मङ्सिर १४, काठमाडौं | गोंगबु प्रयासमार्गस्थित स्वस्तिका गेस्टहाउसमा गाडीचालकका रुपमा महेन्द्र एस्केले नियुक्ति पाएको एक महिना मात्र भएको छ ।

उनले पाएको १३ हजार तलबमा चित्त बुझेको थिएन । होटेल साहुसँग उनको विवाद पनि हुँदै आएको थिए ।

उनको प्रतिशोध र आपराधिक मानसिकताको सिकार बने होटेल साहुका ८ बर्षीय छोरा प्रयास कुँवर । प्रहरीका अनुसार महेन्दले चार दिनअघि नै अपहरण र हत्याको योनजा बनाएका थिए ।

मंगलबार साँझ उनले उपयुक्त समय पाए । साँझ करिब ६ बजेको थियो । बालकका आमा बुबा अस्पताल गएको मौका छोपी उनले अपहरण गरेका थिए ।

महेन्द्रले दिएको बयानअनुसार बालकलाई फकाउनउनले ५० रुपैयाँको क्याटबरी चकलेट किनिदिएका थिए । प्रयासलाई फकाउँदै घुम्न जाने आस देखाएर नार्गाजुनतिर लगे ।

एकान्त सडकमा गाडी रोकेर मुख थुनिदिए, घाँटी थिचेर हत्या गरे । झोलामा शव राखेर खोलामा फाले ।

प्रयासको अपहरण र हत्या ४५ मिनेटभित्रै भएको खुलेको छ ।

- यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।