2026-09-22 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पसल सिलबन्दीको विषयमा अर्थमन्त्री-आपूर्तिमन्त्री चर्काचर्की

भदौ २४, काठमाडौं । बजार अनुगमनका क्रममा सिलबन्दी गरिएका पसलको अनुसन्धानमा अर्थ मन्त्रालयका प्रतिनिधि माग गर्न पुगेका आपूर्तिमन्त्री र अर्थमन्त्रीबीच शुक्रबार चर्काचर्की भएको छ ।

कारबाही सुरु गर्ने क्रममा अर्थका प्रतिनिधि नभएकाले अहिले प्रतिनिधि पठाउन नमिल्ने अडान अर्थका अधिकारीले राखेपछि चर्काचर्की भएको थियो। पसलको सिल खोलेर अनुसन्धान अघि बढाउन व्यवसायीले माग गरेपछि चाँडै सिल खोल्ने दबाब आपूर्तिमाथि परेको छ। 

अर्थका अधिकारीका अनुसार साढे १ बजे अर्थमन्त्रीको कार्यकक्ष पुगेका आपूर्तिमन्त्री शिवकुमार मण्डलले पसलको सिलखोल्न र प्रारम्भिक अनुसन्धानमा सघाउन अर्थमन्त्रीलाई प्रतिनिधि पठाइदिन भनेका थिए। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोधेपछि राजस्वसचिव शिशिरकुमार ढुंगानाले सिललगाउने बेलामा अर्थका प्रतिनिधिलाई नबोलाइएकाले अहिले प्रतिनिधि पठाउन नमिल्ने तर्क गरेका थिए।

उनले न्यून बिजकीकरणको शंका लागेका कागजपत्र अर्थमा पठाइदिए राजस्व अनुसन्धान विभागले अनुसन्धान गरी कारबाही गर्ने बताएका थिए। सिल खोल्ने प्रयोजनका लागि अर्थका प्रतिनिधि पठाउन नमिल्ने बताएपछि माओवादी-केन्द्रको कोटामा मन्त्री बनेका मण्डल च्याँठ्ठिन थालिहाले। ‘म बजार अनुगमनमा अर्थ मन्त्रालयले असहयोग गर्‍यो भनेर पत्रकार सम्मेलन गर्दिन्छु’, त्यही उपस्थित एक उपसचिवले मन्त्रीलाई उद्धृत गर्दै भने।

मण्डल ‘च्याठ्ठिन’ थालेपछि भद्र स्वभावका कार्की पनि अलि झोक्किएका थिए। उनले पसलमा सिलबन्दी गर्दै हिँड्ने काम मन्त्रीको होइन, विभागलाई अह्राउन पर्नेमा मन्त्री गएर के स्टन्ट गर्न खोजेको भनेका थिए।

ती उपसचिवका अनुसार कार्कीले आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई सिलबन्दी गर्न मन्त्रीलाई किन लगेको भन्दै झपारे। ‘मन्त्रीलाई यस्ता कुरा थाहा नहुन सक्छ, जान्छु भने पनि जानुहुन्न भन्नुपर्नेमा तपाईंहरू मन्त्रीलाई अघि लाएर बजार अनुगमनमा जाने’, कार्कीलाई उद्धृत गर्दै ती उपसचिवले भने।कार्कीले बोल्न थालेपछि मन्त्री मण्डल पनि शान्त भए। उनले फेरि पनि अर्थको प्रतिनिधि माग गरेका थिए, अर्थका अधिकारीले मिल्दैन भने।

बजार अनुगमनका क्रममा आपूर्ति मन्त्रालय गम्भीरताभन्दा स्टन्ट गर्न खोजेको देखिएको आरोप अर्थका अधिकारीको छ। अनुगमनका क्रममा कैफियत देखिए बिलबिजक, खातापाता, नमुना आदि लिएर प्रारम्भिक अनुसन्धान गर्नुपथ्र्यो, व्यवसाय रोक्का गर्नै पर्ने अवस्था थिएन। प्रारम्भिक अनुसन्धान गर्दा न्यून बिजकीकरण गरेको देखिए राजस्वसम्बद्ध निकायलाई र कालोबजारी देखिए आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउनुपथ्र्यो भन्ने अर्थका अधिकारीको भनाइ छ।

अनुगमनका क्रममा राजस्व विचलनको इस्यु देखिए पनि अनुसन्धान गर्न अर्थले असहयोग गरेको आरोप मन्त्री मण्डलले लगाए। ‘राजस्व छलीमा अर्थका कर्मचारीको मिलेमतो भएकाले तिनले सहयोग गर्न मानेका छैनन्’, मन्त्रीले भने।

अनुगमन टोलीले खरिद बिल र बिक्री बिल भिडाई २० प्रतिशत बढी देखिए कालोबजारी भन्दै पसल सिलबन्दी गरेको छ। जबकि कानुनले खरिदको २० प्रतिशत नभई खरिदपछि व्यापारीको हुने सबै लागत (घरभाडा, ब्याज, ह्रासकट्टी आदि) कटाएपछि २० प्रतिशतभन्दा बढी मुनाफा लिन निषेध गरेको हो।

बजार अनुगमनमा मन्त्री अघि लाएर पसलमा सिलबन्दी गर्दै हिँडेको आपूर्तिलाई सिल घाँडो भएको छ। 

अनुसन्धानका क्रममा व्यवसाय बन्द गर्न जरुरी नभएको भन्दै पसल खोलेर अनुसन्धान अघि बढाउन दबाब परेपछि सिल कसरी खोल्ने भन्नेमा मन्त्रालय छ। दरबारमार्ग विकास बोर्डले सिल खोल्दिए अनुसन्धानमा सघाउने र गल्ती गरेको भए कारबाही भोग्न तयार भएको बताएको छ। ‘प्रारम्भिक अनुसन्धानमै केही दिन लाग्ने अवस्था छ, यत्तिकै सिल खोल्दा घुस लिएको बात लाग्ने अवस्था छ’, आपूर्तिका एक अधिकारीले भने।

मन्त्री मण्डलले प्रमाण नष्ट गर्न सक्ने भएकाले कानुनको अधिकार प्रयोग गरी सिलबन्दी गरिएको बताए। ‘सकेसम्म चाँडै सिल खोलेर अनुसन्धान अघि बढ्छ’, उनले भने । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय