यूएईबाट बिभिन्न देश पठाईदिने भन्दै ठगी धन्दा चलाउने मुकेश सापकोटा पक्राउ

Posted on: 15 Jul, 2024

असार ३०, काठमाडौँ । यूएईमा बसेर अन्य तेस्रो मुलुकमा पठाउने भन्दै ठगी गर्ने धन्दामा संलग्नलाई यएई प्रहरीले पक्राउ गर्न थालेको छ । युएईबाट क्यानडा, पोल्यान्ड, माल्टा लगायतको भिषा लगाइदिन्छु भन्दै ठग्नेमध्येका एक जना मुकेश सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । 


सापकोटा पक्राउ परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले यस्तो धन्दामा नलाग्न भन्दै चेतावनी दिएका छन् । उपाध्यक्ष मल्लले सापकोटाबाट अरु कुनै नेपाली ठगीएको भए रिपोर्ट लेखाउन अनुरोध गरेका छन् । उनले आफूहरू दुबईमा बसेर ठगीमा संलग्नमाथि निर्मम रूपमा प्रस्तुत भइरहेको भन्दै अरू ठगीमा संलग्नहरू पनि क्रमशः पक्राउ पर्ने बताएका छन् । मल्लले ठगि कार्यमा संलग्न मुकेसको साथि सरिता भन्ने युवती भागिरहेको हुँदा भेट्नुहुने वा देख्नुहुनेलाई प्रहरीमा खबर गरिदिन नेपाली समुदायलाई आग्रह गरेका छन् । 

यूएईबाट वैदेशिक रोजगारीको नाममा मानव तस्करी दिनानुदिन बढिरहेको सम्बन्धमा नेपाल सरकार भने बेखबर छ । एच आर कन्सल्टेन्सिको नाम दिएर यूएईमा श्रम गर्न गएका युवाहरूलाईनै लक्षित गरि गैर कानुनी तवरले युरोप, अमेरिका, अस्ट्रेलिया आदि पुर्याउने नाममा अहिले प्रतिस्पर्धा बढिरहेको छ । यस्तै नाममा युएईमा धेरै कन्सल्टेन्सीहरु खुलेका छन् । कतिपयले सामाजिक सञ्जालको दुरुपयोग गरि सूचना सम्प्रेषण गर्दै गैरकानुनी रूपमा नेपालबाट भिजिट भिसामा युएईमा पुर्याई त्यहाँबाट विभिन्न देश पठाउने धन्धासमेत चलाई रहेका छन् । 

आफूलाई रोजगार व्यवसायी बताउने यस्ता कन्सल्टेन्सीहरुले खुल्लमखुल्ला सामाजिक सञ्जालबाट रकमको आव्हान गर्ने, प्रोसेसिङ्ग शुल्क भनेर लाखौँ रकम उठाउने गरेको पाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!