुमा जम्मा भएर टाढा टाढाबाट आएका दिदीबहिनीहरुका बीचमा सामिप्यता गाँस्दै आफ्ना हालखबरहरु साटासाट गर्दै मौलिक भाखाहरुमा पीडाका शब्दहरु बुन्दै गाउने गरिन्थो । अब यो कथाजस्तो लाग्न थालिसकेको अवस्था छ । रेकर्डेट गीतका ताल र लयहरुमा नाच्ने बढ्लो प्रचलनले तीजका मौलिक परम्परालाई ओझेलमा पारेको छ ।
उसो त तीजमा गाइने गीतका शैलीहरुमा मात्रै हैन तीजको अघिल्लो दिनमा भोलीपल्टको ब्रतलाई आड हुने गरी खाइने दरमा पनि विकृती आएको छ । तीज शुरु हुनु भन्दा एक महिना अघिदेखि नै दर खानका लागि योजनाहरु बन्ने गर्दछन् । अनि आजभोलीका दर कहाँ पहिलाका जस्ता हुनु नि ! दरमा पनि आधुनिकता मिसिएको छ । तीजमा खाइने दरले पनि पश्चिमा परिकारहरुलाई निमन्त्रणा दिएको छ । हाम्रा आमादिदीबहिनीहरुले पनि यसको सिको गरेको देख्दा कताकता हामीले आफ्नै संस्कार र संस्कृतिमाथी नै लात प्रहार गरिरहेका छौँ जस्तो लाग्न थालको छ । एकातिर खाने कुरामा विकृति अनि अर्को कुरा यो मौसममा यसरी खाँदा आफ्नो स्वास्थ्यको अवस्था के हुने भन्ने कुरा राम्ररी बुझ्नु जरुरी छ । खाने परिकारहरु पनि अहिले त पूर्ण रुपमा मांसाहारी भएका छन् । चाड पर्व अनि अन्य उत्सवहरुमा खाने कुराहरु आफ्नो क्षमता अनुसार खानु पर्दछ । अनावश्यक तडकभडक र खोक्रो आदर्श देखाउनका लागि हामीले यसो ग¥यौँ भने अबका पुस्ताले हामीबाट सिक्ने के ? खै त पर्वको मर्म ? अनि सौहार्दता ? चाडबाडहरुले त खाने लाउने भन्दा पनि हामीलाई संस्कारित बनाउने हो । हामीलाई अनुशासन र मर्यादा सिकाउने हो, आउने पुस्तालाई असल संस्कार र शिक्षा हस्तान्तरण गर्ने हो तर अब यसो हुन सकेन । उल्टै हामी चाडबाटका नाममा आफ्नै खिल्ली उडाइरहेका छौँ अनि बिर्सिरहेका छौँ आप्mनै मौलिक परम्परा अनि रितीरिवाज र चालचलनहरु ।
पछिल्लो समयमा तीजका दिन आम नेपाली आमादिदीबहिनीहरु स्वच्छन्द रुपले गीत गाउने नाच्ने गर्न पाउँदैनन् । आजभोली तीजको दिनमा तीजको गीत तथा नाचहरुका प्रतियोगिताहरु गरिने गरिएको छ । कतिपय अवस्थामा समाजका विभिन्न विकृति विसङ्गतिहरुका विरुद्धमा जनचेतनामूलक विषयबस्तुहरुमा केन्द्रित रहेर विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुबाट यस प्रकारका कार्यक्रमहरुको आयोजना गरिनु अत्यन्तै सकारात्मक कार्य हो । जस्तो कि सरसफाई सम्बन्धी, वनको महत्व र संरक्षण सम्बन्धी, दाइजोप्रथा सम्बन्धी, महिला हिंसा तथा चेलीबेटी बेचविखन सम्बन्धी आदि विषयहरुमा प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिनु अत्यन्तै सकारात्मक कदम हो । कतै कतै यस प्रकारका अभ्यासहरु गरिएका छन् जुन सफल रहेका छन् । तर यस प्रकारका कार्यक्रमहरुका लागि तीजकै दिन कुरेर बस्नपर्छ भन्ने लाग्दैन । किनकी यस प्रकारका विषयहरुमा प्रतियोगिताको आयोजना जुनसुकै समयमा पनि गर्न सकिने हुन्छ । तीजको दिनमा हाम्रा दिदीबहिनीहरुलाई स्वच्छन्द भएर आफ्ना दुःख, वेदना पोख्न दिनु पर्दछ । प्रतियोगिता र मेलाका नाममा चेलीहरुको सांस्कृतिक अधिकार खोसिएको हो कि जस्तो लाग्छ मलाई त ! तथापि कतिपय स्थानहरुमा अझै पनि मौलिक प्रचलनहरु कायमै रहेका छन् ।
अर्को कुरा के हो भने तीजका गीतहरु भनेका अलग विशेषता र मौलिकता बोकेका नेपाली सांस्कृतिक धरोहरहरु हुन् । यस प्रकारका मौलिक सांस्कृतिक पहिचानहरुको कुनै पनि मूल्याङ्कन हुनै सक्दैन । कहिँ कतै यस प्रकारका कार्यक्रमहरु गरिन्छन् र कतिपय अवस्थामा मूल्याङ्कनका लागि पुरुषहरुलाई राखिन्छ । तर, महिलाको विशेष कार्यक्रम भएकाले मूल्याङ्कनका लागि पुरुषलाई भन्दा पनि महिलालाई नै प्राथमिकता दिनु अत्यन्तै सान्दर्भिक हुन्छ । पहिले पहिले त कुनै पनि घटनाहरु, सामाजिक विकृतिका विरुद्धमा तीजका भाखाहरुमा नै आवाज वुलन्द हुन्थे । आँगनीमा चारैतिर गोलो भएर बसेर मादलका तालमा छम् छम् दिदीबहिनीहरु नाच्दै गाउँदै गरेको हेर्न कम ता रमाईलो हुन्थेन ! यस प्रकारका कार्यक्रमहरु गाउँभरी प्रत्येक घरमा आलोपालो गरेर गरिन्थ्यो । एकदिन एउटा घरमा अर्को दिनमा अर्को घरमा । पहिले त जन्माष्टमीको दिनदेखि मात्रै तीजको रौनक शुरु हुन्थ्यो । तर आजभोली असार नसकिँदै तीजका विकृत भाखाहरुमा बुनिएका दोहोरी हुन् कि तेहेरी बज्न थाल्छन् सञ्चारमाध्यमहरुमा । आजभोली त अझ प्रविधीको विकासका कारण धेरै सजिलो पनि भएको छ । यूट्युव, अनि विभिन्न सामाजिक सञ्जालहरुमा अपलोड गरिएका गीतहरुबाट नै तीजको एक महिना अघिदेखि नै तीजमय बन्न थाल्छ परिवेश । यति मात्रै हैन तीजका गीतमा छायाङ्कन गरिएका सामग्रीहरु नै सपरिवार बसेर हेर्न मिल्ले खालका नै हुँदैनन् । त्यस्ता गीतका भिजुअलहरुबाट अबका सन्ततीहरुले के सिक्ने खै ? मौलिकता हराउँदै गएको छ आफ्नोपनमा रमाइरहेका चेलीहरुमा नै विकृत सोच आइसकेको अवस्था छ । मौलिक परम्परमामा विकृति मिसाएर व्यवसाय गर्नुहरुप्रति हामी आँफै सचेत भएनौ भने तीजको मौलिक संस्कार नै लोप भएर हामी भने पश्चिमा संस्कार र संस्कृतिमा रमाउने अवस्था नआउला भन्न सकिँदैन ।
डाँडै लायो नि यो बरपिपलु
हे गोपी गोपी छाँया बरिलै ।
बाबाआमालाई नि माइतै छाडि आएँ
हे बाटै लायो माया बरिलै ।।
……..संकलन: एकराज पौडेल, बर्दिया
यस प्रकारका गीतहरुले आफ्नो घरपरिवारप्रतिको मायाममता अनि जन्म दिने बाबाआमप्रतिको सद्भाव स्नेहहरुलाई प्रतिविम्बित गर्दथे । तर विडम्बना अब यस प्रकारका गीतहरु हराउँदै छन् । केही पुराना श्रष्टाहरु र उहाँहरुलाई पछयइरहनु भएका केही कलाकारहरुले भने मौलिकतालाई ध्यान दिएर नै तीजका गीतहरुको श्रृजना गरिरहनु भएको छ । उहाँहरुको सिर्जनालाई राज्यले नै सम्मान गर्नु पर्दछ । किनकी यस प्रकारका गीतहरुका शालीन भिडियोहरु अहिलेको यूट्युव बजारमा त्यति बढी भ्यु पाइरहेका हुँदैनन् जसले गर्दा गीतमा गरिएको लगानी उठ्नै सक्दैन र असली र मौलिक सिर्जना गर्ने कलाकारहरु मारमा परिरहेको अवस्था रहेको छ ।
चाडबाड र परम्परा भनेका अबका पुस्ताहरुको लागि मार्गदर्शक बन्नु पर्दछ । केही न केही रुपमा यस प्रकारका चाडबाडहरुले आम समुदायलाई संस्कारित बनाउदै लैजानु पर्दछ । यसबाट पनि केही न केही रुपमा शिक्षा लिन सक्नु पर्दछ । सामाजिकीकरणको असली प्रकृयाहरु नै यस्तै प्रकारका चाडबाडहरुबाट नै प्रारम्भ हुने भएकोले चाडबाडहरु नै आँफै संस्कारित हुनु र बनाइनु पर्दछ । किनकी संस्कार र संस्कृति मानिसले समुदायमा बस्दा आप्mना तमाम आवश्यकताहरु पूरा गर्ने उद्देश्यका साथ बनाइएको हो । धर्म उत्पत्ति भएको हो भने संस्कार बनाइएको हो । संस्कार मानिसले आफू अनुकुल परिवर्तन तथा परिमार्जन अनि हस्तान्तरण गर्दै जान्छ । यसरी हस्तान्तरण गर्दै जाँदा विकृतिहरु भित्रिनु भने हुँदैन ।
यसै कुरालाई मध्यनजर गर्दै आउने पुस्ताहरुका लागि संस्कार र संस्कृतिहरु निर्माण तथा हस्तान्तरण गरिनु पर्दछ । जसबाट हाम्रा सन्तानहरु संस्कारित बन्दै जाउन् र मौलिक गीत संगीतहरुलाई माया गरुन् । भोलिका दिनमा हामीले गरेको अपेक्षाकृत व्यवहार उनीहरुबाट हामीले पाउन सकौँ ।
भोलिका देश हाँक्ने पुस्ता भनेका आजका कलिला बालबालिकाहरु नै हुन् । उनीहरुको कलिलो मनस्पटलमा पनि हाम्रा मौलिक रितीरिवाज र परम्पराका सकारात्मक विषयहरु प्रवेश हुन दिनु पर्दछ । घर तथा विद्यालय अनि उनीहरु संवद्ध स्थलहरुमा पनि बाल संस्कारको प्रश्रय दिनु आवश्यक रहेको छ । बालबालिकाहरुको कोमल मस्तिष्कमा नै विकृत संस्कारहरु हामीले प्रवेश गरायौँ भने यसको ठूलो क्षति हामीले नै भविष्यमा व्यहोर्नु पर्दछ । आजैदेखि हामीबाट नै यस कुराको शुरुवात भएन भने सांस्कृतिक रुपमा विकृत बालबालिकाहरुबाट समुन्नत समाज अनि समृद्ध मुलुकको कल्पना कसरी गर्न सक्दछौँ ?
तसर्थ, कलाकारहरुको दायित्व भनेको गीतसंगीतहरु सिर्जना मात्रै गर्नु होइन । यसको मौलिकता छ वा छैन ती सिर्जनाहरुले नेपाली सुवास बोल्छन् वा बोल्दैनन् भन्ने हो । यसतर्फ पनि आम कलाकार सचेत हुनु जरुरी छ । व्यवसायको नाममा मौलिकता हरायो भने यसको दोषी को हुने ? सिर्जना गर्ने सर्जकहरुले पनि यसतर्फ गम्भीर भएर एकपटक सोच्न र तदनुरुपका मौलिक सिर्जनाहरु बजारमा ल्याउनु आजको आवश्यकता हो ।