2026-07-24 10:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी परे देवनारायण भारतीय जेलमा

असोज १८, काठमाडौँ । अपहरण आरोपमा सप्तरी तिलाठीका देवनारायण यादव र उनका छोरा अजयकुमार तीन दिनदेखि भारतीय कारागारमा छन् । 

भारतीय प्रहरीले दुवैमाथि कुनौलीकी युवती ज्योतिकुमारी साह अपहरण गरेको मुद्दा लगाएको छ । सुपौल जिल्लास्थित अनुमण्डल व्यवहार न्यायालय वीरपुर अदालतमा मंगलबार दुवैको रिहाइका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढ्ने बताइएको थियो । तर, अदालतमा कर्मचारी अभाव देखाएर प्रक्रिया रोकिएको छ ।

आफ्नो अपहरणको आरोपमा भारतीय प्रहरीले पति र ससुरालाई पक्राउ गरी कारागारमा राखेपछि ज्योतिकुमारी बयान दिन मंगलबार वीरपुरस्थित अदालत पुगेकी थिइन् । उनले बुधबार अदालतमा बयान दिने भएकी छिन् । भारतीय प्रहरीले शनिबार साँझ अजयकुमारलाई र आइतबार देवनारायणलाई पक्राउ गरेको थियो । तीन दिनदेखि सुपौल जिल्लाको वीरपुर कारागारमा रहे पनि उनीहरूको रिहाइका लागि नेपाल सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन ।

स्थानीय प्रशासनको ढिलाइले देवनारायणको रिहाइ अन्योल

यादव बाबुछोराको रिहाइका लागि पहल गर्न सोमबारै गृहमन्त्री जनार्दन शर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेलाई निर्देशन दिएका थिए । पाण्डे सम्मिलित जिल्ला सुरक्षा प्रमुखहरूको टोलीले मंगलबारबाट मात्र घटनाबारे भारतको सुपौल जिल्लास्थित कुनौली थानासँग औपचारिक जानकारी लिएको छ ।

टोली मंगलबारै बिहान तिलाठी गाउँपालिकास्थित देवनारायणको घरमा पुगेर घटनाबारे जानकारी लिएको छ । प्रजिअ भगीरथ पाण्डे, नेपाल प्रहरीका उपरीक्षक मुकेशकुमार सिंह र सशस्त्र प्रहरी उपरीक्षक रामआधार यादवसहितको टोलीले अपहरण भएको भनिएकी ज्योतिकुमारी साहसँग बयान लिएको थियो । ज्योतिले आफ्नो अपहरण नभई अजयसँग विवाह गरेको बताएकी थिइन् । ‘मैले राजीखुसी अजयसँग विवाह गरेकी हुँ । अहिलेको घटनाक्रम षड्यन्त्रमूलक छ,’ उनको भनाइ थियो । ज्योतिले अजयसँग भागेर विवाह गरेकी हुन् ।

के हो एक वर्षअघिको घटना

एक वर्षअघि भारतीयहरूले खाँडो नदीमा बाँध बाँधेपछि नेपालतर्फको तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियासहितका गाविस डुबानमा परेका थिए । सो बाँध भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र कुनौलीका स्थानीयले नेपाली भूमि मिचेर बनाएका थिए । आधा दर्जनभन्दा बढी गाविस डुबानमा परेपछि हजारौँ नेपाली नागरिक विस्थापित हुने अवस्था सिर्जना भएको थियो । सोही वेला देवनारायण यादवकै नेतृत्वमा नेपालीहरूले बाँध भत्काइदिएका थिए । बाँध भत्काउने क्रममा भारतीय र नेपालीबीच दोहोरो झडपसमेत भएको थियो । झडपमा भारतीयसहित आठ नेपाली घाइते भएका थिए । झडपमा यादव पनि गम्भीर घाइते भएका थिए । उनको टाउकोमा आठ टाँका लागेको थियो।

उनलाई ‘राष्ट्रिय स्वाभिमानका लागि युवा अभियान’ नेपाल नामक संस्थाले काठमाडौं ल्याएर सम्मानसमेत गरेको थियो । भारतीय अतिक्रमणविरुद्धको योद्धाका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित यादव त्यही घटनाबाट भारतीय प्रशासनको तारो बनेका थिए । भारतीय प्रहरीले घटनाको प्रमुख दोषीको रूपमा यादवलाई राखेर प्रतिशोध राखेको थियो । उनलाई त्यही एक वर्षअघिको मुद्दामा फसाइएको स्थानीयको दाबी छ ।

को हुन् देवनारायण

०१५ मा तिलाठीमा जन्मिएका देवनारायण ०२८ देखि राजनीति र समाजसेवामा सक्रिय छन् । ०४८ को स्थानीय निर्वाचनमा उनले स्वतन्त्र रूपमा वडा सदस्य जितेका थिए । यसपछि लामो समय कांग्रेस राजनीति गरे । सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल सप्तरीका अध्यक्ष भएपछि सीमावर्ती क्षेत्रका समस्यासँग नजिक भए ।

भारतीयहरूले सीमा क्षेत्रमा नेपालीलाई गर्ने हेपाहा व्यवहारविरुद्ध उनी निरन्तर लड्दै आएका थिए । उनी गत वर्ष १३ साउनको घटनापछि धेरै चर्चामा आएका हुन् । त्यही घटनाबाट चर्चामा आएका यादवलाई सरकारले जनसेवाश्रीबाट सम्मान गरेको थियो । यादवले ‘सीमा रक्षक’को रूपमा प्रसिद्धि कमाएका छन् ।

ज्योतिको उमेर १८ वर्ष

अपहरणमा परेकी भनिएकी ज्योतिकुमारी १८ वर्ष पुगेको पाइएको छ । उजुरीमा भने उनलाई नाबालक भनिएको छ । भारतमै बनेको आधारपत्रमा ज्योतिको जन्म सन् १९९९(०२(०१ लेखिएको छ । सो आधारपत्रका आधारमा उनको उमेर १८ वर्ष पुगेको देखिन्छ । ज्योतिकुमारीका दाजु सञ्जितकुमारले भारतको कुनौली थानामा दिएको उजुरीमा नाबालिका बहिनीलाई सप्तरीको तिलाठीनिवासी अजयकुमार यादव, उनका बाबु देवनारायण यादवसहित चारजनाले अपहरण गरेको आरोप लगाएका छन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक