साउन २२, नयाँ दिल्ली (रासस/सिन्ह्वा) । भारतका कोरोनाभाइरसबाट नयाँ ४४ हजार ६४३ जना सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार थपिएका सङ्क्रमितसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेको सङ्ख्या चार लाख १४ हजार १५९ पुगेको छ ।

यो सङ्ख्या कूल सङ्क्रमितको १.३० प्रतिशत भएको पनि जनाइएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ९६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै समयमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको सङ्ख्याभन्दा थप सङ्क्रमितको सङ्ख्या धेरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा वृद्धि भएको छ ।

भारतमा अहिले सङ्क्रमणमुक्त भएको कूल सङ्ख्या तीन करोड १० लाख १५ हजार ८४४ पुगेको मन्त्रालयले जनाएको छ ।

कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएको कूल सङ्ख्या ९७.३६ प्रतिशत पुगेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म चार लाख २६ हजार ७५४ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । तीमध्ये ४६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म ४९ करोड ५३ लाख २७ हजार ५९५ भन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।

Related News