वालुवाटार, शीतलनिवास र सिंहदरबारमा थुप्रियो १२ टन फोहोर

Posted on: 12 Apr, 2023

चैत २९, काठमाडौं | काठमाडौं महानगरपालिकाले शनिबारदेखि शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द गरेको कारण ती क्षेत्रमा करिब १२ टन फोहोर थुप्रिएको छ ।

देशको राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा फोहोर थुप्रिँदा गृह मन्त्रालय भने रमिते भएको बसेको छ । जबकि, गृह मन्त्रालय आफैंले जारी गरेको आवश्यक सेवामा निषेध गर्न नपाइने २५ बुँदे सूचीकोे १४औँ बुँदामा फोहोरमैला, संकलन र ढुवानीमा अवरोध गर्न नपाइने उल्लेख छ । सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयले आफ्नै परिसर नजिकैको पुतली बगैंचामा फोहोर थुप्रिँदा पनि कुनै प्रतिक्रिया जनाउन सकेको छैन ।

तीन दिनअघि चितवनमा पत्रकारसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ताबाटै समस्या समाधान गर्ने बताएका थिए । तर, अहिलेसम्म यस विषयमा गृह र कामपाबीच औपचारिक वार्ता हुन सकेको छैन ।

कमपाका प्रवक्ता नवीन मानन्धरले हालसम्म सरकार र कमपाबीच कुनै वार्ता नभएको जानकारी दिँदै भने, ‘आज चार दिन भयो, सरकारले वार्ता गर्ने विषयमा कुनै खबर गरेको छैन । तर, मेयर बालेन्द्र साह र गृहमन्त्री श्रेष्ठबीच सोमबार अनौपचारिक छलफल भएको थियो । छलफलको क्रममा मेयर साहले आफूले सार्वजनिक गरेको १४ बुँदे सम्बोधन नभएसम्म शीतल निवास वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पार्नुभएको थियो ।’

फोहोर संकलन हुन नसक्दा सिंहदरबार परिसरमा ६, शीतल निवासमा ४ र प्रधानमन्त्री निवास वालुवाटारमा २ टन गरी १२ टन फोहोर थुप्रिएको छ । फोहोरको कारण सिंहबारमा दुर्गन्ध फैलन शुरू भएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!