पुस २३, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठबन्धन सक्रिय भएको छ ।

चुनावी गठबन्धन गर्दै पार्टी एकीकरण गर्ने घोषणा गरेको वाम गठबन्धनलाई फुटाएर आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न मधेसवादी गठबन्धन सक्रिय देखिएको हो ।

आजको राजधानीमा खबर छ-संविधान संशोधनको मुद्दा अघि सारेका राजपा र संघीय फोरमले विगतमा आफ्नो पक्षमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नयँ सरकारलाई आफ्न समर्थन हुने बताउँदै आएका छन्।

विगतमा संविधान संशोधनको विपक्षमा रहेको एमालेसँगको गठबन्धनबाट प्रचण्डलाई टुटाउँदा आफ्नो मुद्दा अघि बढ्ने विश्वास फोरम र राजपाले गरेका छन्।

पार्टी एकीकरणको प्रक्रियामा रहेकै समयमा शनिबार राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेस र मधेसीको अधिकार पूरा गर्ने सवालमा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा माओवादी अध्यक्ष प्रचण्ड सकारात्मक रहेको बताए।

‘मैले पहिले पनि भनेको छु, आज पनि भन्छु, संघीयता समावेशी समानुपातिक पक्षमा काम गरेका लिडर भनेको दाहाल नै हो’ झाले भने ‘ मधेस र मधेसीको अधिकारका लागि ओलीभन्दा दाहाल सकारात्मक रहेकाले दाहाल नै नयाँ सरकारको प्रधानमन्त्री हुँदा राम्रो हुन्छ।’