९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाँकेमा ‘होमस्टे’ कार्यविधि नबन्दा समस्या

४ माघ २०७५, शुक्रबार ०९:५७

काशीराम शर्मा | माघ ४, बाँके | घरबास (होमस्टे) प्रति बाह्य र आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । होमस्टे सञ्चालकहरु पर्यटकलाई लोभ्याउन अझ बढी सेवासुविधा थप्ने धूनमा छन् । होमस्टेले पर्यटकलाई सांस्कृतिक कार्यक्रम, जंगल ट्रेक, इको ट्रेक, परम्परागत जीवनशैलीको स्वाद र सङ्ग्रहालय अवलोकनको मज्जा दिलाउँछन् । 

प्रदेश न ५ मा ३२ वटा होमस्टे रहेका छन् । त्यसमा १७ वटा निजी र १५ वटा सामुदायिक छन् । दश वटा दर्ता प्रक्रियामा छन् । तर, प्रदेश ५ को सरकारले अहिलेसम्म होमस्टे सञ्चालन कार्यविधि बनाउन नसक्दा दर्ता प्रक्रियामा रहेका होमस्टे अन्यौलमा रहेका छन् । दर्ता भएका होमस्टेको कसरी नवीकरण गर्ने भन्नेमा पनि अलमल छ । पर्यटन कार्यालयको खारेजीपछि दर्ता र नवीकरणको विषयमा होमस्टे सञ्चालकहरु अन्यौलमा परेका हुन् । 

होमस्टे एशोसिएशन नेपाल (होसान) का प्रदेश नं ५ का सचिव कृष्णलाल चौधरीले प्रदेश सरकारले होमस्टे कार्यविधि नबनाउँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो – “प्रदेश सरकारले होमस्टेलाई वर्गीकरण गरेर अघि बढ्न जरुरी छ तर, कार्यविधि नै नबन्दा अन्यौल देखिएको छ । हामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग कार्यविधि बनाउन आग्रह गरिरहेका छौं ।” 

होमस्टेलाई जीविकोपार्जनको रुपमा नभई आयआर्जनको माध्यमका रुपमा अघि सार्नुपर्ने बहस शुरु भएको छ । होमस्टे भन्ने बित्तिकै सबैको हेराइ एकै प्रकारको रहेकाले सेवा सुविधाका आधारमा वर्गीकरण गरेर अघि बढ्न जरुरी रहेको सचिव चौधरीको धारणा छ । “होमस्टेलाई क, ख, ग र घ वर्गमा वर्गीकरण गर्नुपर्ने कुरा उठेको छ,” उहाँले भन्नुभयो – “अब वर्गीकरण गरेर नै अघि बढ्नुपर्छ ।” 

सामुदायिक होमस्टे चलाउन कम्तीमा पाँच घर मिल्नुपर्छ । होसानका अनुसार प्रदेश नं ५ मा सञ्चालित होमस्टेले वार्षिक ५० हजार पर्यटकलाई सेवा दिइरहेका छन् । प्रदेश ५ का बाँके, बर्दिया, दाङ्ग, कपिलवस्तु, रुपन्देही, पाल्पा लगायतका जिल्लामा व्यवस्थित होमस्टेहरु सञ्चालनमा रहेका छन् । सरकारले पर्यटनका लागि गरेको एकसय गन्तव्य क्षेत्रको घोषणामा यो प्रदेशका केही होमस्टेहरु पनि समेटिएका छन् । 

स्थानीय तहले दर्ता, नवीकरण र अनुगमन गर्नुपर्ने भए पनि कार्यविधिले अन्यौलता थपेको होसानका केन्द्रीय सदस्य पूर्णचन्द्र उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो – “हामीले स्वरोजगार सिर्जना गरेका छौं तर, राज्यले कार्यविधि नै नबनाएर अन्यौलता थपेको छ ।” अहिले पनि दर्ता प्रक्रियामा रहेका र नवीकरण गर्नुपर्ने होमस्टेहरु कसरी सञ्चालन गर्ने भन्नेमा अन्यौल कायम रहेको उहाँ स्वीकार्नुहुन्छ । 

केन्द्रीय सदस्य उपाध्यायले भन्नुभयो – “स्थानीय संस्कृति र प्रकृतिको आनन्द लिन पर्यटकहरु होमस्टेमा आउने गर्छन् । यसलाई व्यवस्थित गर्न प्रदेश सरकारले तत्काल कार्यविधि बनाएर दर्ता र नवीकरणको बाटो खुला गर्नुपर्छ ।” सामुदायिक उद्योगको रुपमा विकास भएकाले होमस्टे सञ्चालनलाई राज्यले बढावा दिनुपर्ने उहाँको भनाइ छ । सरकारले होमस्टे कार्यविधि २०६७ सञ्चालनमा ल्याएपछि होमस्टे खोल्ने क्रम बढेको हो । 

सङ्घीयतासँगै होमस्टे सञ्चालनका लागि दर्ता, नवीकरण लगायतका अधिकारहरु प्रदेश सरकार मातहत आएका छन् तर, प्रदेश सरकारले अहिलेसम्म पनि कार्यविधि तयार गर्न नसक्दा होमस्टेको दर्ता, नवीकरण लगायत अन्य स्तरोन्नतिका कामहरु रोकिएको छ । सचिव चौधरीका अनुसार होटलको तुलनामा निकै सस्तो मूल्यमा होमस्टेले सेवा दिने गरेकाले पर्यटकहरु होमस्टेतर्फ आकर्षित हुने गरेका छन् । 

आधुनिक घरहरूका साथै नयाँ नयाँ पर्यटकीय गन्तव्य स्थलहरूमा समेत होमस्टे विस्तार गर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने डल्ला सामुदायिक होमस्टे बर्दियाका अध्यक्ष पर्शुराम चौधरीको विचार छ । उहाँले भन्नुभयो –“सरकारले नीति बनाउनुपर्छ । हामी त्यो नीतिभित्र चल्छौं भनेका छौं तर, सरकारले स्पष्ट नीति नबनाएर हामीलाई समस्या भइरहेको छ । हामीले यही माग प्रदेश सरकारसामु पनि राखेका छौं ।” 

ग्रामीण क्षेत्रको भ्रमण एवं पदयात्रामा निस्कने पर्यटकहरूलाई स्थानीयस्तरमै सञ्चालित होमस्टेले सेवा दिइरहेका छन् । चौधरीले आशावादी बन्दै भन्नुभयो – “सरकारले समयमा नीति नबनाउँदा त्यसको मारमा होमस्टे सञ्चालकहरु परिरहेका छन् । हामीले होमस्टेलाई व्यवस्थित गर्न प्रदेश सरकारसँग कार्यविधि बनाउन भनिरहेका छौं । सम्भवतः अब छिट्टै कार्यविधि बन्ला र हाम्रो समस्याको समाधान होला ।” 

स्वदेशी पर्यटकको चाप धेरै 

ग्रामीण भेगमा उत्पादित स्वस्थ उत्पादन र शान्त वातावरणका कारण आजभोलि विदेशी भन्दा स्वदेशी पर्यटकहरुको चाप धेरै छ । सस्तो र ताजा खाना खान पाउने भएपछि शहरका महङ्गा होटल छाडेर पर्यटकहरु गाउँका कुनाकन्दरामा रहेका होमस्टे पुग्छन् र आनन्द लिने गर्छन् । पछिल्लो समय नेपाली व्यापारीहरुसमेत होमस्टेमा आउने संस्कारको विकास भएको सत्खलुवा सामुदायिक होमस्टे खैरेनीका अध्यक्ष सुरेश आचार्यले बताउनुभयो । 

स्थानीय स्वास्थ्य केन्द्रबाट पानी तथा खानेकुराहरु स्वच्छ छन् भन्ने प्रमाणित भएपछि मात्रै सरकारले होमस्टे सञ्चालन गर्न अनुमति दिने गर्छ । एउटा घरमा कम्तीमा एकदेखि चार वटासम्म कोठा हुनुपर्ने मापदण्ड छ । 

“एकान्त र पारिवारिक वातावरण हुने भएपछि स्वदेशी पर्यटकहरु पनि धेरै आउनुहुन्छ,” अध्यक्ष आचार्यले भन्नुभयो – “पर्यटकहरु शहर भन्दा गाउँको वातावरण र खानपान मन पराउनुहुन्छ ।” होमस्टेमार्फत गाउँको विकास गर्न सकिने सम्भावना धेरै रहेकाले पनि सरकारले यसको प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँको भनाइ छ । “स्वच्छ, राम्रो र सस्तो खानपानले पर्यटकलाई लोभ्याउँछ,” उहाँले भन्नुभयो । 

नेपाल आउने विदेशी पर्यटकहरू शहरका ठूला र महङ्गा होटल भन्दा ग्रामीण क्षेत्रमा होमस्टेमा बस्न रूचाउँछन् । ग्रामीण पर्यटनको अवधारणाअन्तर्गत होमस्टेलाई लिइन्छ । शहरदेखि गाउँसम्म होमस्टे सञ्चालनको अवधारणालाई सरकारले अघि बढाएका कारण गाउँले परिवेश र आतिथ्यतामा रमाउन खोज्ने स्वदेशी र विदेश पर्यटकको सङ्ख्या बढ्ने निश्चित छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ?