साउन ६, काठमाडौँ | प्रहरी थुनामा दैनिक खाना लिएर जाने झन्झटले नक्कली प्रमाणपत्रधारी कारबाहीबाट उम्कन सक्ने अवस्था उत्पन्न भएको छ । प्रवेशिकाको प्रमाणपत्रको सत्यापन(भेरिफिकेसन) गर्न पुगेकामध्ये कतिपयको नक्कली प्रमाणपत्र भएको पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।

त्यस क्रममा प्रहरीको जिम्मा लगाइएका उनीहरूलाई मुद्दाको किनारा नलाग्दासम्म बिहान र साँझ प्रहरी चौकीमा खाना पुर्याउनुपर्ने हुन्छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)का पदाधिकारीहरूले भने खाना लगिदिने कर्मचारीको अभावले त्यस्ता व्यक्तिलाई प्रहरीको जिम्मा नलगाउने तर्क गर्ने गरेका छन् ।

पनिकाका अनुसार सत्यापनका लागि अचेल दैनिक डेढ सयदेखि तीन सयवटासम्म प्रमाणपत्र पेस हुने गरेको छ । तीमध्ये दैनिक एउटा वा दुईवटा प्रमाणपत्र नक्कली हुने गरेको छ । त्यस्ता प्रमाणपत्रधारीलाई ‘तपाईंको प्रमाणपत्र नक्कली हो, पुलिसलाई बोलाइदिऊँ ?’ भनेर पनिकाका कर्मचारीले भनेपछि उनीहरू तत्काल त्यहाँबाट भाग्ने गरेका छन् ।

त्यस्ता प्रमाणपत्र पनिकाको झ्यालबाट बुझाउँदा कतिपयले हेल्मेट र मास्कसमेत खोलेका हुँदैनन् । प्रमाणपत्र बुझाएको आधा घण्टाभित्रै सत्यापन गर्ने गरिएको छ ।

- यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।

July 22, 2019
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
दिनहुँ भेटिन्छन् नक्कली प्रमाणपत्रधारी
By साझासवाल
3 मिनेट पढाइ