2026-07-25 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँको आकासमा दैनिक रु २० हजारको मौसमी बेलुन उडाइँदै

भीष्मराज ओझा/सिबी अधिकारी | असार २६, काठमाडौँ | मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले दैनिक रु २० हजारको मौसमी बेलुन उडाउँदै आएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा यही असार ६ गतेदेखि बेलुन उडाउन शुरु गरिएको हो । 

प्रत्येक दिन कीर्तिपुरबाट बिहान ५:३० बजे बेलुन उडाउने गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिनुभयो । 

उडाइएको बेलुन ३१ दशमलव ६ किलोमिटरमाथिसम्म पुगी बिहान ९ बजेसम्ममा काठमाडौँ र नुवाकोटका सिमाना आसपासमा खस्ने गरेका छन् । हाइड्रोजन ग्यास भरिएका यस्ता बेलुन माथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ । 

बेलुनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्याङ्क पठाउने उहाँले बताउनुभयो । मौसमी बेलुन उड्दाको सरदर गति छ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड हुने गरेको छ । 

विभागका महानिर्देशक शर्माका अनुसार बेलुनले प्रत्येक सेकेण्डमा उच्च वायुमण्डलको तापक्रम, हावाको गति र दिशा, सापेक्षिक आद्रताको जानकारी दिन्छ । त्यसको आधारमा मौसम पूर्वानुमान गरिन्छ । 

उहाँले भन्नुभयो, “अहिले हामीले बेलुनमार्फत डाटा संकलन गरिरहेका छाँै, सफ्टवेरमा काम भइरहेको हुन्छ, यसलाई छिट्टै सञ्चालनमा लैजान्छौँ, यसबाट नेपालको मनसुन पूर्वानुमान गर्न सजिलो र भरपर्दो हुनेछ ।” 

अहिले अनुमानका भरमा भइरहेको मनसुन आगामी दिनमा बढी भरपर्दो हुने विभागको दाबी छ । हाल मौसम पूर्वानुमान महाशाखाले ग्लोवल मोडेलबाट नेपालको तीन दिनसम्मको मनसुन पूर्वानुमान गर्दै आएको छ । छिमेकी मुलुक भारतमा भने सातदेखि १० दिनसम्मको मौसम पूर्वानुमान गरिन्छ । 

“शुरुमा तीनदिनको मौसमलाई बढी भरपर्दो बनाउँछौँ, पछि थपेर सात दिनसम्मको मौसम पूर्वानुमान गर्ने योजना छ । मौसमी बेलुनले माथिल्लो वायुमण्डलसम्म पुगेर मौसमको विवरण दिने भएकाले पूर्वानुमान गर्न सहज हुनेछ”, महानिर्देशक शर्माले भन्नुभयो । 

अहिले उडेको बेलुन ३१ दशमलव ६ किलोमिटर उचाइमा पुगेर फुट्ने गरेको छ । बेलुन झर्दा त्यसमा झुण्ड्याइएको प्यारासुटको माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यसरी प्रयोग भइसकेका बेलुन कसैले फेला पार्नुभएमा विभागमा पु¥याइदिनुहुन वा सम्पर्क गर्नुहुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

यससम्बन्धी सूचना पनि उडाइएको उपकरणमा टाँस गरिएको विभागले जनाएको छ । माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि यस्तो बेलुन उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुने विश्वास विभागले लिएको छ ।यस्तो बेलुन भरपर्दो मौसमी सूचना प्राप्त गर्नका लागि सधैँ उडाइरहनुपर्ने विभागले जनाएको छ । 

मौसमी राडार जडान तीव्रगतिमा 

मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन विभागले मुलुकमै पहिलोपटक ‘मौसमी राडार’ जडान कार्यलाई तीव्रता दिएको छ । 

मौसमी पूर्वसूचनालाई प्रभावकारी बनाउन सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राख्न लागिएको महानिर्देशक शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार आगामी चार महिनाभित्र सुर्खेतमा राडार जडान भइसक्नेछ भने क्रमशः पाल्पा र उदयपुरमा पनि राडार जडान गरिनेछ । 

तीमध्ये सुर्खेतको राडारका लागि एशियाली विकास बैंकको जलवायु प्रकोप समुत्थानबाट आर्थिक सहयोग मिलेको छ भने बाँकी दुई स्थानको राडारका लागि नेपाल सरकारले खर्च गर्नेछ । राडार जडानसहित प्रतिराडार जम्मा खर्च करीब रु २० करोड लाग्नेछ । 

मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि समयमै सही सूचना सहजरुपमा प्राप्त हुनेछ । यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ । 

सीमित उपकरण भए पनि विभागले मौसम तथा प्राकृतिक प्रकोपका घटनाबारे पूर्व सूचना प्रदान गर्दै आएको छ । विभागले हाल काठमाडौँ उपत्यकासहित देशका १२० स्थानमा स्वचालित मौसमी उपकरणबाट मौसमी सूचना लिने गरेको छ ।

सो संख्यालाई विभिन्न स्थानमा बढाएर ३०० पुर्याइने र यसबाट तथ्य सङ्कलन र बढी सूचना प्राप्त गर्न सकिने विभागको योजना छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मौसमी सूचना संकलन गरी आफ्नो वेबसाइटमा राख्ने गरेको छ । नेपालमा तीन दिनसम्मको मात्र मौसम पूर्वानुमान हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक