रोल्पाका विद्यालय बन्द, वैकल्पिक शिक्षण विधि छैन, बालबालिका समस्यामा

Posted on: 31 May, 2021

उमा केसी । जेठ १७, रोल्पा (रासस) । रोल्पाको तारा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने निशा सेन वैशाख १५ गते देखि सञ्चालन हुने परीक्षाको अन्तिम तयारीमा थिइन् । परीक्षाको तयारी गरिरहेकी उनले वैशाख १४ गते परीक्षा स्थगित भएको थाहा पाइन्  । अन्तिम कक्षा ८ को अन्तिम परीक्षा स्थगित भएको सूचनाले उनलाई निकै दुःखी बनायो । 

परीक्षा स्थगित भएसँगै विद्यालय समेत बन्द भयो । विद्यालय  बन्द भएको एक महिना पूरा  भयो, उनलाई  कताव हेर्न रुची लाग्दैन । अघिल्लो वर्ष पनि यस्तो समस्या भोगेकी उनले यसवर्ष सहजताका साथ परीक्षा  दिने आशामा थिइन् । परीक्षा स्थगित भएको एक महिना पूरा भइसक्यो तर अझै उनको परीक्षा कहिले हुन्छ भन्ने टुंगो छैन । 

त्यसैगरी ब्राइट फ्यूचर आवासीय विद्यालयमा अध्ययनरत नितेश थापा विहान उठेदेखि मोवाइलमा व्यस्त हुन्छन् । किताव हेर्न त परै जाओस् मोइबाइलमा गेम खेल्दै उनको दिन वित्ने गर्दछ । रोल्पाका अधिकांश विद्यार्थीहरुको यस्तै भोगाइ छ । छिमेकी  जिल्लाहरुमा वैकल्पिक माध्यमवाट पठनपाठन भएको खबर सुन्ने उनीहरु आफैँ भने यसबाट समेत  वञ्चित  रहँदा शैक्षिक भविष्य  नै अन्यौल हुने हो कि भन्ने चिन्तामा छन् । 

अघिल्लो वर्ष जस्तै कोरोनाको महामारी देखिन सक्ने भन्दै रोल्पा नगरपालिकाले जेठ २ गते देखि सञ्चालन गर्ने  भनिएको कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा १९ दिन अघि वैशाख १५ देखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । नगर क्षेत्रका अधिकांश विद्यालयहरुले अन्य कक्षाको परीक्षा पनि सोही मितिकै आसपासमा गर्ने तयारी गरेका थिए । केही विद्यालयहरुले कक्षा १० को टेष्ट परीक्षा सम्पन्न गरिसकेका थिए । नगरस्तरीय परीक्षाका लागि प्रश्नपत्र समेत वितरण भइसकेको थियो । परीक्षाको भौतिक, आर्थिक र व्यवस्थापकीय तयारीको सबै काम पूरा भइसकेको तथा विद्यार्थी पनि परीक्षाका लागि पूर्ण रुपमा तयारी भइसकेका बेला एकाएक स्थगित भएको परीक्षाले यहाँका विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौलमा परेको छ ।

भौतिक तथा वैकल्पिक दुवै पठनपाठनबाट लामो समयदेखि वञ्चित  भएका उनीहरु दुव्र्यसनको शिकार हुने हुनकी भन्ने चिन्ता अभिभावकले व्यक्त गर्न थालेका छन् । विद्यालय बन्द भएको एक महिनासम्म जिल्लाका कुनै पनि विद्यालयहरुले वैकल्पिक विधिद्धारा पठनपाठन गर्ने तत्परता नदेखाउदा पढेका विषयवस्तु पनि विद्यार्थीहरुले विर्सदै जान थालेकोप्रति अभिभावकले चिन्ता गरेका छन् ।

विद्यालय बन्द भएको एक महिना पग्दासम्म आफ्ना छोराछोरीले किताव नहेरेको अभिभावक तीर्था आचार्यको भनाई छ । आफूले त बालबालिकाले चौबीसै घण्टा मोवाइलमात्र हेर्ने गरेको देखेको आचार्यले बताउनुभयो । मोवाइलको लतबाट उनीहरुलाई कसरी छुट्कारा दिने हो भन्ने नै अहिलेको चिन्ताको विषय भएको आचार्यले बताउनुभयो । 

अघिल्लो वर्ष अनलाइन कक्षा तथा रेडियोबाट पठनपाठनन सञ्चालन भएकाले केही सहज भएको भए पनिे यसपालि त कुनै विद्यालयले पनि अनलाइन कक्षा लिएको नदेखिएन उहाँले सुनाउनुभयो । कोरोनाका कारण भएको निषेधाज्ञा कहिलेसम्म लम्बिने हो निश्चित नभएकाले विद्यालयहरुले वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने आचार्यको भनाइ छ ।

त्यसो त सदरमुकाम  लिवाङ र एकाध बजार केन्द्रवाहेक रोल्पाका अधिकांश ठाउँमा इन्टरनेटको पहुँच नभएकाले वैकल्पिक पठनपाठनको लागि प्रभावकारी मानिएको भर्चुअल कक्षाको पनि सम्भावना निकै कम छ । जिल्ला सदरमुकाम र बजार केन्द्रमा रहेका विद्यालयमा पढ्न आएका विद्यार्थी पनि कोरोनाको त्रास तथा विद्यालयको पठनपाठनको अनिश्चितताका कारण घर गइसकेको छन् । घरमा उनीहरुलाई पनि नेटको पहुँचमा ल्याउन निकै कठिन रहेको अघिल्लो वर्षको अनुभव रहेको बालकल्याण नमूना माविका व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेको भनाई छ । सदरमुकाम आसपासमा बस्नेहरुका लागि भर्चुअल माध्यमबाट पठनपाठनको सम्भावना भए पनि ग्रामीण भेगमा रहनेहरुका लागि कम सम्भावना देखियो न्यौपाने बताउनुहुन्छ । अघिल्लो वर्ष अनलाइन कक्षाको अभ्यास  गरेपनि निकै कम विद्यार्थीले मात्रै लाभ लिएको देखियो न्यौपानेले भन्नुभयो  ।

रोल्पामा रेडियोमार्फत् दिइने वैकल्पीक शिक्षाको सम्भावना अरुको तुलनामा बढी प्रभावकारी देखिन्छ । एक अध्ययनअनुसार ९२ प्रतिशत रोल्पालीसँग स्थानीय रेडियोहरुको पहुँच छ  । अघिल्लो वर्ष रोल्पाका केही स्थानीय तह र विद्यालयहरुले रेडियोमार्फत् नै पठनपाठन गरेका थिए । स्थानीय  तहबाट वजेट व्यवस्थापन गरी यस्ता कक्षा सञ्चालन गर्ने स्थानीय तहमा रोल्पा नगरपालिका र लुंग्री गाउँपालिका देखिएका थिए । उनीहरुले जिल्ला सदरमुकाममा रहेका सामुदयिक  रेडियोहरुबाट यस्तो  कक्षा सञ्चालन गरेका थिए ।  

लुंग्री गाउँपालिकाले एसईई परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालन गरेको रेडियो कक्षामा सहभागी विद्यार्थीलाई एक एकवटा रेडियोसमेत उपलब्ध गराएको थियो । जिल्ला सदरमुकाममा रहेको बालकल्याण माविले रेडियो शिक्षा, अनलाइन कक्षा र टोल शिक्षाको माध्यमबाट पठनपाठन कार्यलाई निरन्तरता दिएको थियो । लामो समयसम्म भएको विद्यालय बन्दले विद्यार्थीहरु कुलतमा फस्ने  खतरा रहेको  शिक्षकहरुको भनाई छ । यहाँका विद्यार्थीहरु गाँजा चरेशजस्ता लागू पदार्थ सेवन गर्नुको साथै वरालिएर हिँड्ने गरेको समेत देख्न थालिएको पिताराज आधारभूत विद्यालयका  प्रधानाध्यापक लिला आचार्यले बताउनुभयो । अघिल्लो वर्ष परीक्षा  नदिएरै कक्षा चढाएका कारण यस वर्ष पनि परीक्षा नदिएरै पास भइन्छ भन्ने धारणा मानसिकतामा यहाँका विद्यार्थी रहेको आचार्यले भन्नुभयो । 

अघिल्लो वर्षको कक्षा चढाउने तरिकाका कारण पनि विद्यार्थीहरुमा पढाइप्रति चासो घटेको आचार्यले भन्नुभयो । सुगम ठाउँमा मात्रै सञ्चालन हुने वैकल्पिक कक्षाले सुगम र दुर्गमका विद्यार्थीबीच दरार  उत्पन्न गरेको आचार्यको भनाई छ । सबै विद्यार्थीको पहुँचमा पुग्नसक्ने वैकल्पिक कक्षा आवश्यक रहेको आचार्यले वताउनुभयो । आधुनिक प्रविधि प्रयोग गरेर वैकल्पिक पठनपाठन गर्नु राम्रो कुरा भएपनि रोल्पामा यसको सम्भावना निकै कम देखिएको नेपाल शिक्षक संघ रोल्पाका अध्यक्ष भगवती मल्लले जानकारी दिनुभयो । अधिकांश शिक्षक नयाँ प्रविधिसँग अध्यावधिक छैनन् भने विद्यार्थी पनि नेटको पहुँचमा नहुदा नयाँ प्रविधिको प्रयोगमा निकै समस्या रहेको बालमन्दिर  प्राथमिक विद्यालय रोल्पाका शिक्षिका मल्लले भन्नुभयो । जिल्लाका स्थानीय तहहरुले नेटको पहुँच विस्तार गरेर सबै विद्यालयलाई यसको पहुँचमा ल्याउन जरुरी रहेको उहाँको सुझाव छ । प्रविधियुक्त विद्यालय र त्यसलाई प्रयोग गर्न सक्ने शिक्षक अहिलेको  आवश्यकता रहेको मल्लको विचार छ । 

रोल्पाका संस्थागत  विद्यालयहरुले  समेत  यस्तो समस्या भोगिरहेका छन् । सदरमुकाम तथा घना बस्ती  रहेको वजार क्षेत्रमा रहने यस्ता विद्यालयहरुले पनि वैकल्पिक कक्षा सञ्चालन गर्न सकेका छैनन । विद्यालय जिल्ला सदरमुकाममा रहे पनि विद्यार्थी सबै ग्रामीण क्षेत्रबाट आउने ती विद्यालयहरुको भनाइ छ । आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये ८० प्रतिशत विद्यार्थी ग्रामीण क्षेत्रका रहेको होलि भिजन आवासीय माविका प्राधानाध्यपक ओम केसीको भनाई छ । “विद्यालयमा मात्र नेटको पहुँच भएर के गर्नु, विद्यार्थीको घरमा नेट हुदैन” केसीले भन्नुभयो ।

सरकारले  शैक्षिक सत्रको टुंगो नलगाउदा विद्यालयहरु अलमलमा परेका छन् । वैकल्पिक कक्षा सञ्चालन गर्न चाहने विद्यालयलहरुले पनि शैक्षिक सत्रको टुंगो नलाग्दा अन्यौलमा परेको देखिएको प्राधानाध्यपक केसीले भन्नुभयो । वैकल्पिक कक्षा नयाँ शैक्षिक  सत्रको गर्ने की  पुरानैको गर्ने भन्ने अन्यौल छ केसीले बताउनुभयो । लामो समयसम्म पढाइको पहुँचमा नहुदा विद्यार्थीहरुमा नकारात्मक काममा प्रोत्साहित हुने खतरा वढ्नसक्ने प्रधानाध्यापक केसीको चिन्ता छ । 

शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाका अनुसार जिल्लाका चार ४०२ विद्यालयमा ६७ हजार ९८८ विद्यार्थी अध्ययनरत् छन् । जिल्लामा विद्यालयमा आधारित ३६९ र समुदायमा आधारित ३८ सहित ४०७ वटा बालविकास केन्द्र रहेका छन् । छात्र पाँच हजार ५४६ र छात्रा चार हजार ९१५ गरी कूल दश हजार ४६० बालबालिकाले ती बालविकास केन्द्रमा अध्ययन गर्दछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!