पढ्न करिब 2 मिनेट लाग्छ

चैत ६, काठमाडौं | पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर बनेका तीन बेग्लाबेग्लै पार्टीका नेताहरूसँग छलफल गरेका छन् । कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)का तीन–तीन नेता भेला गरेर एउटै पार्टी बनाउन छलफल गरेका हुन् ।

राप्रपाबाट उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्यद्वय भास्कर भद्रा र प्रह्लाद शाह, राप्रपा प्रजातान्त्रिकबाट महामन्त्री राजाराम श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय सुरेश आचार्य र सगुन लावती, राप्रपा राष्ट्रवादीका नेताहरू केशव श्रेष्ठ, तारा लुइँटेल र डा. सुषमा आचार्य छलफलमा सहभागी थिए ।

आइतबार साँझ झापाको दमकस्थित हिमालय चिया बगानमा भएको छलफलमा पूर्वराजा शाहले तीन वटा राप्रपा पुनर्गठन गरेर एउटै राप्रपा बनाउनुपर्नेमा जोड दिएका छन् । केही दिनदेखि आफ्नै स्वामित्वको उक्त चिया बगानमा रहेका शाहले अपराह्न ४ साँझ ७ बजेसम्म लन्चसहित छलफल गरेका थिए । मुलुकको समसामयिक विषयमा छलफल भएको सहभागी नेता केशव श्रेष्ठले बताए । ‘सरकारले हामीसँग लन्चसहित तीन घन्टा वर्तमान राजनीतिक अवस्था र बिग्रँदो परिस्थितिबारे छलफल गर्नुभयो,’ श्रेष्ठले भने, ‘जनताले संयुक्त नेपाल खोजेका छन्, श्री ५ महेन्द्रले सुरु गरेको संयुक्त नेपाल अभियानअनुसार मुलुक चल्यो भने समृद्धिका ढोका खुल्न सक्छन् भन्ने उहाँको मनसाय हामीले पायौँ ।’

पार्टी एकीकरण गर्न सुझाब

राप्रपामा देखिएको गुट र फुटले कसैको हित नभएको भन्दै पुनः एकीकरणमा जान पूर्वराजाले नेताहरूलाई सुझाएका थिए । ‘म तपाईंहरूका पार्टीको संरक्षक पनि होइन, म राजनीतिमा छैन, राजनीति गर्ने पनि होइन, तर आज तपाईंहरू गुट बनाएर, फुटेर कसैको हित भएन भन्ने प्रमाणित भयो,’ पूर्वराजाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी राप्रपा केन्द्रीय सदस्य शाहले भने, ‘त्यसबारे सोच्नुस् । म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा टार्गेट बनाएर तपार्इंहरू अगाडि बढ्दा उपयुक्त हुन्छ ।’ उनले राप्रपाका सबै समूह एक हुनुपर्ने र पार्टी पुनर्गठन गरिनुपर्ने बताएका थिए ।