रामबहादुर थापा। जेठ १६, बागलुङ (रासस)। एक समय थियो कोरोना सङ्क्रमित छेउ पर्न चिकित्सक, स्वास्थ्यकर्मी नै धक मान्थे । महामारीको पहिलो लहरताका आइसोलेशनमा भर्ना भएका बिरामीलाई चिकित्सकले फोनबाटै स्वास्थ्य स्थिति बुझेका खबर पनि सार्वजनिक भए ।

विश्वव्यापी फैलिएको कोरोना महाव्याधिले सर्वत्र त्रासदी छाएको थियो । सङ्क्रमितलाई अस्पताल ल्याउन एम्बुलेन्स चालक तयार हुन्थेनन् । कतै सङ्क्रमित देखिएमा गाउँछिमेकले नै दुरदुर गर्थे । उपेक्षामा पर्ने डरले सङ्क्रमित खुल्न डराउँथे ।

कोरोनाको दोस्रो लहर आइपुग्दा अवस्था त्यस्तो छैन । गत वर्ष भय र आतङ्क बढी थियो, सङ्क्रमण कम । अहिले महामारी भयाबह बनेको छ तर त्रास घट्दो छ । यस अवधिमा कोरोना नियन्त्रण, रोकथाम, उपचार र व्यवस्थापनमा सिङ्गो राज्य संयन्त्र लाग्यो ।

जनस्तरबाट पनि महामारीविरुद्धको लडाईंमा हातेमालो भयो, भइरहेको छ । अहिले सङ्क्रमण तीव्र छ । गाउँगाउँ फैलँदो छ । महामारीको चक्र तोड्न सामूहिक प्रयत्नको खाँचो छ । हरहालतमा सङ्क्रमण रोक्नु छ । त्यसकै लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुक्ष्म योजना’ लागू गरेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार गरेको कार्ययोजनामा टेकेर स्थानीय तहहरु अहिले कोरोना नियन्त्रणमा जुटेका छन् । “सङ्क्रमण घटाउने उद्देश्यले सुक्ष्म योजना बनेको हो, पहिले स्वास्थ्यकर्मी मात्रै खट्थे भने अहिले सबै पक्षको भूमिका खोजिएको छ”, उहाँले भन्नुभयो ।

गाउँ बस्तीसम्मै कोरोना सहजीकरण समूह बनाएर काम थालिएको र त्यसको प्रभावकारिताबारे अनुगमन पनि गरिने कार्यालयले जनाएको छ । कोरोनाविरुद्धको अभियानमा अहिले स्वास्थ्यकर्मीसहित स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था, स्वयंसेवी समूहलगायत परिचालित छन् ।

“कतिपय स्थानीय तहले वडास्तरमा रहेका विपद् व्यवस्थापन समितिलाई त्यसको जिम्मेवारी दिएका छन्, कसैले आफ्नो अनुकूल योजना बनाएर काम गरिरहेका छन्”, प्रमुख गुरौले भन्नुभयो । कार्यालयले सातादिन अघि नै सुक्ष्म योजना (माइक्रो प्लान) बनाएर कोरोना नियन्त्रणमा लाग्न परिपत्र गरेको थियो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला समन्वय समितिले पनि सो योजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल र समन्वय गरिरहेको छ ।

समुदायस्तरमा बनेका सहजीकरण समूहले टोलबस्तीमा पुगेर सङ्क्रमितको निगरानी गर्ने, होम आइसोलेशनमा स्वास्थ्य मापदण्ड पालना भए÷नभएको अनुगमन गर्ने, सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा सघाउने, बिरामीको अवस्था हेरेर थप उपचारका लागि अस्पताल पुर्याउन सहयोग गर्नेलगायतका कार्य गर्छन् ।

कोरोना घरघरमा पुगेको भएकाले एकअर्का सदस्यमा सर्नबाट जोगाउनु नै अहिले मुख्य चुनौती छ । होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई स्वास्थ्य सचेतना, मनोपरामर्श, आधारभूत उपचार र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीको खाँचो छ ।

गलकोट नगरपालिका–२ का वडाध्यक्ष हेमन्त भण्डारीले अझै पनि सोचेजसरी होम आइसोलेशनमा बसेका सङ्क्रमितको निगरानी र अनुगमन गर्न नसकिएको बताउनुभयो । “स्वास्थ्यकर्मी पनि सङ्क्रमितकामा जान डराए, हिच्किचाए जस्तो अनुभव हामीले गरेका छौँ”, उहाँले भन्नुभयो, “सम्भव भएसम्म हामी आफैँ पुग्छौँ, नजिकको छिमेकीलाई पनि सङ्क्रमितको गतिविधि निगरानी गर्न लगाएका छौँ ।”

सङ्क्रमित आइसोलेशनमा नबसेको, स्वास्थ्य मापदण्ड पालना नगरेको, बाहिर हिँडडुल गरेको पाइएमा छिमेकीले जनप्रतिनिधिलाई खबर गर्ने गरेका छन् । वडाध्यक्ष भण्डारीले समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाउन नसकिएको बताउनुभयो । “टाढाटाढा दुर्गमसम्म बस्ती छन्, सम्भावित सङ्क्रमितलाई परीक्षणको दायरामै ल्याउन हामीलाई कठिन भइरहेको छ”, उहाँले भन्नुभयो ।

गलकोट नपाले एउटा एम्बुलेन्स र दुई जीपलाई सुरक्षित तवरले सङ्क्रमित र सम्भावित सङ्क्रमित बोक्न प्रयोगमा ल्याएको छ । स्वाबको नमूना दिएको चार÷पाँच दिनमा बल्ल रिपोर्ट आउँदा पनि व्यवस्थापनमा समस्या निम्तने गरेको छ । सदरमुकामस्थित धवलागिरि अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा स्वाबको चाप छ ।

सीमित स्रोतसाधनका बाबजुत महामारीविरुद्ध सङ्घर्षरत स्थानीय तहका जनप्रतिनिधि पनि अहिले निर्धक्कसाथ सङ्क्रमितको घरदैलोमा पुगिरहेका देखिन्छन् । स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि पुग्दा सङ्क्रमित र तिनका परिवारको मनोबल बढ्छ । कतिपय जनप्रतिनिधिले औषधि, पौष्टिक आहार, स्वास्थ्य सामग्रीसमेत बाँडिरहेका छन् ।

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले होम आइसोलेशनमा बसेका सङ्क्रमितको नियमित निगरानी गर्नुपर्ने बताउनुभयो । “एकै रातमा पनि समस्या जटिल बन्न सक्छ”, उहाँले भन्नुभयो, “स्वस्थकर आहार, उचित हेरचाह, नियमित स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्छ ।”

होम आइसोलेशनमै बसेका कतिपय सङ्क्रमितलाई स्वास्थ्य अवस्था जटिल बनेपछि मात्र अस्पताल ल्याउँदा बचाउन नसकिएको प्रमुख चिकित्सक पोखरेलले सुनाउनुभयो । “गाउँमै मेडिकलबाट आफूखुशी औषधि किनेर खाने गरेको पनि पाइएको छ”, उहाँले भन्नुभयो, “अक्सिजन घट्न थाल्यो, सङ्क्रमितलाई स्वास फेर्न गाह्रो भयो भने तुरुन्त अस्पताल ल्याउनुपर्छ ।”

धवलागिरि अस्पतालमा अहिले ३४ जना सङ्क्रमित उपचाररत छन् । तीमध्ये तीन जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार बढी छ । कोरोनाका कारण ३८ जनाले ज्यान गुमाएका छन् । विसं २०७६ चैत १५ गते देशकै पाँचौ सङ्क्रमित भेटिएको यस जिल्लामा हालसम्म तीन हजार बढीमा कोरोना देखिएको छ ।

Related News