पढ्न करिब 3 मिनेट लाग्छ

मङ्सिर २८, काठमाडौँ | उकालो ओरालो गर्दा तपाईको घुँडा दुख्छ ? धेरै हिँड्दा, टुक्रुक्क बस्दा घुँडा सुन्निने र हिँड्दा गाह्रो महसुस गर्नु भएको छ भने तपाईलाई घुँडा खिइने रोग अर्थात् (ओस्टियो आर्थराइटिस) भएको पनि हुन सक्छ ।

घुँडा खिइने रोग प्रायः ४५ वर्ष उमेर काटेपछि सुरु हुने हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा.सुमनबाबु मरहट्टा बताउँछन् । उनका अनुसार घुँडा खिइएको पहिलो चरणमै थाहा पाउन सकेको खण्डमा निको पार्न सकिन्छ ।

घुँडाभित्र रहेको ‘आर्टिकुलर कार्टिकल’ अर्थात् एक प्रकारको चिल्लो पदार्थ कम भएर घुँडाको दुई हड्डी एकआपसमा घोटिएको अवस्थालाई घुँडा खिइएको भनिन्छ । विशेष गरेर जाडो मौसममा घुँडा दुख्दा चिसोका कारण दुख्यो भनेर बस्ने गरिन्छ । तर त्यस्तालाई घुँडा खिइने रोग लागेको हुन सक्ने भएकाले चनाखो हुन डा.मरहट्टाको सुझाव छ ।

सामान्यतया ४५ वर्ष पूरा भएकाहरुलाई मात्रै घुँडाको रोग लाग्ने गरे पनि पुरानो चोटपटक, जोर्नी संक्रमण, बाथ रोग र रगत सम्बन्धी रोग जस्तै, हेमोफिलिया लगायतका समस्या भएकालाई घुँडा दुख्ने रोग लाग्न सक्ने उनले बताए ।

उनका अनुसार घुँडा खिइने रोगले सताएको छ भने त्यसलाई सामान्य मान्न हुँदैन । घुँडा खिइने रोगलाई सामान्य मानेर बस्दा अपाङ्गसम्म बनाउने उनको भनाइ छ ।

सिभिल अस्पतालका हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. मरहट्टाले घुँडा खिइने रोगका अवस्थालाई यसरी खुलाए–

घुँडा खिइने पहिलो अवस्था

–४५ वर्ष कटेपछि घुँडा दुख्न सरु हुने

–आराम गर्दा घुँडा नदुख्ने तर काम गर्दा दुख्ने

–उकालो ओरालो गर्दा वा धेरै हिँड्दा दुख्ने

–टुक्रुक्क बस्दा दुख्ने ।

–अलिअलि घुँडा सुन्निने र हिँड्दा गाह्रो हुने ।

घुँडा खिइने रोगको दोस्रो अवस्था

–सामान्य हिँड्डुल गर्दा पनि धेरै दुखेको महसुस हुने ।

–भ¥याङ ओर्लदा गाह्रो हुने ।

–टुक्रुक्क परेर बस्न नसक्ने ।

–घुँडा र खुट्टा सुनिने, बाङ्गो पनि हुन सक्ने ।

घुँडा खिइएर यस्तो पनि हुन्छ

–हिँड्डुल गर्न धेरै गाह्रो हुने ।

–राति पनि घुँडा दुख्ने ।

–हिँड्दा वैशाखीको सहारा लिएर हिँड्नुपर्ने ।

–घुँडा बाङ्गो हुुँदै जाने पनि हुन सक्छ । यस अवस्था घुँडाका बिरामीलाई ह्विल चेयरको आवश्यकतासमेत पर्न सक्छ ।

घुँडा दुखाइलाई सामान्य मान्न नहुने हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा.मरहट्टाको भनाइ छ । अन्तिम अवस्था पुगेका घुँडा दुखाइका बिरामीलाई औषधि, थेरापीले समेत काम नगर्ने भएकाले जोर्नी प्रत्यारोपण नै एकमात्र विकल्प भएको उनले बताए । त्यसैले घुँडामा उमेर हद तथा विभिन्न रोगका कारण समस्या आएको छ भने सम्बन्धित विशेषज्ञसँग परामर्श लिएर समाधान गर्न सकिने उनको भनाइ छ ।

घुँडा खिइएर अवस्था अन्तिम चरणमा पुगेको खण्डमा जोर्नी प्रत्यारोपण गरेर निको पार्न सकिने उनले बताए । उनी भन्छन्, ‘नेपालीको औसत आयु बढ्दै जाँदा घुँडा खिइने मानिसको सङ्ख्या पनि बढ्दै जान्छ ।’

घुँडा खिइनबाट जोगाउन यस्तो गर्नुपर्छ

उचित खानपान र शारीरिक अभ्यास अर्थात् व्यायामको अभावका कारण पछिल्लो समय घुँडा रोगी बढ्दै गएको उनी ठान्छन् ।

शरीरको तौल बढ्न नदिने, स्वस्थ खानपान गर्ने, पलेटी कसेर नबस्ने, घुँडा नखुम्च्याउने, उकालो–ओरालो कम हिँड्ने, नियमित शारीरिक अभ्यास गर्ने, रोग लागिसकेकाले नियमित थेरापी गर्ने, विषेशज्ञको सल्लाहमा मात्रै औषधि सेवन गर्ने गरेमा घुँडा खिइने रोगबाट मुक्ति पाउन सकिने उनले बताए ।