पुस २, काठमाडौँ | भारतको मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ। एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि निषेधाज्ञा जारी गरिएको हो।

मुम्बईमा बुधबार एकैदिन सात जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएपछि २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो। बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको मुम्बई प्रहरीले जनाएको हो।

निषेधाज्ञाभर ठूला जमघट गर्न नपाइने, सार्वजनिक भेटघाटमा पाँचजनाभन्दा बढी सहभागी हुन नपाउने र समारोह वा कार्यक्रम गर्दा ५० प्रतिशत क्षमताअनुसार सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्नेछ।

यस्तै महाराष्ट्रमा आउनेले समेत पूर्ण खोप लगाएको हुनुपर्ने र ७२ घन्टाभित्रको नेगेटिभ पिसिआर रिपोर्ट देखाउनुपर्नेछ।

निषेधाज्ञा अवधिमा पसल, मल, समारोह वा जमघटमा सहभागी र सार्वजनिक सवारीमा यात्रा गर्ने मानिसले समेत पूर्ण खोप लगाएको हुनु पर्नेछ। भारतमा हालसम्म ७३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।