२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाली सेनाले कालापानी जाने बाटोको ट्र्याक खोल्यो

२०७७, १० आश्विन शनिबार १५:०९

नरेन्द्रसिह कार्की| असोज १०,  दार्चुला | नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो । 

चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो । मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताउनुभयो । “भिर फुटाएर ट्र्याक खुलाइएको छ”, उहाँले भन्नुभयो, “सफाइ गर्ने काम एक दुई दिनभित्र सकिन्छ ।” 

यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ । व्यासको छांगरु र तिंकरका बासिन्दा कार्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन् । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ । चट्टानी भूगोलले केहि ढिलाइ भए पनि स्थानीयका लागि सहजरुपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको व्यास–२ का बासिन्दा हरकसिंह कार्कीले बताउनुभयो । घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्र्याक राम्रो खुलेको र त्यो बाहेकका अन्य चार पाँच ठाउँमा पुनः बाटो अवरुद्ध भएको उहाँले बताउनुभयो । 

घाँटीबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ । त्यो क्षेत्रमा पनि आवतजावत गर्न निकै सास्ती भएको व्यासको तिंकर पुगेर खलंगा फर्किनुभएका कार्कीले जानकारी दिनुभयो । तलतिरको बाटो नखुलाएसम्म अहिले नै व्यासी कुञ्चा सर्न सक्दैनन् । तम्बाकुमा व्यास गाउँपालिकाको बजेटमार्फत बाटो खुलाउने काम भए पनि कडा चट्टानी भाग भएका कारण खुल्ने सम्भावना छैन् । यो क्षेत्रमा अहिले पनि तारको सहारामा चट्टानी भूभागमार्फत नदी पार गर्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै तम्बाकु नजिकको नयाँ निर्माण गरिएको बाटो सबै भत्किएको छ । कल्जुगाडमा झोलुंगे पूल बगाएको छ भने कल्जगाड भन्दा तल र माथि बाटो भत्किएको छ । सबै ठाउँमा बाटो निर्माण गर्न सके मात्र सहजरुपमा व्याससम्मको बाटो खुल्ने उहाँले बताउनुभयो । तम्बाकु भन्दा तलतिर बाटो नहुँदा व्यासबाट फर्किने भेडा व्यवसायी अहिले बुदिमै रोकिएका छन् । 

घोरेटो बाटो खुलाएको सेनाले लगत्तै सडक निर्माणको काम पनि थालनी गर्नेगरी तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता पौडेलले बताउनुभयो । सेनाले दुई ठाउँमा क्याम्प राखेर सडक निर्माणको थालनी गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले परामर्शदातामार्फत अध्ययन भइरहेको छ ।” सो सडकखण्ड निर्माणको जिम्मा पाएको सेनाले विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) को काम शुरु गरेको छ ।

सैनिक मुख्यालयका अनुसार मोटर बाटोको डिपीआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानी रमेश गुरुङ्गको नेतृत्वमा सैनिक टोली गत साउन २३ गतेदेखि सदरमुकाम खलंगामा छ । महाकाली नदी किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने बताइएको छ । सडक निर्माण गर्न सके व्यासीको सपना पूरा हुने स्थानीयवासी बताउँछन् । 

यस क्षेत्रमा धार्मिक पर्यटनको निकै सम्भावना छ । कैलाश पर्वत दर्शन, चीन सँगको व्यापार, अपिहिमाल लगायतका थुप्रै पर्यटकीय क्षेत्र यस क्षेत्रमा पर्छन् । “अहिले बाटो नहुँदा छांगरु र तिंकरका बासिन्दा सदरमुकाम खलंगा आउन पाएका छैनन्, सदरमुकाममा रहेका त्यहाँका मानिस पनि गाउँ फर्किन पाएका छैनन्, चाँडो बाटो निर्माण भयो भने स्थानीयवासीलाई आफ्नै भूमि भएर गाउँ जान सहज हुन्छ”, व्यास–१ का बासिन्दा जगदीशप्रताप ऐतवालले भन्नुभयो । सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि यहाँका बासिन्दा पनि नेपालकै भूमि भएर आवत–जावत गर्न पाए भन्नेमा छन् । 

व्यासीहरु हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलंगा बस्ने गर्छन् । अहिले व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्मसमेत बसेको छ । बाटो नभएकै कारण सशस्त्र प्रहरीले नेपालकै बाटो भएर खाद्यान्न ढुवानी गर्न हेलिकप्टर कुर्नुपरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा