2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

ओसिएमसी: ११ महिनामा ४६ हिंसापीडितले सेवा पाए

माघ २९, कैलाली । कैलालीको टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले उपचार सेवा लिएका छन् । लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र अर्थात् ओसिएमसी कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालमा गत वर्ष १९ र चालु वर्षको अहिलेसम्म २७ महिलाले उपचार सेवा लिएका छन् ।

अस्पतालमा उपचारमा आउनेमा बालिकादेखि ज्येष्ठ नागरिक महिलासम्म छन् । अस्पतालमा हिंसामा परेर उपचारमा आउनेमा बलात्कार तथा यौनजन्य हिंसा र कुटपिटका घटनामा परेका बढी आउने गरेका टीकापुर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत तथा ओसिएमसीका संयोजक कलावती तिमिल्सिनाले जानकारी दिनुभयो । 

“नौ वर्षमाथिका बालिका उपचारमा आएका छन् । हिंसामा परेर उपचारमा आउनेमा अधिकांश बलात्कार तथा यौनजन्य हिंसामा परेका छन्”, उहाँले भन्नुभयो, “त्यसबाहेक श्रीमान्ले पिटेर चोटपटक लागेका बढी आएका छन् । हिंसामा परेका मानसिकरूपमा समेत कमजोर भएका हुन्छन् ।”

 विसं २०६९ देखि सुरु भएको सो कार्यक्रम हाल ७७ जिल्लाको ८८  अस्पतालमा विस्तार भइसकेको छ । ओसिएमसी कार्यक्रम लागू भएको १० वर्ष पुगेको छ । अस्पतालमा यो कार्यक्रम सञ्चालन भएपछि हिंसापीडितलाई उपचार र न्याय लिन सहज भएको स्वास्थ्यकर्मी नै बताउँछन् । टीकापुर अस्पतालमा विसं २०७८ फागुनबाट ओसिएमस सञ्चालनमा आएको हो । केन्द्र सञ्चालनमा आएपछि हिंसापीडितलाई छुट्टै राखेर उपचार गर्न सहज भएको छ ।

ओसिएमसीका संयोजक तिमिल्सिना महिला आफ्ना खुट्टामा नउभिएका वा आत्मनिर्भर नभएका कारण हिंसा सहन बाध्य भएको उहाँ बताउनुहुन्छ । “बालिकामाथि यौनजन्य हिंसा हुनुमा समाजमा आपराधिक मानसिकता भएकाहरू छन् भन्ने बुझाउँछ”, उहाँ भन्नुहुन्छ, “१९ देखि ४९ वर्ष उमेर समूहका महिला बढी हिंसामा परिरहेको तथ्याङ्कले देखाएकाले महिला आर्थिकरूपमा सक्षम र आत्मनिर्भर नभएकाले हिंसामा परिरहेका छन् भन्ने लाग्छ ।”

ओसिएमसी भनेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र हो । लैङ्गिक हिंसामा परेका व्यक्ति अस्पताल आएपछि उनीहरूलाई चाहिने सबै सेवा एकद्वार प्रणालीबाट उपलब्ध गराइन्छ । उपचार तथा परामर्शसम्बन्धी अधिकांश सेवा यहाँ छ । यहाँ उपलब्ध नभएका सेवाका लागि भने अन्यत्र अस्पतालमा सिफारिस गर्नुपर्ने हुन्छ । टीकापुर अस्पतालले यहाँ नभएका सेवाका लागि हिंसापीडित महिलालाई धनगढी सेती अञ्चल अस्पताल पठाउने गरेको छ । “अस्पतालले यहाँ उपचार सम्भव नभएकालाई थप उपचारका लागि बाहिर पठाउँदा बिरामी र बिरामीका एकजना आफन्तलाई गाडी भाडासमेत उपलब्ध गराउने गरेको छ”, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले भन्नुभयो, “यहाँबाट अन्यन्त्र पठाउँदा पनि सबैसँग समन्वय गरेर पठाइन्छ । जहाँ पीडितले एकै ठाउँबाट सबै सेवा पाउँछ । पीडितको सुरक्षाको ग्यारेण्टी हुन्छ ।”

अस्पतालले स्वास्थ्योपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय कानुनी सेवा, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनःस्थापना केन्द्र निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालमा सञ्चालनमा रहेको ओसिएमसीमा हिंसापीडितले सेवा पाउने भएपछि प्रहरीलाई समेत सहज भएको छ । हिंसापीडितलाई उद्धार गरी उपचारमा ल्याउँदा विगतमा पीडित राख्ने ठाउँकै अभाव हुन्थ्यो । अस्पतालमा ओसिएमी भएपछि अनुसन्धानमा समेत सहयोग पुगिरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरजबहादुर खड्का बताउनुहुन्छ । 

“हामीकहाँ दैनिक हिंसामा परेकाहरू आइरहनुहुन्छ । हिंसामा प¥यौँ भनी सेवा लिन आउने अधिकांश महिला बढी हुन्छन्”, प्रहरी निरीक्षक खड्काले भन्नुभयो, “गत वर्षबाट अस्पतालमा पीडितको उपचारलगायत अन्य सेवाका लागि ओसिएमसी सञ्चालन भएपछि हामीलाई पनि सहज भएको छ । त्यहीबाट धेरै सुविधा पाइने भएपछि हामीलाई अनुसन्धानमा सहजता हुन्छ ।”

अधिकारकर्मी योजना अधिकारीले ढिलै भए पनि टीकापुर अस्पतालमा पीडितलाई छुट्टै उपचार पाउने व्यवस्था हुँदा राहत भएको बताउनुभयो । “विगतमा हिंसापीडितलाई उपचार, कानुनी परामर्शलगायतका सेवा पाउन कठिन थियो । सबै बिरामीले सेवा लिइरहेकै ठाउँमा उपचार हुन्थ्यो”, उहाँले भन्नुभयो, “हाल छुट्टै, एकान्त र सुरक्षित ठाउँमा ओसिएमसी स्थापना गरिएको छ । त्यहाँ सबै व्यवस्था छ । यसले राहत भएको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई