2026-10-16 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

राष्ट्रिय कविता महोत्सव: ३१ जना कविलाई पछी पार्दै धादिङका हेम प्रभास प्रथम

असार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको  ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।  यस्तै डोटीका सुभाषचन्द्र भण्डारी  ‘किनाराका अलिखित संवेगहरु’ शीर्षक कवितामा द्वितीय हुनुभएको छ । यसैगरी लमजुङका प्रज्वल अधिकारीले ‘पाठशाला’, काठमाडौँका प्रकाश बस्नेत गफाडीले ‘इन्द्रधनुष’ र काठमाडौँकै शान्ति शर्माले ‘उज्यालोको गीत’ कवितामा तृतीय स्थान हासिल गरे । 

प्रतियोगितामा प्राप्त ३४० कवितामध्ये उत्कृष्ट ३१ कविता वाचनका लागि राखिएका थिए । सो अवसरमा प्रकाश सिलवाल, अश्विन समीप, उषा आचार्य, कल्पना काफ्ले, कविता राई, कुबेर खड्का, गरिमा शाह, छविलाल आचार्य, तीर्थराज जोशी, तीर्थराज भट्ट, तोयानाथ भट्ट विश्वामित्र, त्रिभुवनचन्द्र वाग्ले, दीपक यात्री, को देवकी अभिलाषी, निराजन मौद्गल्य, पदम दाहाल, बालकृष्ण लम्साल, भुवन  शिवाकोटी, यात्रीप्रकाश पाण्डे, रञ्जु दाहाल, रमेश पौडेल, रेजिना  आपागार्इँ लक्ष्मीप्रसाद आचार्य, लीला दाहाल, सन्दीप सापकोटा बैतडीका हीरा भट्टलगायतले प्रतियोगी कविता वाचन गर्नुभएको थियो । 

त्यस्तै वासुदेव त्रिपाठी, अशेष मल्ल, शभ्भुकुमार मिलन, बाबा बस्नेत, मित्रलाल पङ्गेनी, नवराज लम्साल, धीरेन्द्र प्रेमर्षि, अनिता लामालगायतले अप्रतियोगी कविता वाचन गर्नुभएको थियो ।  

वार्षिकोत्सव तथा कविता महोत्सवको उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । कविता महोत्सवमा प्रतिष्ठानका काव्य विभाग प्रमुख  हेमनाथ पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन गरिएको थियो । समितिका सदस्यमा  गीता त्रिपाठी र प्रल्हाद पोखरेल रहनुभएको थियो ।   

उपप्रमबाट कविता वाचन 

जीवन सप्तरङ्गी इन्द्रेणी जस्तो हो 

जीवन कहिले पूर्णिमाको जून जस्तै  

कहिलेकाहीँ त औँसीको कालरात्रिजस्तो

कहिले कहिले खुशीले मुस्कुराइरहेको सुन्दर फूलजस्तो

कहिले पीडाले थिलोथिलो परेको ज्यान जस्तो

जीवन कहिले अट्टहास गरेर हाँस्छ 

कहिले कहिले अत्तालिएर रुन्छ जीवन 

× × ×

मृत्यु डरलाग्दो अनभिज्ञता

कहिले कसलाई कहिले कसलाई छाप ठोकेर जान्छ 

अपरिहार्य, अखण्डित, अनभिज्ञताको विषालु गुम्बज 

थाहा हुन्छ तर थाहै पाइँदैन 

(ईश्वर पोखरेल)

उपप्रधानमन्त्री पोखरेलले ‘जीवन’ र ‘मृत्यु’ शीर्षकका  कविता वाचन गरिरहँदा दर्शकदीर्घाबाट बीचबीचमा तालीको गडगडाहट आएको थियो । मानिसले जीवन र मृत्युलाई राम्रोसँग बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । “बाँचुञ्जेल सत्कर्म गरेमा मृत्युपछि पनि सबैले स्मरण गर्छन्”, उहाँले भन्नुभयो, “जीवनलाई खेर फाल्नेको  न बाँचुञ्जेल अर्थ रहन्छ न त मृत्युपछि पनि ।” उहाँले मुलुकमा विकास र समृद्धिबारे बहस चलाउनुपर्नेमा पनि जोड दिनुभयो । 

सो अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले  काव्यबाटै साहित्यको सिर्जना भएको हो भन्दै साहित्यिक समृद्धिका लागि राज्यले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । कवि वैरागी काइँलाले राष्ट्रिय कविता महोत्सवलाई सरकारले उचित महत्व दिएको बताउनुभयो । उहाँले कविता प्रतियोगितामा उत्कृष्ट भएकाहरुलाई राष्ट्र प्रमुखबाट पुरस्कृत गर्ने परिपाटीको थालनी गर्नु राम्रो पक्ष भएको बताउनुभयो । 

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सातओटै प्रदेशका भूगोल, कला, साहित्य, संस्कृति र बौद्धिक पक्ष समेटेर छुट्टाछुट्टै पाश्र्वचित्र तयार पार्न लागिएको र आगामी अक्टोबरमा चीन दक्षिण एशिया समेटेर  साहित्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, सदस्य सचिव जगतप्रसाद उपाध्याय, कविता महोत्सव निर्णायक समितिका संयोजक तथा  काव्य विभाग प्रमुख  हेमनाथ पौडेल, प्राज्ञसभा सदस्य  शशि लुमुम्बुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कर्मचारी तथा  वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न कार्यक्रममा उत्कृष्ट भएकाहरुलाई पुरस्कृत गरियो । प्रतिष्ठानमा दीर्घ सेवा गरेका खरिदार शालिकराम फुयाँल, राम पहरी,  सन्तबहादुर पहाडी, मुखिया रामचन्द्र लामा र  कार्यालय सहयोगी मीनबहादुर थिङ, शाखा अधिकृत अशोककुमार चौरसिया, नासु महेश्वर थापा मगर, खरिदार नगेन्द्रबहादुर थारु, भुलबहादुर श्रेष्ठ, मुखिया श्याम महर्जन, झनबहादुर अधिकारी, सवारी चालक नवराज चौलागाईँ, राम महर्जन, कार्यालय सहयोगी  उर्मिला बोहोरा र   अमृता तिवारीलाई पुरस्कृत एवं सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु