असार ८, काठमाडौँ | बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ ।

शनिबार मनसुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय रह्यो । गएरातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन पश्चिम पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भेगबाट मनसुन भित्रिए पनि त्यो क्षेत्रमा भने मनसुन कमजोर छ । पश्चिम क्षेत्रमा पानी पर्दा खोलाको सतह बढ्ने र पहाडी भेगमा पहिरो जाने सम्भावना रहेको उनले बताए ।

महाशाखाले शनिबार विशेष खबर जारी गर्दै मध्य र पश्चिममा देखिएको बादलको प्रणाली शक्तिशाली भई पश्चिमतिर सरिरहेको जनाएको छ । त्यसैले शनिबार दिउँसो, राति र आइतबार पश्चिमका धेरै स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

काठमाडौँमा भने शनिबार अबेरसम्म पानी पर्ने र रोकिने भए पनि आइतबार फाटफुट मात्र वर्षा हुनेछ । न्यूनचापीय मनसुनको बादल तय भए पनि यो परिपक्व हुन अझै समय लाग्ने महाशाखाले जनाएको छ ।

मनसुन भित्रिएर पानी परेसँगै चर्को गर्मीबाट सर्वसाधारणले राहत महसुस गरेका छन् । गर्मी अझै कम हुन मनसुन सक्रिय हुनुपर्ने मौसमविद्को भनाइ छ ।

- यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।