<p>माघ १९, काठमाडौँ | सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन् । <br></p><p>शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा काठमाडौँ महानगरपालिकाले यसअघि खोप लगाउन छुटेका बालबालिकालाई यही माघ १५ गतेदेखि कोरोना विरुद्धको खोप कार्यक्रमअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहलाई सहभागि गराएका छन् । सोही अनुरुप १७ वर्ष पूरा भएका र १८ ननाघेका बालबालिकाले पनि आफूहरुलाई खोप उपलब्ध गराउन माग गरिरहेको कामपाले जनाएको छ । </p><p>कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ती उमेर समूहका बालबालिकाका लागि पनि कोभिड–१९ विरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रयासमा लागेको बताउनुभयो । कामपामा ९० सामुदायिक र ५०० भन्दा बढी निजी विद्यालय सञ्चालित छन् । १७ वर्ष पूरा भएका र १८ वर्ष ननाघेका बालबालिकाको सङ्ख्या कामपामा करिब ६ हजार रहेको जनाइएको छ । सरकारले तोकेअनुसारको उमेर समूहका करिब ६५ हजार बालबालिकालाई अहिले छाउनी र थापाथली अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । </p>
February 2, 2022
काठमाडौँ - KTM, स्वास्थ्य
कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग
By साझासवाल
3 मिनेट पढाइ










