मन्त्री बनाउन तीन करोड मागेको आरोप लागेका थापाको अनुसन्धान ‘च्याप्टरक्लोज’

Posted on: 29 Sep, 2023

असोज १२, काठमाडौँ | आर्थिक लेनदेनको विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य मनोजजंग थापामाथिको छानविन र अनुसन्धान कार्य तत्कालका लागि ‘च्याप्टर क्लोज’ भएको छ । 

निष्कासित सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउन थापाले ३ करोड मागेको विषय भदौ २६ गते मिडियामार्फत् सार्वजनिक गरेपछि उनी विवादमा तानिएका थिए । रास्वपाको भोलिपल्ट बसेको केन्द्रीय अनुशासन आयोग समेतको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आरोपित थापामाथि छानविन र अनुसन्धान प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । 

केन्द्रीय अनुशासन आयोगमार्फत् छानविन प्रक्रिया अगाडि बढेको जानकारी दिइएको थियो । तर, अनुशासन आयोगका प्रमुख डा. भरतमणि देवकोटाले थापामाथि लागेको आरोप पुष्टि हुने खालका कुनै पनि प्रमाण नभेटिएकाले तत्कालका लागि फाइल क्लोज भएको बताए । 

पछि आरोप पुष्टि हुने खालको तथ्य र प्रमाण फेला परेमा कारवाही हुने गरी पार्टीको नियमित काम गर्ने गरी फाइल मुल्तबीमा राखिएको उनको भनाइ छ । ‘आरोपको सम्बन्धमा उहाँसँग स्पष्टीकरण लियौं । आर्थिक लेनदेनको विषयमा आफ्नो कुनै संलग्नता नभएको स्पष्टीकरण दिनुभयो । आरोप पुष्टि हुने खालको तथ्य र प्रमाण फेला परेन । त्यसैले उहाँलाई नियमित पार्टीको काम गर्न सक्नेगरी तत्कालका लागि फाइल क्लोज गर्यौं’, उनले भने । 

साथै, यदि कसैले आरोप पुष्टि हुने खालको तथ्य र प्रमाण पेस गरेमा उनीमाथि कारवाही हुने देवकोटाको भनाइ छ । यद्यपि जनमानसमा आरोपबारे भ्रम सिर्जना भएकोले आफ्नो छवि सुधार गरी अगाडि बढ्न सचेत गराएको उनले जानकारी दिए । 

उता, रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले थापामाथि लागेको आरोप सम्बन्धमा अनुसन्धान प्रक्रिया जारी रहेको जिकिर गरे । ‘उहाँमाथि लागेको आरोप सम्बन्धमा अनुशासन आयोगबाट सत्यतथ्य बुझ्ने, प्रमाण संकलन गर्ने, छोधपुछ गर्ने काम भएको छ । आरोपकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन’, उनले भने, ‘अहिले अनुसन्धानकै क्रममा रहेकाले निष्कर्षमा पुगिएको छैन । यदि छानविनको क्रममा आरोप पुष्टि हुने प्रमाण भेटिए पार्टीले कारवाही गर्छ ।’

आरोपलाई लिएर राज्यको सम्बन्धित निकायमा उजुरी परेमा पार्टीको तर्फबाट पूर्ण समर्थन रहने तथा भएका तथ्य प्रमाण उपलब्ध गराउने बुर्लाकोटीको भनाइ छ । यसअघि श्रेष्ठमाथि आरोप लागेको ७२ घण्टाभित्र पार्टीले कारवाही गरेको थियो ।  

यद्यपि,उक्त आरोपको खण्डन गर्दै आएका थापाले श्रेष्ठविरूद्ध अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका थिए । श्रेष्ठसँग पैसा मागेको विषय झुठो, कपोल्कल्पित भएको बताउँदै आरोप प्रमाणित गर्न श्रेष्ठलाई उनले चुनौती दिएका थिए । 

यसै विषयमा थापासँग पछिल्लो जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । अदालत जाने धम्की दिएपछि अहिलेसम्मश्रेष्ठविरूद्ध अदालतमा निवेदन नदिएको स्रोतको दाबी छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्न २ करोड रुपैयाँ मागेको अडियो चैत २६ गते सार्वजनिक भएको थियो । माघ ३ मा मन्त्रिपरिषद विस्तार हुनुअघि रविका कोर टिमले साढे २ करोड मागेको कुरा श्रेष्ठले प्रसाईंसँग भनेका थिए । तत्काल पैसा नबुझाए आफू मन्त्री बन्न नसक्ने भन्दै उनले प्रसाईसँग सहयोग मागेका थिए । 

‘स्वास्थ्य हामीले पाउने भयो, रविका कोर टिमका २-३ जनाले साढे २ जति चाहियो भन्दै थिए । म मन्त्री बन्ने पक्का भयोे, पैसा आजै फिक्स गर्नु छ सर’, प्रसाईसँग उनले भनेका थिए । 

उक्त अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई २९ गते साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । पार्टीको कारवाहीविरूद्ध श्रेष्ठ सर्वोच्च अदालतको ढोका ढकढक्याउन गएका थिए तर अदालतले पार्टीको कारवाहीलाई सदर गर्दै उनको रिट निवेदन खारेज गरेको थियो । 

पार्टीबाट निष्कासित भएपछि रविको कोर टिम सार्वजनिक गर्ने धम्की दिँदै आएका श्रेष्ठले थापालाई डामेका हुन् । आफूमाथि कारवाही भएको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएपनि थापाविरूद्ध आफू अख्तियार दुरूपयोग अनुसन्धान आयोग वा सम्बन्धित निकायमा नगएको श्रेष्ठले बताए । 

‘उहाँले पैसा मागेको विषय मिडियामार्फत् सार्वजनिक गरिसकें । पार्टीले कारवाही गर्ने वा नगर्ने उसको काम हो । छानविनका लागि मैले अख्तियार वा सम्बन्धित निकायमा उजुरी दिएको छैन ।’, उनले भने । 

आवश्यक परेको खण्डमा थापाले पैसा मागेको प्रमाण आफूले पेस गर्न सक्ने उनको जिकिर छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!