२८ चैत्र २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

उपचार नपाउँदा पोर्चुगलमा नेपाली युवतीको बिचल्ली

२४ माघ २०८०, बुधबार १०:२८

माघ २४, लिस्बन | पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन् । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन् ।


गत जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजो पिँगो दोस भन्ने स्थानमा साँझ ७ बजेतिर जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई तीव्रगतिमा आएको कारले एक्कासी ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात र देब्रे हिप भाँचिएको छ । उनको हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएको छ । कारको ठक्करबाट उछिट्टिएर सडकको छेउमा रगताम्मे अवस्थामा ढलेकी उनको अनुहारमा समेत चोट लागेको छ । हिप फ्याक्चर भई देब्रे खुट्टा नचल्ने भएपछि पीडित मोक्तान ओछ्यानमै थला परेको एक महिना हुन लागेको छ । सामान्य उपचारबाट समेत बञ्चित भएकी उनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।

दुर्घटनापश्चात् प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि उनलाई तत्काल मोन्तिजोस्थित बरेइरो अस्पताल पुर्याइएको थियो भने कार चालक फरार भएका थिए । उपचारका लागि अस्पताल पुर्याइए पनि अस्पतालले हातको मात्रै शल्यक्रिया गरी खुट्टाको उपचार नै नगरी घर पठाएको पीडित मोक्तानले दुःखेसो पोखिन् । खुट्टाको उपचारका लागि अस्पतालसँग धेरै अनुरोध गरे पनि उपचार नै नगरी घरमै आराम गर्नु भनी अस्पतालले जबर्जस्ती डिस्चार्ज गरेको उनले बताइन् ।

रोजगारदाता मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीले समेत उपचारमा बेवास्ता गरेपछि विक्षिप्त बनेकी मोक्तानले उपचारका लागि सहयोगको याचनासमेत गरेकी छन् ।

“उपचारै नपाउँदा म त मुढाजस्तै ढलिरहेको छु । न त उठ्न, चल्न सक्छु, न त दिसापिसाब नै गर्न सक्छु । विदेशी भूमिमा मेरो रेखदेख र स्याहारसुसार गरिदिने पनि कोही छैन । उपचार नपाउँदा जीवनभर कुँजिएरै बस्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ”, पीडा सुनाउँदै मोक्तानले भनिन् । दुर्घटनामा परी बाँचेपनि उपचार पाउन नसक्दा घरपरिवारसमेत चिन्तित बनेका छन् । दुर्घटनाका कारण विक्षिप्त बनेकी उनी आफ्नो औषधोपचारका लागि सबैसँग हारगुहार गरिरहेकी छन् । मोक्तान मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीमा कृषि मजदुरका रुपमा कार्यरत थिइन् ।

भाँचिएको खुट्टाको उपचार नै नगरी जबर्जस्ती डिस्चार्ज गरी घर पठाउँदा उनको अवस्था झन् नाजुक बन्दै गएको उनीसँगै बस्ने साथी प्रतिज्ञा बानियाँले बताइन् । “सुस्मिताको उठ्न, चल्न सक्ने अवस्था छैन । ओछ्यानमा थला परेकी छिन्, रेखदेख गर्ने कोही छैन । उनको त बिजोग नै भएको छ”, सहयोगको आशा राख्दै बानियाँले भनिन् ।

मोक्तानको दुर्घटनाको विषयमा लिस्बनस्थित महावाणिज्यदूतको कार्यालय र गैरआवासीय नेपाली सङ्घलाई जानकारी गराइएको छ । मोक्तानको उपचारका लागि विभिन्न माध्यममार्फत पहल भइरहेको त्यहाँ कार्यरत नेपाली पत्रकार प्रबल भट्टराईले बताए ।

पीडित मोक्तानको औषधोपचारसहित पाउन सक्ने सेवा सुविधाका लागि कानुन व्यवसायीको व्यवस्था गरी औषधोपचारसँगै आवश्यक कानुनी उपचारको समेत पहल भइरहेको मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले बताए । उनको उपचारका लागि यहाँ क्रियाशील नेपाली सङ्घसंस्थामार्फत आर्थिक सहयोग संकलन अभियानसमेत सञ्चालन गरिएको उनले सुनाए ।

अस्पतालले डिस्चार्ज गरेपछि उनी कम्पनीले कामदार राख्दै आएको एक आवासगृहमा साथीहरूसँग बस्दै आएकी छन् । नेपाल नगएको चार वर्ष भएको बताउने मोक्तानको आठ वर्षीय छोरा र श्रीमान् नेपालमा रहेको जनाइएको छ ।

मोक्तान दुर्घटनामा परी उपचारबाट समेत बञ्चित हुनुपरेको विषयमा सम्बन्धित निकायमा बुझ्ने काम भइरहेको र उनको उपचारका लागि आवश्यक पहल भइरहेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताए ।

पीडित मोक्तानलाई गत जनवरी ३० मा अस्पतालले डिस्चार्ज गरी घर पठाएको थियो । रोजगारीको सिलसिलामा चार वर्षअघि साइप्रस आएकी उनी दुई वर्षअघि पोर्चुगल आएको जनाइएको छ ।

साइप्रसमा रोजगारीका लागि आएका नेपालीको यकिन तथ्याङ्क नभए पनि करिब ७० हजारको हाराहारीमा नेपाली रोजगारीका लागि आएको महावाणिज्य दूतावासले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि पोर्चुगल आकर्षक गन्तव्यका रूपमा स्थापित हुन थालेको छ । यससँगै त्यहाँ नेपाली पीडित पनि हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायीहरुको अन्तिम चुनावी सभा सम्पन्न, कसको पल्ला भारी ? आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्,