चैत १७, काठमाडौँ | धादिङका तेजबहादुर गुरुङ सशस्त्र प्रहरीमा ११ वर्षदेखि कार्यरत थिए । मासिक हातमा पर्ने १६/१७ हजारले दैनिकी चलाउन मुस्किल थियो । संयुक्त अरब इमिरट्स (यू"/>
चैत १७, काठमाडौँ | धादिङका तेजबहादुर गुरुङ सशस्त्र प्रहरीमा ११ वर्षदेखि कार्यरत थिए । मासिक हातमा पर्ने १६/१७ हजारले दैनिकी चलाउन मुस्किल थियो । संयुक्त अरब इमिरट्स (यूएई) मा कार्यरत बलराम थापा चितवन आएको बेला उनको सम्पर्क भयो । ‘यूएईको अर्धसरकारी हिमाया सेक्युरिटी सर्भिसेस कम्पनीमा मासिक चार हजार दिराम (एक लाख २० हजार रुपयाँ ) तलब दिन्छ,’ थापाले गुरुङलाई भने, ‘त्यहाँ छनोट भए आठ लाख रुपयाँ लाग्छ ।’
कहाँको १७ हजार, कहाँको एक लाख २० हजार । गुरुङ लोभिए । सशस्त्रमै कार्यर त साथीभाइसँग सल्लाह गरे। बलरामसँग १२ जना सम्पर्कमा पुगे । उनले जम्मा गरेकालाई अन्तर्वार्ता लिन भरतपोखरी, कास्कीका ओमबहादुर थापा चितवन पुगे । उनले बलरामकै दाजुको घरमा अन्तर्वार्ता लिए । अन्तर्वार्तामा छनोट भएपछि उनीहरूले ओमबहादुर र रेखा भण्डारी थापाको माछापुछ्रे बैंकको संयुक्त खातामा एक/एक लाखको दरले जम्मा गर्न लगाए । ‘भिसा आएपछि बैंकमा जम्मा गर्न दिएनन् । बलरामका दाइ मीनबहादुर र डम्बरबहादुरको हातमा बुझायौं,’ तेजबहादुरले भने । श्रम स्वीकृतिका लागि उनीहरू सबैका राहदानी ओमले लिएर गएका थिए । यूएई जाने भन्दै असार २६ गते काठमाडौं बोलाए ।
‘भोलि बिहान श्रम स्वीकृति आउँछ, दिउँसो १:४० को उडान छ, तपाईंहरू १० बजे एयरपोर्टमा आउनुस्, हामी राहदानी र टिकट लिएर त्यहीं आउनेछौं,’ ओमले भने, ‘सबै जना समयमै पुग्नु ।’ सबैजना भनेको समयमा विमानस्थल पुगे । त्यहाँ ओम थिएनन् । सबै उनलाई पर्खिएर बसे ।
‘प्राविधिक कारणले श्रम स्वीकृति लिन सकिएन,’ एकछिनमा ओम आइपुगे र भने, ‘तर , चिन्ता गर्नु परेन । मैले भित्र सबै मिलाइसकेको छु । तपाईंहरू एयर अरबियाको १२ र १३ नम्बर काउन्टरमा मात्रै जानु ।’ श्रम स्वीकृति नमिलेको कुराले यूएई जान ठिक्क परका कामदारहरू अलमलमा परे । ‘हामी श्रम स्वीकृति लिएर मात्रै जान्छौं,’ बमराज गुरुङले भने, ‘यसरी गएर कहाँ हुन्छ ?’ तर, ओमले लामो बहस गरनन् । ‘ अरू विकल्प छैन । समय छैन । जाने भए जानुस्, नजाने भए अब पैसा फिर्ता हुँदैन,’ ओमको भनाइ उद्धत गर्दै बमराजले भने , ‘हामीलाई ट्र्यापमा पारियो।’ उनीहरू सेटिङमा जान तयार भए । ओमले सबैलाई दुइटा भिसा दिए । एउटा सक्कली थियो । यो भिसा यूएईको अध्यागमनमा पेस गर्नु भनेर उनले सिकाए । नक्कली भिजिट भिसा, होटल बुकिङको कागजात, डलर र दिरामको छाप हानेको राहदानी सहितको फाइल त्रिभुवन विमानस्थलमा देखाउनु भनेर दिए ।
विमानस्थलमा हुने पहिलो पुलिस चेकिङमा उनीहरूलाई कसैले कुनै सोधपुछ गरेन । १२ जना लस्कर भित्र छिरे । एयर अरबियाको काउन्टरमा पुगे । एउटै लाइनमा बसे । काउन्टरमा पुग्नासाथ उनीहरूलाई खास प्रश्न नगरी फटाफट बोडिङ पास दिइयो । ‘सबैभन्दा अच्चम त हामीलाई अध्यामगनले एक वचन पनि सोधेन,’ थप्रेक ४, तनहुका बुद्धिबहादुर वाग्लेले भने, ‘हामी यात्रु प्रतीक्षामा नपुगेसम्म ओमले छिनछिनको अपडेट लिइरहेका हुन्थे ।’
ओमले यसरी सेटिङ गरेर चारपटक गरी ३३ जनालाई यूएई पुर्याए । हिमाया सेक्युरिटीमै एसआरएस म्यानपावरबाट श्रमस्वीकृति लिएर गएका थप ५२ जना थिए । हिमायाले यूएई पुगेपछि मात्रै अन्तर्वार्ता लियो । उनीहरू सबै पास र मेडिकल फिट पनि भए । तालिम पनि भयो । ‘कम्पनीसँग सम्झौता भने गरनन्,’ बुद्धिबहादुरले भने, ‘भोली भोलि भन्दाभन्दै महिना बित्दै गए ।’ ठूलो पैसा फसेकाले उनीहरू तुरुन्तै दूतावास पनि गएनन् । ओम र एसआरएस म्यानपावरले भने अनुसार चुपचाप बस्दै गए । यस्तैमा एक दिन थाहा पाए, हिमायाले काम नै नदिई नेपाल फर्काउन लागेको छ । त्यसपछि भने उनीहरू दूतावास पुगे । ‘ऋण खोजे रआएका थियौं । कसैसँग पैसा थिएन । घरबाट फोन आउंथ्यो । घरतिर पनि वास्तविकता लुकायौं,’ तेजबहादुरले भने , ‘ओमले अझै मिलाइदिन्छन् कि भनेर चुप त बस्यौं तर हामीले ठूलो मानसिक यातनाबाट गुज्रिनु पर्यो ।’ ओमलाई दूतावासले छलफलका लागि बोलाउदा पनि गएनन् । ‘तिमीहरूले केही गर्न सक्तैनौं भन्दै लुक्दै बसे,’ उनले भने, ‘प्रधानमन्त्री दुबई आएको बेला भेटेर ज्ञापनपत्र बुझायौ । त्यसबाट केही नभएपछि ओम र बलरामको झन् सान बढ्यो ।’ दूतावासले कम्पनीसँग निरन्तर कामदारको पक्षमा ‘लबिइङ’ गरेपछि घर फर्किने हवाई टिकट र केही महिनाको न्यूनतम तलब दिएर स्वदेश पठायो । ‘हामीले दुई वर्षकै क्षतिपूर्ति पाउनुपर्ने थियो । घर फर्किन पायौं, त्यसमै खुसी हुनुपर्यो,’ उनीहरूले भने ।
कामदारहरू नेपाल फर्किए लगत्तै यूएईस्थित नेपाली दूतावासले एजेन्ट ओमबहादुर थापालाई मानव तस्करी र एसआरएस सञ्चालकलाई आर्थिक शोषण मुद्दामा कारबाही गर्न वैदेशिक रोजगार विभागलाई पत्र पठायो । एजेन्ट थापाद्वयलाई कारबाही माग गर्दै मंगलबार पीडितहरू विभागमा उजुरी दर्ता गर्न पुगे । विभागका महानिर्देशक विश्वराज पाण्डेले एसआरएस म्यानपावरका कामकारबाहीमा रोक लगाउनुका साथै सञ्चालक सुभद्रा बराललाई पक्राउ पुर्जी जारी भइसकेको बताए । ‘ म्यानपावरका सबै काम कारबाही रोक्का गरिएको छ । बरालको नाममा भएको सम्पत्ति पनि रोक्का गरिएको छ,’ उनले भने ।
पीडित कामदारका अनुसार विभागले पक्राउ पुर्जी जारी गरपछि एसआरएस म्यानपावरका सञ्चालक कार्यालय बन्द गरी फरार भएका छन् । ‘हामीलाई आठ लाख रुपयाँ दिएको भने र म्यानेजरर एकाउन्टेन्टले प्रहरी समक्ष कबुल नै गरको थियो,’ पीडित दिपेन्द्र रानाभाटले भने, ‘अहिले त म्यानपावर नै बन्द गरेर भागेछन्।’ महानिर्देशक पाण्डेले ओमबहादुर र बलरामविरुद्ध विभागले मानवतस्करी मुद्दा चलाउने बताए । ओमबहादुर दुबईबाट भारततिर छिरको पीडितहरूले बताए । – कान्तिपुरबाट