Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

यी हुन् मोबाइल नबोक्ने ‘ठूला मान्छे’

By साझासवाल 12 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १५, काठमाडौँ | एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् । कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला पनि ऊ त्यसमै रमाइरहेको छ । प्रविधिको सबैभन्दा सजिलो उत्पादन मोबाइल त अहिले मानिसको दैनिक जीवन नै भइसकेको छ । मानिस हरपल मोबाइलमा गफिइरहेको हुन्छ, म्यासेन्जरको च्याटिङमा व्यस्त भइरहेको हुन्छ।

मानिसले आफ्नो दैनिक कार्यतालिका मोबाइलबाटै निर्धारण गर्छ । दूरदराजको काम तत्काल मोबाइल फोनकै भरमा गर्न सक्छ । अर्थात् मोबाइलले मानिसको आधा क्षमताको विकास र समय बचत गरेको हुन्छ । त्यसैले, अहिले मोबाइलविनाको जीवन कसरी सम्भव होला भन्ने बहस सुरु भएको छ । त्यसो भए, मोबाइल नबोक्दा दैनिक कार्यतालिका चल्न सम्भव नै छैन त ? धेरैलाई लाग्छ, मोबाइल नबोक्नु वा नचलाउनु आफैँलाई दुःख दिनु हो । यस्तो अवस्थामा पनि समाजका केही नागरिक अगुवाको दैनिकी मोबाइलविना नै चलिरहेको छ । मोबाइलविना पनि नियमित र समयबद्ध दैनिक कार्यतालिका सञ्चालन सम्भव छ भन्ने उनीहरूको जीवन पद्धतिले देखाएको छ ।

निजी सचिवको मोबाइलमा कुराकानी

शेरबहादुर देउवा, सभापति, कांग्रेस

कांग्रेस सभापति शेरबहादुर देउवा चारपटकसम्म प्रधानमन्त्री भइसकेका छन् । उनी पहिलोपटक प्रधानमन्त्री भएका वेला नेपालमा सूचना, सञ्चार तथा प्रविधिको विकास भएको हो । तर, देउवा आफैँ भने निजी मोबाइल फोन प्रयोग गर्दैनन् । मोबाइल नबोके पनि उनले स्वकीय सचिव भानु देउवाको मोबाइलबाट कुराकानी गर्ने गरेका छन् । कांग्रेस सभापति देउवासँग कुराकानी गर्नुपर्ने भए वा भेटघाटका लागि समय मिलाउनुपरेमा भानु देउवाको मोबाइल टिपाउने गर्छन् । कांग्रेस नेताहरू मात्र होइन, अन्य दलका नेता तथा कूटनीतिक नियोगबाट कुराकानी गर्नुपर्ने भएमा पनि उनकै मोबाइल  प्रयोग हुन्छ ।

मोबाइलले व्यक्तिलाई असामाजिकीकरण बनायो

केदारभक्त माथेमा, शिक्षाविद्

शिक्षाविद् केदारभक्त माथेमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति र पूर्वराजदूत पनि हुन् । जापानका लागि नेपाली राजदूत माथेमा मोबाइलविना पनि निरन्तर सक्रिय छन् । त्रिविको उपकुलपति र राजदूतको जिम्मेवारीमा रहँदा पनि उनले मोबाइल बोकेनन् । माथेमाले प्रविधि विकासको असन्तुष्टिले मोबाइल नबोकेका भने होइनन् । अधिकांश मानिस फेसबुक, ट्विटर, भाइबरलगायतका सामाजिक सञ्जालमा सक्रिय हुन्छन् । केही मानिस भने यी सबै चिजबाट टाढा हुन्छन् । शिक्षाविद् माथेमा इन्टरनेटबाट टाढा छैनन्, तर मोबाइल भने बोक्दैनन् । माथेमासँगको सम्पर्क माध्यम भनेको इमेल वा घरको ल्यान्डलाइन टेलिफोन हो । ‘जापानको राजदूत हुँदा मोेबाइल बोकिनँ, अहिले त झन् के बोक्नु भन्ने लाग्छ,’ माथेमाले नयाँ पत्रिकासँग भने, ‘छोरीले एउटा मोबाइल किनिदिएकी छिन्, तर चलाउने गरेको छैन ।’

मोबाइल नबोक्ने डाक्टर

डा. सुन्दरमणि दीक्षित, नागरिक अगुवा

डा. सुन्दरमणि दीक्षित अधिकारकर्मीका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ पनि हुन् । पेसागत धर्म र नागरिक अगुवाइको नेतृत्वकर्ताको हैसियतले पनि उनी निरन्तर सम्पर्कमा रहनुपर्ने मानिस हुन् । सबैसँग सहज सम्बन्धका लागि दीक्षितले मोबाइल बोक्नुपर्ने हो । तर, उनले अहिलेसम्म मोबाइलविनै आफ्नो दैनिकी चलाउँदै आएका छन् । बिरामीलाई चिकित्सकीय सेवा प्रदान गर्न उनी निजी निवास र अफिसको फोन प्रयोग गर्छन् । समयप्रति निकै सचेत रहने दीक्षितले ल्यान्डलाइनबाटै सबै कार्यक्रमको तालिका तय गर्दै आएका छन् ।

मोबाइलबाट मानसिक दिग्दारी हुन्छ

कृष्ण पहाडी, नागरिक अगुवा

०६२/६३ को जनआन्दोलनका वेला प्रखर वक्ताको छवि बनाएका अधिकारकर्मी कृष्ण पहाडी आन्दोलनको नेतृत्वकर्ता नै थिए । यस आधारमा भन्नुपर्दा पहाडीको सबैभन्दा बढी व्यक्तिसँग सम्पर्क र सम्बन्ध हुनुपर्ने हो । त्यसका लागि जति सकिन्छ त्यति धेरै सामाजिक सञ्जाल र मोबाइल प्रयोग हुनुपर्ने हो ।  तर, उनी मोबाइल, फेसबुक र ट्विटर प्रयोग गर्दैनन् ।

पहाडीले किन मोबाइल बोकेनन् भन्नेमा कुनै विशेष कारण भने छैन । ‘पहिलादेखि नै बोकिएन, त्यसकारण बोक्न खास मन लागेको छैन,’ उनले भने । पहाडीले दैनिक सम्पर्कका लागि बिहान–बेलुका घरको ल्यान्डलाइन फोनमा कुराकानी हुने र दिउँसो अफिसको टेलिफोनमा कुराकानी हुने भएकाले मोबाइल आवश्यक नपरेको बताए । उनी साँझ ६ बजे घर पुगिसकेका हुन्छन् भने बिहान ९ बजेसम्म घरमै हुन्छन् । त्यतिवेलासम्म उनलाई घरमा कुराकानी गर्न सकिन्छ भने दिउँसो उनलाई शान्ति समाजको कार्यालयमा भेटिन्छ । त्यसबाहेक पहाडीसँग इमेलमा कुराकानी गर्न सकिन्छ ।

घरको फोन छँदै छ

विहारीकृष्ण श्रेष्ठ, पूर्वप्रशासक

पूर्वसचिव विहारीकृष्ण श्रेष्ठ नेपालमा उपभोक्ता समूह र आमा समूहको अवधारणा ल्याएर चर्चामा आएका प्रशासक हुन् । नेपालमा विकेन्द्रीकरणको पहिलो ऐन ल्याउने श्रेय उनैलाई जान्छ । त्यति मात्र होइन, इलाका विभाजनको सुरुवाती अवधारणा पनि उनैले ल्याएका थिए । कुनै वेला उनी राजा वीरेन्द्रको प्रिय प्रशासकसमेत थिए । वीरेन्द्रका महत्वपूर्ण भाषण उनैले लेख्थे । तैपनि श्रेष्ठ मोबाइल प्रयोगकर्ता भने होइनन् । मोबाइल प्रयोग नगरेकै कारण त्यति ठूलो समस्या महसुस नगरेको उनी बताउँछन् । तर, गाडी जाममा परेर कार्यक्रम वा घरमा ढिला हुँदाचाहिँ मोबाइल भइदिए खबर गर्न हुन्थ्यो जस्तो उनलाई नलागेको भने होइन । ‘यसका बाबजुद पनि मोबाइल बोक्न रुचिकर भने लागेन,’ श्रेष्ठले भने ।

खराबीले नबोकेको होइन

सत्यमोहन जोशी, संस्कृतिविद्

सत्यमोहन जोशी संस्कृतिविद् हुन् । उमेरले झन्डै शताब्दी टेक्न लागेका जोशी पछिल्लो पुस्ताको आकर्षण रहेको मोबाइलमा त्यति धेरै चासो राख्दैनन् । मोबाइलबाट उत्पन्न खराबी वा समस्याका कारण उनले मोबाइल नबोकेका भने होइनन् । अहिलेसम्म आफूले मोबाइलको आवश्यकता नै महसुस नगरेको उनी बताउँछन् । सूचना तथा प्रविधिको विकासबारे उनको रुचि नै छ । ‘कुनै समस्याका कारण मैले मोबाइल नबोकेको होइन,’ जोशीले भने, ‘मलाई अलि शान्त जीवन मन पर्छ ।’  – नयाँ पत्रिकाबाट