नेपाली मूलकी परिजिताले जितिन् 'द भ्वाइस'को ब्याटल राउण्ड

Posted on: 19 Oct, 2022

कात्तिक २, काठमाडौं | नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’को ब्याटल राउण्ड जितेकी छन्। कोच जोन लिजेन्डको तर्फबाट प्रस्तुति दिएका द मेरिलाइन्ड अन द बी गीजलाई हराउँदै उनले ब्याटल राउण्ड जितेकी हुन्।


द मेरिलाइन्ड अन द बी गीजमा दुई युवतीले डुअल प्रस्तुति दिएका थिए। उनीहरू तीनै जनाले ‘हाउ डीप इज योर लभ’ बोलको गीत गाएका थिन्। जसमा परिजिताले उत्कृत्ट प्रस्तुति दिएकी छन्। कोच ब्लेक शेल्टनले कोच जोनलाई परिजिताको स्वर सशक्त रहेको बताउँदै उनलाई अगाडि बढाउन सुझाएका थिए।

क्यामिला काबेलोले दुवै टिमको प्रस्तुति सशक्त रहेको बताइन्। उनले परिजिताको सानो उमेरमै राम्रो स्वर रहेको भन्दै तारिफ गरिन्। ग्वेन स्टेफानीले डुअल र एकलको प्रस्तुति राम्रो रहेको बताइन्। उनले परिजिताको प्रस्तुति र व्यक्तित्व मन परेको भन्दै तारिफ गरिन्। त्यस्तै कोच जोनले परिजितालाई छनोट गर्दै भने, ‘परिजिताको आवाज राम्रो छ। उनको जादुमय प्रस्तुति छ। त्यसैले मैले परिजितालाई छनोट गरेँ।’

ब्याटल राउण्ड जितेसँगै उनी नकआउट राउण्डमा प्रवेश गरेकी छन्। परिजिता ब्लाइन्ड अडिसनदेखि नै चर्चामा छिन्। उनले ब्लाइन्ड अडिसन गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाउन सफल भएकी थिइन्। गायन रियालिटी शो ‘द भ्वाइस’ अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!