बैशाख १४ काठमाण्डौ | बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन नेपाल स्रष्टा समाजको साहित्यिक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

बङ्गलादेश–नेपाल मैत्री संघको मैत्रीपूर्ण निमन्त्रणामा गएको भ्रमण टोलीमा समाजका अध्यक्ष पवन आलोक, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा, पुष्पा खनाल, वरिष्ठ कवि मञ्जुल, समाजका सदस्यहरू सरस्वती शर्मा ‘जिज्ञासु’, नवराज पुडासैनी ‘ज्योत्सना’, मोहन चापागाइँ, रेखा कणेंल, दुर्गादेवी चापागाइँ र साहित्यकार सुस्मिता नेपाल सहभागी हुनुहुन्छ ।

नेपाल स्रष्टा समाज र बङ्गलादेशका साहित्यिक संस्थाहरूबीच १० वर्षदेखि साहित्य तथा सांस्कृतिक आदानप्रदानका विषयमा सहकार्य हुँदै आएको छ । यसअघि पनि यसप्रकारका भ्रमणहरू सम्पन्न भइसकेका छन् भने नेपाली साहित्यलाई बंगाली भाषा रबंगाली साहित्यलाई नेपाली भाषामा अनुवाद गरी विभिन्न साहित्यिक कृति पनि प्रकाशित भएका छन् ।

यसैबीच, नेपाल स्रष्टा समाजले राजधानीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मोफसलको साहित्यिक गतिविधि, साहित्यिक संस्थाहरुलाई दिगोरूपमा कसरी चलाउने, नेपाली स्रष्टाहरूलाई विदेशमा रहेका स्रष्टाहरूसँग कसरी अन्तक्र्रिया गराउने, बङ्ग्लादेशसँग समाजले सहकार्य गरेझैं अन्य दक्षिण एसियाली देशमा नेपाली साहित्य कसरी आदानप्रदान गर्नेजस्ता विभिन्न पक्षमा स्रष्टाहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

समाजका अध्यक्ष पवन आलोकको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव सनत रेग्मीले समाजले देशको साहित्यिक क्षेत्रको विकासमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउँदै पश्चिम नेपालतिर पनि आफ्ना कार्यक्रमहरू र सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा विधान आचार्य, चेतनाथ कणेल ‘हरित’, पुष्पा खनाल, गोकुल अधिकारी, नवराज तिमिल्सिना, राधिका गुरागाईं, रमेशजङ्ग थापा, गोपाल अश्क, रञ्जना निरौला, हरि सुवेदीलगायतका स्रष्टाहरूले आफ्ना धारणा राख्नु भएको थियो । समाजमा हाल देशभर छरिएर रहेका १५५ जना साहित्वकार संलग्न हुनुहुन्छ । रासस

नेपाली स्रष्टाहरु बङ्गलादेश प्रस्थान
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment