एक महिना बाँकी रहँदा सरकारले गर्यो लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन

Posted on: 17 Jun, 2023

असार २, काठमाडौँ | चालु आर्थिक वर्ष २०७९/८० पूरा हुन एक महिना मात्र बाँकी रहँदा सरकारले लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक  कार्यालयका अनुसार  जेठ  मसान्त  पूरा  हुँदासम्म आठ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले सुरुमा १४ खर्ब तीन  अर्ब  १४  करोड  रुपैयाँ  राजस्व सङ्कलनको  लक्ष्य राखेको थियो । जेठसम्म सङ्कलित राजस्व सुरु लक्ष्यको ५९.६४ प्रतिशत मात्र हुन आउँछ । घट्दो  आयात  तथा  आर्थिक  गतिविधिका  कारण चालु आर्थिक वर्षको सुरुदेखि नै सरकार राजस्व  सङ्कलनको  सङ्कुचनको  अवस्थामा  छ । जसका कारण अहिलेसम्म सरकारले दुई पटक सङ्कलनको लक्ष्य संशोधन गरिसकेको छ । आर्थिक गतिविधिमा उल्लेख्य सुधार नहुँदा पछिल्लो संशोधन पनि पूरा गर्न मुस्किल हुने विश्लेषण हुन थालेको छ । जेठसम्मको कुल राजस्व सङ्कलनमध्ये सात खर्ब ५९ अर्ब रुपैयाँ कर राजस्वको हिस्सा रहेको छ भने बाँकी ७७ अर्ब ८५ करोड रुपैयाँ गैरकर राजस्व रहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!