पढ्न करिब 3 मिनेट लाग्छ

मङ्सिर १८, म्याग्दी । म्याग्दी जिल्लामा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प रहेको अवस्थामा साना आयोजनाको निर्माणकार्य भने तीव्र रूपमा अगाडि बढेको छ ।

विद्युत् प्राधिकरणको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्, रोवर्ट इनर्जी प्रालिको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, पश्चिम म्याग्दीको दरवाङमा २५ मेघावाट क्षमताको कालिका हाइड्रो र अपर कालीगण्डकीलगायत ठूला मानिएका जलविद्युत्को निर्माणकार्य सुस्त गतिमा रहेको छ ।

तर उत्तरी म्याग्दीको नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको प्रस्तावित पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्यलाई एकदिन पनि अवरुद्ध नहुने गरी निरन्तरता दिइरहेको छ ।

“दुई सिफ्टमा काम भइरहेको छ, एक वर्षभित्र परीक्षण विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौ,ँ” आयोजनाका अध्यक्ष किशोर सुवेदीले भन्नुभयोे— जिल्लामा जलविद्युत्को प्रचुर सम्भावना रहे पनि निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सुस्त काम गरे नयाँ लगानीकर्तासमेत निरुत्साहित हुन सक्ने भएकाले पनि आफूहरू आयोजनाको निर्माण कार्यलाई तीव्र रूपमा अगाडि बढाएका छौं ।

ड्यामदेखि टनेलसम्मको इन्टेकतर्फ ३५६ र आउटलेटतर्फको ६४० मिटरभन्दा बढी सुरुङ खन्ने काम सकिएको छ, उहाँले भन्नुभयो — इन्टेक र पावर हाउसको निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको छ ।

बाँधस्थलमा भइरहेको कामलाई अनुगमन गर्न आयोजनाकै सञ्चालकहरू निर्माणस्थलमै बस्न थालेपछि अपेक्षा गरेअनुसार काम अगाडी बढिरहेको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताउनुभयो ।

“प्राविधिक समस्या तत्कालै समाधान गर्न आयोजनास्थलमै टोली खटिएको छ,” उहाँले भन्नुभयो— “भौगोलिक विकटता भए पनि काम गरेरै हामीले देखाइदिएका छौँ”।

उहाँका अनुसार इन्टेकको कुलो, फोरवेबाट पावर हाउससम्मको पाइप राख्ने काम अन्तिम चरणमा पुगेको छ । काम गर्ने मजदुरलाई प्रोत्साहन, मासिक कामको मूल्याङ्कन तथा समस्याका बारेमा जानकारी गराउने संयन्त्रसमेत बनाइएपछि कर्मचारीले मध्यरातमासमेत कामलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ ।

टनेल खन्ने क्रममा आवश्यक विस्फोटक पदार्थसहित नेपाली सेना श्रीबक्स गुल्मको टोलीसमेत आयोजनास्थलमै रहेको छ । करिब रु ७१ करोडको लागतमा निर्माण हुन लागेको आयोजनाको एक हजार ५५० मिटर सुरुङ र १५० मिटर हेड रहनेछ ।

आयोजना निर्माणका लागि रु ३० करोड संस्थापक सेयर र रु ४५ करोड बैंकबाट ऋण लिएको छ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकबाट रु २० करोड, टुरिजम डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट रु १०/१० करोड तथा सिद्धार्थ डेभलपमेन्ट बैंककै अवकाश कोषबाट रु पाँच करोड ऋण प्रवाह गरिएको छ । घलेम्दीखोलाको दोभानबाट १५ सय मिटर सुरुङ मार्गबाट पानी ल्याएर निलगिरि खोलाको किनारमा निर्माण हुने पावर हाउसमा जोडिने छ ।

विद्युत् प्राधिकरणले आयोजनाबाट वार्षिक साढे १३ करोड रुपैयाँ बराबरको विद्युत् खरिद बिक्री गर्ने लक्ष्य लिएको छ । जसमध्ये बर्खायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद बिक्री गर्ने सम्झौतामा भएको आयोजनाले जनाएको छ । रासस