२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रास्वपाको प्रस्ताव : प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

२०८०, ३१ जेष्ठ बुधबार ०७:५३

जेठ ३१, काठमाडौँ | संसद्को चौथो ठूलो राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेको प्रदेश संरचना खारेज मुद्दा अगाडि बढाउने प्रस्ताव तयार पारेको छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रदेश गभर्नर रहने शासकीय स्वरूप रहनुपर्ने प्रस्ताव राखेको छ । गत ४ मंसिरको निर्वाचनमा उसले प्रदेश सभा निर्वाचनामा भाग लिएको थिएन । 

पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा आगामी ७ असारमा सार्वजनिक गर्ने गरी तयार पारेको दस्तावेजको मस्यौदामा रास्वपाले प्रदेश प्रमुख, प्रदेश सभा र प्रदेश मन्त्रालय खारेज गर्नुपर्ने उल्लेख गरेको छ । सरकारको प्रमुखको रूपमा प्रदेश गभर्नरको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । देश तथा विदेशमा रहेको सम्बन्धित प्रदेशका मतदाताका आधारमा प्रत्यक्ष निर्वाचित प्रदेश गभर्नर हुनुपर्ने उसको प्रस्तावित दस्तावेजमा छ । प्रदेश गभर्नरले राष्ट्रपतिबाट शपथ लिने र प्रदेशका निर्णयको प्रमाणीकरण राष्ट्रपतिबाट हुने दस्तावेजमा उल्लेख छ । 

सम्बन्धित प्रदेशको जनसंख्या र भूगोलका आधारमा २१ देखि ३५ जनासम्म प्रदेश परिषद् गठन गर्ने रास्वपाको प्रस्ताव छ । सम्बन्धित प्रदेशको जनसंख्या र भूगोलका आधारमा २१ जनादेखि ३५ जनासम्म प्रदेश परिषद् गठन गरिने र उक्त परिषद्को कार्यकाल पाँच वर्षको हुने दस्तावेजमा उल्लेख छ । अहिले कायम रहेको जिल्ला समन्वय समितिसमेत खारेज गर्नुपर्ने रास्वपाको प्रस्तावित एजेन्डा छ । आगामी चुनावमा पार्टीको एजेन्डा नै बनाउने गरी रास्वपाले ‘नयाँ युगको नयाँ संकल्प’ नामक दस्तावेज तयार गरेको छ । दस्तावेज सुझाव संकलनका लागि केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतिसमक्ष पुगेको छ । उनीहरूसँग २ असारसम्म लिखित सुझाव माग गरिएको छ । आवश्यक संशोधन बुँदासहित सुझाव दिनका लागि सात समूहसमेत विभाजन गरिएको छ । 

दस्तावेजमा ‘एक व्यक्ति एक मत’का आधारमा गोप्य मतदानद्वारा बहुमत प्राप्त गर्ने वंशज नेपाली नागरिक प्रधानमन्त्री निर्वाचित हुने प्रणाली राखिनुपर्ने उल्लेख छ । मतदानमा देश तथा विदेशमा रहेका नेपाली नागरिकले भाग लिन पाउने प्रस्तावित दस्तावेजमा उल्लेख छ । पहिलोपटकको मतदानमा सदर मतको ५१ प्रतिशत अर्थात् बहुमत ल्याउनुपर्ने, नआएमा बढी मत आउने दुई उम्मेदवारबीच पुनः निर्वाचन गरिने उल्लेख छ । मन्त्रिपरिष्दको आकार पनि घटाउने दस्तावेजमा उल्लेख छ । अहिले २५ सदस्यीय रहेको मन्त्रिपरिषद्को आकार नबढाई १५ सदस्यीय हुनुपर्ने उल्लेख छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले आफ्नो स्वविवेकको आधारमा मन्त्रीहरू नियुक्ति गर्न सक्ने र प्रतिनिधिसभाका सदस्य वा बाहेकका नेपाली नागरिकलाई प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न सक्ने दस्तावेजमा उल्लेख छ । 

प्रस्तावित दस्तावेजमा १० वर्षसम्म कुनै दलको सदस्य नभएको नेपाली नागरिकलाई संघीय संसद्देखि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसम्मको बृहत् निर्वाचनमण्डलबाट राष्ट्रपति निर्वाचित गराउनुपर्ने उल्लेख छ । हालको शासकीय संरचनामा रहेको उपराष्ट्रपति पदलाई भने खारेज गर्नुपर्ने उल्लेख छ । ‘उपराष्ट्रपतिको छुट्टै पद सिर्जना नगरी बहालवाला राष्ट्रिय सभाको अध्यक्षलाई नै उपराष्ट्रपति मानिनेछ । यसले गर्दा उपराष्ट्रपति पद र राष्ट्रिय सभाको अध्यक्षका रूपमा दुई व्यक्तिलाई दिँदै आएको सुविधा कटौती भई एक व्यक्तिलाई मात्र कायम हुँदा राज्यलाई अनावश्यक आर्थिक भार पर्नेछैन,’ प्रस्तावित दस्तावेजमा उल्लेख छ । 

मौजुदा संवैधानिक परिषद्लाई समेत खारेज गर्नुपर्ने रास्वपाको प्रस्ताव छ । पार्टीले परिकल्पना गरेको ३५ सदस्यीय गैरदलीय राष्ट्रिय सभाको बहुमतले सिफारिस गरेको नेपाली नागरिक प्रतिनिधिसभामा संवैधानिक सुनुवाइ गरी संवैधानिक निकायमा नियुक्त हुने प्रस्ताव अघि सारिएको छ । ‘यसले संवैधानिक निकायमा हुने राजनीतिक भागबन्डालाई अन्त्य गर्नेछ र प्रधानन्यायाधीश संवैधानिक परिषद्को सदस्य हुँदा देखापरेको विकृतिलाई पनि निर्मूल गर्ने,’ दस्तावेजमा छ । दस्तावेजमा प्रतिनिधिसभाका हकमा भने संविधानमा भएको हालको व्यवस्थालाई नै स्वीकार गर्ने उल्लेख छ । राष्ट्रिय सभाको हकमा भने हाल कायम रहेको ५९ सदस्यलाई घटाएर ३५ मा झार्नुपर्ने उल्लेख छ । यसको सदस्यका लागि १० वर्षसम्म कुनै पनि राजनीतिक दलको सदस्य नभएको नेपाली नागरिक योग्य हुने र प्रत्येक प्रदेशबाट पाँचजनाका दरले राष्ट्रिय सभा ३५ सदस्यीय बनाउनुपर्ने प्रस्तावित दस्तावेजमा उल्लेख छ । नयाँ पत्रिकाबाट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते