६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३० भदौभित्र ३ हजार कर्मचारी स्थानीय तहमा खटाइँदै

२५ भाद्र २०७४, आईतवार ०२:३१

भदौ २५, काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले ३० भदौभित्र स्थानीय तहमा कम्तीमा तीन हजार कर्मचारी खटाउने तयारी गरेको छ । 

आचारसंहिता लागू भए पनि स्थानीय तहमा कर्मचारी खटाउन निर्वाचन आयोग लचिलो भएपछि मन्त्रालयले तयारी अघि बढाएको हो । नियमित प्रक्रियाअन्तर्गत मन्त्रालयले कर्मचारी सरुवाको तयारी गरिरहेका वेला आयोगले आचारसंहिता जारी गरेपछि कर्मचारी सरुवा रोकिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएर स्थानीय तहमा कर्मचारी पठाउन आचारसंहिता खुकुलो बनाइदिन आग्रह गरेका थिए ।

आयोगको सहमति

सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले निर्वाचन आयोगले स्थानीय तहमा कर्मचारी खटाउन सहमति दिएको बताए । ‘स्थानीय तहमा कर्मचारी खटाउनुपर्छ भन्नेमा आयोग सहमत भएको छ, अब ३० भदौभित्र स्थानीय तहलाई आवश्यक पर्ने न्यूनतम कर्मचारी खटाइसक्छौँ,’ शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले भने । उनले कम्तीमा तीन हजार कर्मचारी खटाउने गरी गृहकार्य सुरु भइसकेको बताए ।

‘स्थानीय तहलाई आवश्यक कर्मचारी पठाउन यसअघि नै तयारी भइसकेको थियो,’ मन्त्री बस्नेतले भने, ‘आचारसंहिता लागेपछि केही अन्योल भएको थियो । अब आयोगको सहमतिमा कर्मचारी सरुवा गर्न बाटो खुलेको छ ।’ उनले अति आवश्यकबाहेक अन्य कार्यालयमा भने कर्मचारी नगर्ने बताए । मन्त्रालयले कर्मचारी सरुवा गर्दा लामो समय एउटै कार्यालयमा बसेकालाई सरुवा गर्ने नीति बनाएको छ ।

के–केमा आचारसंहिता लचिलो ?

१० मंसिर सम्पन्न हुने निर्वाचनका लागि जारी भएको आचारसंहिताले सरकारको मुख्य कामलाई नै प्रभावित गरेको भन्दै सरकारले एक महिना आचारसंहिता स्थगित गर्न आयोगसँग आग्रह गरेको थियो । प्रधानमन्त्री देउवाले आचारसंहिताका कारण स्थानीय तहमा कर्मचारी खटाउन नसकेको र कर्मचारी नखटाउँदा स्थानीय तहले कामै गर्न नसक्ने भन्दै शुक्रबार आयोगको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीको आग्रहपछि स्थानीय तहमा कर्मचारी खटाउने सहमति दिन आयोग तयार भएको हो । त्यही आधारमा पुनः कर्मचारी सरुवाको गृहकार्य गरेको मन्त्रालयले जनाएको छ । यसअघि स्थानीय तहका लागि मन्त्रालयले गरेको २९९ कर्मचारीको सरुवा निर्वाचन आयोगले रोकेको थियो ।

क्षेत्रीय प्रशासक र सिडियोको असहयोग

सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउन प्रमुख जिल्ला अधिकारी र क्षेत्रीय प्रशासकले असहयोग गरेको गुनासो गरेको छ । प्रमुख जिल्ला अधिकारीले जिल्लाका कार्यालयमा रहेका कर्मचारीलाई स्थानीय तहमा खटाउन चासो नदिएको मन्त्रालयको भनाइ छ । यस्तै, क्षेत्रीय प्रशासकले आफूअन्तर्गतका प्रमुख जिल्ला अधिकारीलाई कर्मचारी खटाउन जिम्मेवार नबनाएको मन्त्री बस्नेतले बताए । सिरहा र पर्साका प्रमुख जिल्ला अधिकारीले अहिलेसम्म स्थानीय तहमा एकजना पनि कर्मचारी नपठाएको उनले जानकारी दिए । त्यहाँका प्रमुख जिल्ला अधिकारीहरूले बाढी र डुबानका कारण देखाउँदै कर्मचारी नखटाएका हुन् । तर, जिल्ला प्रशासन कार्यालय सिरहाका एक कर्मचारीले ट्रेड युनियनकै कारण कर्मचारी खटाउन नसकेको बताए । ट्रेड युनियनको बलमा कर्मचारी सदरमुकाममै बस्न खोज्ने र प्रमुख जिल्ला अधिकारीहरू कमजोर भएर प्रस्तुत हुँदा कर्मचारी खटाउन नसकेको स्रोतको दाबी छ । मन्त्री बस्नेतले समेत केही प्रमुख जिल्ला अधिकारीहरूले ट्रेड युनियनसँग डराएर कर्मचारी खटाउन नसकेको बताए ।

दसैँपछि समायोजन

मन्त्री बस्नेतले राज्य व्यवस्था समितिमा विचाराधीन कर्मचारी समायोजन विधेयकलाई चाँडै संसद्मा पेस गर्ने बताएका छन् । दसँैअघि नै समायोजन ऐन संसद्ले पारित गर्ने र त्यसपछि समायोजन थाल्ने उनले बताए । ‘समायोजन ऐनका आधारमा नियमावली र मापदण्ड बनाउनुपर्नेछ । त्यसपछि धमाधम समायोजनको काम सुरु हुन्छ । दसैँपछि कर्मचारी समायोजन प्रक्रिया अघि बढ्छ,’ बस्नेतले भने ।

उनले संघीय निजामती सेवा ऐन र प्रादेशिक निजामती सेवा ऐनको विधेयक चाँडै टुंग्याउने बताए । एक साताभित्र दुवै ऐनको विधेयक टुंग्याउने र जतिसक्दो संसद्मा पेस गर्ने तयारीमा मन्त्रालय रहेको उनको भनाइ छ । प्रादेशिक निजामती सेवा ऐन कस्तो बन्छ भन्ने अन्योलले कर्मचारी स्थानीय तहमा जान डराएको भन्दै मन्त्री बस्नेतले सो विधेयक पनि संसद्बाट चाँडै टुंग्याउन पहल गर्ने बताए ।

गाउँपालिका–नगरपालिकामा न्यूनतम र वडामा एक कर्मचारी

सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहमा कार्यकारी अधिकृतसहितको न्यूनतम दरबन्दी पूर्ति हुने गरी सरुवा गर्ने जनाएको छ । मन्त्री टेकबहादुर बस्नेतले स्थानीय तहमा कार्यकारीसहित न्यूनतम कर्मचारी र हरेक वडामा कम्तीमा एकजना कर्मचारी खटाउने बताए । ‘स्थानीय तहलाई कर्मचारी नपठाई काम गर भनेर हुँदैन । कार्यकारीसहितको न्यूनतम र हरेक वडामा एकजना कर्मचारी खटाउँछु,’ मन्त्री बस्नेतले भने ।

नजाने कर्मचारीको तलब रोक्का

मन्त्रालयले विनासर्त कर्मचारीलाई स्थानीय तहमा खटाउने जनाएको छ । ‘सेवा दिएबापत हरेक कर्मचारीलाई राज्यले तलब–भत्ता दिन्छ, अवकाशपछि दिने पेन्सन भार राज्यले थेग्न नसक्ने भइसक्यो,’ मन्त्री बस्नेतले भने, ‘०६४ सालमा भएको एक तह बढुवाले पनि केही परिणाम आएन । अब यही सेवासुविधामा कर्मचारीले राज्यको सेवा गर्नुपर्छ ।’ उनले कुनै कर्मचारी खटाएको ठाउँमा नगए निजामती सेवा ऐनअनुसार कारबाही हुने बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति