२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आजाद भिसा’ का नाममा तस्करी: कतारमा ४० नेपाली अलपत्र, के हो ‘आजाद भिसा’ ?

२०७४, २ चैत्र शुक्रबार ०२:२५

चैत २, काठमाडौं – चाहेजस्तो काम र तलब पाइने भन्दै संगठित दलालले ‘आजाद भिसा’ मार्फत कतार पुर्‍याएका ४० नेपाली कामदार बिचल्लीमा परेका छन् । म्यानपावर र कतारका साना कम्पनीसँग समन्वय गरी दलालले आजाद भिसाका नाममा ४० नेपाली कामदारसँग झन्डै ७० लाखभन्दा बढी ठगी गरेका छन् । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

पीडित कामदारका अनुसार मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले आजाद भिसाका नाममा कामदार पठाई ठगी गरेका हुन् । अलपत्र परेका कामदार कतारको बक्रा, सनैया र साँहनिया क्षेत्रमा खान पनि नपाउने अवस्थामा छन् ।


ती म्यानपावरले प्रतिकामदार १ लाख ८० हजारदेखि २ लाख ३५ हजार रुपैयाँसम्म ठगी गरेका हुन् । म्यानपावरले कतारस्थित ताज ट्रेडिङ कन्स्ट्रक्टिङ, प्रोजेक्ट सपोर्ट ट्रेड्रिङ, कोमिला कन्स्ट्रक्सन, क्युप्लस ट्रेडिङ र फोल्रा ट्रेडिङ कम्पनीको स्पोन्सरमा पठाएका थिए । कतारस्थित नेपाली दूतावासका अनुसार यी कामदारको भिसा संखुवासभाका आशिष दाहाल र चितवनका कृष्णबहादुर लामालगायतले निकालेका हुन् ।

के हो ‘आजाद भिसा’ ?

कतारी श्रम मन्त्रालयका अनुसार ‘आजाद भिसा’ भन्ने कुनै भिसा नै छैन । कतारमा कामदारका लागि दुई प्रकृतिको व्यक्तिगत (घरेलु कामदार) र संस्थागत (कम्पनी) को मात्रै भिसा हुन्छ । कम्पनीको स्पोन्सरसिपमा निस्कने भिसालाई नै दलालले आफूअनुकूल ‘आजाद भिसा’ को नाम दिने गरेका छन् । दलालले यो भिसामा जानेले स्वतन्त्र भएर इच्छाअनुसार काम गर्न र मनग्य पैसा पाइने भन्दै कामदारलाई प्रलोभन दिई पैसा असुल गर्ने गर्छन् । यस्तो नामका भिसाको कारोबार गर्नेलाई कतार सरकारले मानव तस्करीविरुद्ध अपराधमा मुद्दा चलाउने गरेको छ । पीडित कामदार न्यायका लागि कतारी निकायमा प्रमाणसहित नपुग्दा ती संगठित दलालले फाइदा उठाइरहेका छन् ।

यही भिसामा जाने भन्दै सर्लाहीका चन्द्रबहादुर भण्डारीले मिडल अर्विट म्यानपावरका सञ्चालकलाई २ लाख ३५ हजार रुपैयाँ बुझाएका थिए । यही भिसामा पुगेका तेह्रथुमका सुमन भण्डारीले भने, ‘१७ सय रियालको काम सजिलो काम पाइन्छ भनेर म्यानपावरले पठाएको थियो । दुई महिना भइसक्यो कामै पाएको छैन ।’

गुमराहमा श्रम स्वीकृति

कामदार पठाउन मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले वैदेशिक रोजगार विभागबाट सबै प्रक्रिया पूरा गरेर श्रम स्वीकृति निकालेका हुन् । वैदेशिक रोजगार ऐनका अनुसार जुन कम्पनीका लागि श्रम स्वीकृति निकालेको हो, त्यही कम्पनीमा काम गराउनुपर्छ । तर, यी म्यानपावरले त्रिभुवन विमानस्थल कटाउनका लागि श्रम स्वीकृति निकालेका हुन् । ‘हामीलाई कतार पुगेपछि अर्को कम्पनीमा सुरक्षा गार्डको काम दिलाउँछु, त्यसका लागि आशिष दाहालले काम खोजिदिन्छ भनेर पठाएको थियो,’ १ लाख ८० हजार रुपैयाँ बुझाएर कतार पुगेका रसुवाका धर्मसिंह गुरुङले भने, ‘यता आइसकेपछि थाहा पाउँदा त अर्कै रहेछ ।’

राम्रो काम र तलब पाइन्छ भनेर नै आजाद भिसामा आएको पीडित सहदेव गौतमले बताए । ‘खोजी खोजी मन लागेको काम गर्न पाइन्छ भनिएको थियो,’ उनले भने, ‘यता आएपछि थाहा भयो, आजाद भन्ने केही हुँदैन रहेछ । कम्पनीकै भिसा रहेछ । त्यो कम्पनीले अर्कोमा जान अनुमति नदिएसम्म कतै जान नपाइनेरहेछ ।’ पीडितहरूको सम्पर्कमा ती दलाल छैनन् । पीडितसँग समन्वय गरिरहेका बीबी खरालले विभाग र कामदारलाई झुक्काउने म्यानपावरलाई कारबाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट