२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार र मोर्चा कति नजिक, कति टाढा ?

२० चैत्र २०७३, आईतवार ०२:११


चैत २०, काठमाडौं । सरकार र आन्दोलनरत मधेसी मोर्चामा कुन विषयमा के भइरहे छ ।

१) सीमांकन

सरकार : मन्त्रिपरिषद्बाट तीन महिनाको म्याद दिएर शक्तिशाली सीमांकन आयोग गठन गर्ने, सुझाबका आधारमा प्रदेश र केन्द्रको चुनावअघि नै संविधान संशोधन गर्ने गरी सहमतिको खोजीमा सरकार छ ।

मोर्चा : सीमांकन आयोग बनाएर जान मोर्चा पनि सहमत देखिएको छ । तर, यस्तो आयोग स्थायी हुनुपर्ने र आयोगको सिफारिस र प्रादेशिक सभाको परामर्शमा संघीय सभाको दुईतिहाइले सीमांकन हेरफेर गर्न सक्ने व्यवस्था गर्न मोर्चाको माग छ । त्यस्तै, स्थानीय तहका प्रमुख, उपप्रमुखलाई राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न नदिने मोर्चाको माग यथावत् छ ।

२) निर्वाचनको मिति

सरकार : मोर्चाको मागका आधारमा २ नम्बर प्रदेशका स्थानीय तह जनसंख्याका आधारमा थप गर्न सरकार तयार छ । तर, स्थानीय तहको संख्या थप गर्दा २ नम्बर प्रदेशको निर्वाचन भने अहिले घोषणा गरेको मितिमा हुने सम्भावना देखिँदैन । त्यसो हुँदा अन्य क्षेत्रमा ३१ वैशाखमा र २ नम्बर प्रदेशमा भने अर्काे चरणमा चुनाव गराउने गरी जान सकिनेमा सरकार तयार छ ।

मोर्चा : मोर्चाभित्रै दुई धार छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव ३१ वैशाखको पूरै चुनाव सार्ने पक्षमा छन् । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलगायतका नेता भने अन्य क्षेत्रमा ३१ वैशाखमै र २ नम्बर प्रदेशमा अर्काे चरणमा निर्वाचन गराउनुपर्ने पक्षमा छन् ।

३) संशोधन पारित 

सरकार : सीमांकनबाहेक नागरिकता, भाषा, राष्ट्रिय सभामा निर्वाचक मण्डलको व्यवस्थालगायत पाँचवटा विषयमा संविधान संशोधन संसद्मा फास्ट–ट्र्याक विधिमार्फत भए पनि अगाडि बढाउन सरकार तयार छ ।

मोर्चा : सरकारले संविधान संशोधन प्रस्ताव फास्ट–ट्र्याकको विधिबाट अगाडि बढाउनुपर्ने र त्यसलाई पारित गराउन आवश्यक संसद्को दुईतिहाइ अंक जसरी पनि पुर्याउनै पर्ने पक्षमा अडिग छ । ‘सरकार संशोधन प्रक्रिया अगाडि बढाउँछु भन्छ, पास गर्छु भन्दैन अनि कसरी विश्वास गर्ने,’ मोर्चाका नेता केशव झाले नयाँ पत्रिकासँग भने ।

नमिलेको विषय : संविधान संशोधन प्रक्रिया अगाडि बढाउँदा सकभर पारित हुने सरकारको भनाइ छ । तर, मोर्चा संशोधन प्रस्ताव पारित नै गराउनुपर्ने अडानमा छ । पारित हुने–नहुने विषयमा अहिले नै ग्यारेन्टी दिने पक्षमा सरकार छैन ।

४) चुनावमा सहभागिता

सरकार : संविधान संशोधन प्रस्ताव अगाडि बढाउने र सीमांकनका लागि आयोग गठन गर्नेमा सरकार छ । तर, त्यसलाई अगाडि बढाएपछि मोर्चाले निर्वाचनमा भने जाने प्रतिबद्धता जनाउनुपर्नेमा सरकार छ ।

मोर्चा : पहिले संविधान संशोधन प्रस्ताव पारित नै हुनुपर्ने पक्षमा मोर्चा अडिग छ ।

फरक परेको विषय : मोर्चाले अझै चुनावमा भाग लिने प्रतिबद्धता जनाउन गरेको आनाकानी ।

मिलेका विषय 

-भाषा, राष्ट्रिय सभा गठनका विषयमा संविधान संशोधन प्रस्ताव तत्कालै पारित गराउने गरी अगाडि बढाउन सरकार र मोर्चा नजिक देखिएका छन् । भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषालाई संविधानमा अनुसूची थप गरी समावेश गर्ने सहमति भएको छ ।

– संविधानको धारा २७४ को उपधारा ४, ५, ७ र ८ मा उल्लेखित प्रदेशको सिमाना संशोधन गर्न प्रदेशसभाको दुईतिहाइले स्वीकृत विधेयक मात्रै संघीय संसद्ले पारित गर्ने बुँदा र राष्ट्रिय सभामा इलेक्टोरल मतदानको अधिकार कटौतीका विषयमा संसद्मा नयाँ संविधान संशोधन प्रस्ताव लैजान दुवै पक्ष सहमत नजिक देखिएका छन् ।

– तत्काल शक्तिशाली सीमांकन आयोग गठन गर्ने, आयोगलाई तीन महिनाको समयसीमा दिने गरी त्यस्तो आयोग गठन गर्ने र आयोगले दिएको सुझाबका आधारमा केन्द्र र प्रदेशको चुनावअगाडि नै सीमांकन हेरफेर टुंग्याउने र मधेसमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप गरेर जानेमा सरकार र मोर्चाका नेता सहमतिनजिक पुगेका छन् ।

– मधेसी मोर्चाले संविधानको धारा २७४ को उपधारा ४,५,७ र ८ हटाउनुपर्ने सर्त राखेको छ । त्यसको सट्टा उसले स्थायी प्रकृतिको संघीय आयोग गठन गर्नुपर्ने भनेको छ । साथै, त्यही धारामा ‘आयोगले प्रदेशको सिमाना विवादबारे सिफारिस प्रतिवेदनलाई प्रदेशसँगको परामर्शमा संघीय संसद्को दुईतिहाइले पारित गर्ने’ व्यवस्था गर्नुपर्ने माग राखेको छ । तर, सरकार पक्षले आयोगको प्रतिवेदन सिमाना विवादका प्रदेशको सामान्य बहुमतले पास गरेपछि संंघीय संसद्को दुईतिहाइले पारित गर्ने प्रस्ताव गरेको थियो ।

विवादका नयाँ विषय

-अहिले नागरिकताको विवाद निस्किएको छ । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले अन्तरिम संविधानअनुसार अंगीकृतलाई पनि राज्यको उपल्लो तहमा अवसर दिनुपर्ने तर्क गरेका छन् । यो विषय शुक्रबारको बालुवाटार बैठकमा निस्किएको थियो ।

– मधेसमा करिब दुई लाख मतदाताको मतदाता नामावलीमा नाम छुटेकाले निर्वाचनअघि केही समय दिनुपर्ने प्रसंग उठेको थियो । त्यसबारे गम्भीरतापूर्वक छलफल भने भएको छैन ।

– मधेसमा स्थानीय तहको संख्या बढाउनेबारे सहमति देखिए पनि थप गरिएका स्थानीय तहमा निर्वाचन कहिले गर्ने भन्नेबारेमा विवाद देखिएको छ । कांग्रेसनेता रामचन्द्र पौडेलले थपिएका स्थानीय तहको निर्वाचन पाँच वर्षपछि गर्नुपर्ने तर्क गरेका थिए, त्यसको जवाफमा मोर्चाले ३१ वैशाखमै गर्नुपर्ने भनेको थियो । तर, प्रधानमन्त्रीले थप भएका स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्न सकिने धारणा राखेका थिए । मधेसमा स्थानीय तह ४८.३ प्र्रतिशत पुर्याउनुपर्ने मोर्चाको माग छ । यो प्रतिशत संघीय संसद्को जनप्रतिनिधिको प्रतिशतका आधारमा तय भएको हो ।

– मधेसी मोर्चाले अझै स्थानीय तहको निर्वाचन दलविहीन बनाउनुपर्ने धारणा राख्दै आएको छ । शुक्रबारको बालुवाटार बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उठाएको उक्त विषयमा प्रमुख दल प्रतिक्रियाविहीन हुने गरेका छन् ।

सहमतिको चर्चा चले पनि अविश्वास उस्तै

समस्या बल्झाउने गरी संशोधन गर्न सकिँदैन: सुवास नेम्वाङ एमाले उपनेता

अहिले ३१ वैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचन सफल बनाउनेतर्फ लाग्नुपर्छ । फेरि समस्या बल्झाउने गरी संशोधनका दशथरी कुरा गर्नेतर्फ जानु हुँदैन । हामीले दुईपटक प्रधानमन्त्रीसमेत उपस्थित बैठकमा भनेका छौँ, ‘के–के कुरामा सहयोग गर्नुपर्ने हो, हामीलाई चाहियो, तपाईंहरूले गरेको गृहकार्य बताउनुस् ।’ तर, त्यो अहिलेसम्म बताइएको छैन ।

मुख्य विषयमा सहमति बन्दै छ, पहिलेभन्दा नजिक छौँ: चक्रपाणि खनाल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

हामीले मोर्चासँग सहमतिको खोजीका लागि कार्यदल बनाएका थियौँ । त्यसले कतिपय विषयमा गरेको तयारी हेर्दा विषयवस्तु धेरै सकारात्मक हुँदै गएको छ । त्यसले हामीलाई नजिक ल्याउन खोजेको छ । मुख्य–मुख्य विषयमा कार्यदलले शीर्ष नेतासँगै बसेर सहमति खोज्नुपर्ने भएकाले उसले बुझाएको कार्य प्रगति विवरणमा रहेर छलफल भइरहेको छ । त्यसले हामीलाई पहिलेभन्दा नजिक ल्याएको छ ।

आन्दोलनतिर जाने वातावरण बन्दै छ: उपेन्द्र यादव फोरम अध्यक्ष

प्रधानमन्त्रीले धोका दिन खोजिरहनुभएको छ । संविधान संशोधन नगरेर विश्वासघात पनि गरिरहनुभएको छ । बालुवाटारको अस्तिको बैठकमा पनि खास केही भएको छैन र हुनेवालाजस्तो देखिएको छैन । वास्तवमा सहमति टाढिँदै गएको छ र आन्दोलनतिर जाने वातावरण बन्दै छ ।

संशोधन भए पहाड र मधेसमा फरक मितिमा चुनाव: राजेन्द्र महतो सद्भावना अध्यक्ष

प्रधानमन्त्रीले टुंगो गर्छु मात्रै भन्नुहुन्छ, परिणाम निकाल्नुहुन्न । संविधान संशोधनका लागि दुईतिहाइ कसरी पुर्याउने भन्ने उहाँको कुरा हो । संविधान संशोधन नभई स्थानीय तहको निर्वाचनमा जान सक्ने अवस्था हुँदैन । संशोधन भयो भने स्थानीय तहको निर्वाचन दुई चरणमा हुन्छ । त्यतिवेला पहिलो चरणमा ३१ वैशाखमै मधेसबाहेकको क्षेत्रमा हुन्छ । दोस्रो चरणमा मधेसमा निर्वाचन हुन्छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा