कात्तिक १९, काठमाडौँ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् ।

घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन । किशोरीलाई सामूहिक बलात्कार गर्ने एक युवक वडा अध्यक्षका छोरा पनि रहेका कारण वडा अध्यक्षकै दबाबमा प्रहरीले उनीहरुलाई पक्राउ नगरेको हो ।

किशोरीलाई बलात्कार गर्ने वडा नम्बर ४ का अध्यक्ष जुमादीन अन्सारीका २२ वर्षीय मुख्तार अन्सारी र उनका एक साथीलाई प्रहरीले वडा अध्यक्ष जुमादीनको दबाबमा पक्राउ गर्न चासो नदेखाएको पीडित किशोरीका दाजुले बताए ।

बलात्कृत किशोरीको संवेदनशील अंगलबाट अत्याधिक रक्तश्राव भइरहेकाले नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कात्तिक १२ गते उखु बारीमा बाख्राका लागि घाँस काट्न गएकी किशोरीलाई मोटरसाइकलमा सवार वडाध्यक्ष जुमादीनका छोरा मुख्तार र उनका साथी अन्सारी बाबुले जबरजस्ती समातेर मुख थुनी उखु बारीमा लगेर पालैपालो बलात्कार गरेका थिए ।

किशोरीलाई बलात्कार गर्ने क्रममा ती दुवै युवकलाई उनीहरुका साथी हरिशंकर दास तत्वा, रुस्तम अन्सारी र ओली आलम अन्सारीले सघाएका थिए । जबरजस्ती करणी गरेपछि पीडित किशोरीलाई बेलुकी गाउँदेखि पर एकान्तमा रहेको ओली आलमको घरमा रातभर थुनेर राखेका थिए । घटनाको भोलिपल्ट कात्तिक १३ गते ओली आलम, रुस्तम र हरिशंकरले पीडित किशोरीलाई वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएर मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै उपचार गराएर गाउँमा लगि छाडिदिएका थिए ।

मोटरसाकलमा जबरजस्ती चढाएर उखुबारीमा लगेपछि कुटपिट गर्दै खेतमा पछारेर मुख्तार र अन्सारीले पालैपालो मसँग नाजायज काम गरे, त्यसबेला उनीहरुका साथी हरिशंकर, रुस्तम र ओली आलमले पनि सघाए, नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी पीडित किशोरीले भनिन्, ‘त्यसपछि बेलुकी ओली आलमको घरमा मलाई रातभर थुनेर राखे, भोलिपल्ट वीरगन्जको अस्पतालमा ओली आलम, रुस्तम र हरिशंकरले ल्याएर मोटरसाइकल दुर्घटनामा घाइते भएको बहाना बनाएर उपचार पनि गराए र त्यसपछि गाउँमा लगेर छोडिदिए ।’

घटनाका बारेमा थाहा पाएपछि पीडित किशोरीका अभिभावकले बलात्कार गर्ने मध्येका युवक मुख्तारका बुबा एवम् वडा अध्यक्ष जुमादिनसँग बुझ्दा जुमादिनले तीन जना छोराका साथमा आएर आफू, श्रीमती र छोरीलाई कुटपिट गरी घाइते बनाएको पीडित किशोरीका दाजुले बताए ।

बलात्कार र कुटपिटको घटनाका बारेमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा कात्तिक १६ गते लिखित जाहेरी दिएको भएपनि प्रहरी निरीक्षक महेश बस्नतले कुटपिट गर्ने वडा अध्यक्ष जुमादीन, बलात्कार गर्ने उनका छोरा मुख्तार र उनका साथीलाई पक्राउ नगरेको पीडित किशोरीका दाजुले बताए ।

आरोपित मुख्तारका बुवा एवम् वडा अध्यक्ष जुमादिनले केही रकम लेनदेन गरेर घटना सामसुम पार्न पटक–पटक धम्की दिइरहेको पनि उनले बताए । घटना बारेमा जानकारी लिने क्रममा शनिबार इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक बस्नेतको मोबाइलमा फोन गर्दा उनले मोबाइल प्रहरी नायव निरीक्षक अमर भण्डारीलाई थमाइ दिएका थिए ।

‘इन्स्पेक्टरसाबलाई सबै कुरा थाहा छ, मोबाइलमा कुरा गर्दै प्रहरी नायव निरीक्षक भण्डारीले भने, ‘ उहाँ अहिले जिल्ला बाहिर हुनुहुन्छ, मैले यस बारेमा केही भन्न सक्दिन । पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले भने घटना बारेमा अनुसन्धान जारी रहेको बताए ।

बलात्कार गर्ने मध्येका मुख्तारका बुबा एवम् वडा अध्यक्ष जुमादिन शुक्रबार जिल्ला प्रहरी कार्यालयमै आएका बेलामा पनि प्रहरीले उनलाई पक्राउ गरेन । प्रहरी उपरीक्षक रेग्मीले शुक्रबार पीडित किशोरी र उनका अभिभावलाई आफनो कार्यकक्षमा बोलाएर घटनाका बारेमा जानकारी लिइरहँदा वडाअध्यक्ष एवम् बलात्कार गर्ने युवक मुख्तारका बाबु जिल्ला प्रहरी कार्यालय परिसरमै थिए । तर उनलाई प्रहरीले पक्राउ नगरेको पीडित किशोरीका आफन्तले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले भने आरोपित युवकहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको बताए । पीडित किशोरीले आरोप मात्र लगाएको र उनलाई शुक्रबार स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको भन्दै उनले भने, ‘पीडित पक्षबाट लिखित उजुरी पनि आएको छैन, हामीले पीडितहरुलाई बोलाएका छौं , उनीहरु अहिलेसम्म आइपुगेका छैनन् ।’ -अन्नपूर्ण पोष्ट दैनिक