पढ्न करिब 4 मिनेट लाग्छ

पुस ३०, काठमाडौँ | अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ ।

सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन् ।

अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढी पनि जटिल खालका बिरामी नआएको चिकित्सकले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको बताउनुभयो । “अहिले अस्पतालमा उपचार गर्न आएका सङ्क्रमित बिरामीलाई अक्सिजनको आवश्यकता परेको छैन”, उहाँले भन्नुभयो, “६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यकता परेको छैन ।” सङ्क्रमितलाई अक्सिजन नचाहिए पनि अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लाण्ट अस्पतालले तयारी अवस्थामा राखिएको छ ।

उहाँका अनुसार अस्पतालमा भर्ना भएका १२ मध्ये तीन जनालाई सघन उपचार कक्ष (आइसियु)मा अक्सिजन दिई उपचार गरिएको छ । नौ जना हाई डिपडेन्सी कक्ष (एचडीयु)मा उपचार भइरहेको छ । उहाँका अनुसार अस्पतालमा भर्ना भएको अधिकांश बिरामी घाँटीमा अप्ठेरो बनाउने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, शरीर तातो हुने, रुघा लाग्नेजस्ता समस्या देखिएका छन् ।

यस्तै अहिले ओमिक्रोन भेरियन्टले मानिसको माथिल्लो स्वासप्रस्वास नलिमा सङ्क्रमण गराई स्वासप्रस्वास गर्नमा समस्या गराउने गर्दछ । यसअघिका डेल्टा भेरियन्टले तल्लो स्वासप्रस्वास नलि वा फोक्सामा सङ्क्रमण गराउने गर्दथ्यो । टेकु अस्पतालमा हिजो पुस २९ गते १५ जना बिरामी आएकामध्ये १० जनालाई कोभिड–१९ सङ्क्रमण भएको थियो । अस्पतालमा १०० शय्यासहित २४ आइसियु रहेको छ । अस्पतालका निर्देशक डा रावलले सङ्क्रमित बढिरहेकाले अबको दुई हप्ता चुनौतीपूर्ण रहेको बताउनुभयो । “ओमिक्रोन भेरियन्टले कस्तो रुप लिन्छ । त्यसैको आधारमा अवको दुई हप्ता चुनौतीपूर्ण हुने देखिन्छ”, उहाँले भन्नुभयो ।

यसैगरी बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेका छन् । अहिले अस्पतालमा ५५ सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालका डा प्रविन नेपालले पनि अहिले भर्ना भएका धेरै बिरामीलाई अक्सिजन नचाहिएको बताउनुभयो । “दोस्रो लहरको जस्ता अहिले देखिएका सङ्क्रमितलाई अक्सिजन चाहिएको छैन”, उहाँले भन्नुभयो, “भर्ना भएका १५ प्रतिशत बिरामीलाई मात्र अक्सिजन दिएर उपचार गरिरहेका छौँ ।”

अहिलेका सङ्क्रमितलाई घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको उहाँको भनाइ छ । यस्तै कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा विगत २४ घण्टामा १४ जना बिरामी भर्ना भएका छन् । अस्पतालका प्रमुख डा भूपेन्द्र वस्नेतले सङ्क्रमण बढेसँगै सङ्क्रमित पनि भर्ना हुन आउने बढेको बतातउनुभयो । उहाँका अनुसार अहिले ५२ बिरामी अस्पतालमा उपचाररत छन् । तीमध्ये नौ जना आइसियुमा उपचार भइरहेको छ ।

सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्न भनेर गत वर्ष युनिफाइड अस्पताल सञ्चालनमा ल्याएको हो । उहाँले अहिलेसम्म भर्ना भएका धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपरेको बताउनुभयो । अस्पतालमा दैनिक २५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लाण्ट र २० टन क्षमता भएको तरल अक्सिजन प्लान्ट रहेको छ । अस्पतालमा ५०० शय्यासहित १०० शय्याको आइसियु रहेको छ ।

ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मकरुपमा फैलिने बताइएको छ । ओमिक्रोनले कोरोना खोप लगाएका÷नलगाएका दुवैलाई सङ्क्रामक बनाउन सक्दछ । यो भेरियन्टको सम्भावित जोखिमलाई रोक्नका लागि अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेडेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आइसोलेसन र स्वास्थ्यकर्मीको पनि तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालमा अहिले आइसियु दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ, एचडियु तीन हजार ८४६ रहेका छन् । यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९, अक्सिजन कन्सटे«टर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन ट्याङ्कमा १९ वटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेको छ । उपत्यकामा दुई हजार ४९४ आइसोलेसन शय्या, ३२४ एचडियु, ४४५ आइसियु र २५४ भेन्टिलेटर रहेका छन् । हालसम्म नेपालमा २७ वटा ओमिक्रोन भेरियन्टका सङ्क्रमित पत्ता लागेको छ ।