कामका लागि भिजिट भिसामा विदेश जानेको सङ्ख्या बढ्दै

Posted on: 07 Oct, 2023

असोज २०, काठमाडौँ | भ्रमण भिसा तथा नक्कली श्रम स्वीकृति बनाई कामका लागि विभिन्न देश जान लागेका महिला र पुरुषलाई जोखिममा पर्न नदिन मानव बेचबिखन अनुसन्धान ब्युरोले फर्काउने गरेको छ । ब्युरोले असोज १८ गतेसम्म ६ हजार ६ सय ४७ जनालाई यसरी विमानस्थलबाट फर्काएको छ ।

नेपाल सरकारले भिजिट भिसामा घरेलु कामका लागि विदेश जान रोक लगाएको छ । तर पनि भिजिट भिसाको आवरणमा कामका लागि विदेश जानेको सङ्ख्या बढ्दै गएको ब्युरोका एसपी कृष्ण पंगेनीले बताए । उनका अनुसार वैदेशिक रोजगारीका नाममा विभिन्न गिरोहले बेचबिखन गर्ने उद्देश्यले नक्कली भिजिट भिसामा दुबईलगायतका देश पठाउने गरेका छन् । उनले भने, 'वैदेशिक रोजगारीमा भिजिट भिसामा जानु हुँदैन । यसरी जाँदा समस्यामा परिन्छ । यसरी जाँदा धेरै मानिस बेचबिखनमा पनि परेका छन ।' भिजिट भिसामा विदेश गएर काम गर्दा धेरैले दुःख पाएको पंगेनीले बताए ।

मानव तस्करले मिलेमतोमा भिजिट भिसाको आवरणमा दिनहुँजसो नेपाली युवालाई दुबई, कतार, साउदी अरेबिया, कुबेतलगायत मुलुकमा पठाइरहेका छन् । भिजिट भिसामा खाडी मुलुक पुगेका नेपाली कामका लागि लुकेर बस्ने गरेको पंगेनीले बताए । यो समाचार नागरिक दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!