काठमाडौँ | राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले सहकार्यका लागि कुलमान घिसिङलाई प्रस्ताव गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका घिसिङले उज्यालो अभियान चलाउने तयारी गरिरहेका छन् । सोही क्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरूले उनलाई भेटेर सो प्रस्ताव गरेका थिए । घिसिङ भने हाल अमेरिकामा छन् । राष्ट्रिय मुक्ति पार्टी नेपालले आफ्नै पार्टी वा पार्टीले सञ्चालन गरिरहेको अभियानमा सहभागी हुन् उनलाई प्रस्ताव गरिएको पार्टीका नेता सन्तोष मेहताले बताए ।
यसबारे अध्यक्ष महतोले दुई पटक आफ्ना नेता पठाएर कुराकानी गर्न लगाएका थिए । पार्टीका नेता बुद्धि छिरिङको नेतृत्वमा एउटा टोली असार ६ गते भेटेर कुराकानी गरेको थियो भने अर्को टोली असार ८ गते भेटेर कुराकानी गरेको छ ।
नेता मेहताले भने, ‘कुलमानजीलाई पार्टीमै आउन भनेका हौँ, पार्टीमा नआए पनि हामी एउटै अभियानमा हुन्छौँ, उहाँले चलाउने उज्यालो नेपाल अभियानमा हाम्रो साथ सहयोग रहन्छ, हाम्रो अभियानमा पनि उहाँको साथ रहन्छ तर यस विषयमा अहिले नै कुनै टुंगो लागेको छैन, उहाँ अमेरिका जानुभएको छ ।’
उताबाट फर्केपछि औपचारिक रूपमै यो विषयको टुंगो लगाउने उनले जानकारी दिए ।