पढ्न करिब 3 मिनेट लाग्छ

माघ २३, काठमाडौँ | एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ | गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको हो |

चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ | नेपाल लसुनमा आत्मर्निभर नभएपछि बजारको माग पूरा गर्न व्यवसायीले चीनबाट लसुन आयात गर्दै आएका छन् । नेपालमा करिब ८० प्रतिशत लसुन चीनबाट आयात हुँदै आएको छ । चीनसँग सीमा जोडिएको रसुवागढी (केरुङ) र तातोपानी (खासा) नाका बन्द भएकाले विगत एक सातादेखि लसुनको आयातमा कमी आएको छ |

पछिल्लो समय चीनबाट लसुनको आयात घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले चीनसँग जोडिएको नेपालको भन्सार नाका बन्द भएपछि लसुन आयातमा कमी आएको बताए ।

बजारको मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा र आयातसमेत बन्द हुँदा लसुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको उनले बताए । प्रवक्ता श्रेष्ठका अनुसार कालिमाटी बजारमा औसतमा दैनिक ४–५ टन आयात हुने लसुन विगत चार दिनयता आयात भएको छैन । समितिका अनुसार पुसमा चीनबाट २ सय ५० टन चिनियाँ लसुन आयात गरिएकामा माघमा ९८ टन मात्र आयात भएको छ । गत सातादेखि आयात नै ठप्प भएकाले यसले बजारमा थप प्रभाव पार्न सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

उनले आयात प्रभावित भए यो मूल्य अझै बढ्न सक्ने बताए । ‘नेपाल लसुनमा चीनमाथि निर्भर छ,’ उनले भने, ‘भारतबाट थोरै मात्रामा आउँछ, कोरोना भाइरसको संक्रमणका कारण चीनसँग जोडिएका सबै नाका बन्द भएसँगै लसुनको मूल्य वृद्धि भएको हो ।’

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ६ महिनामा ६४ करोड रुपैयाँबराबरको ५ हजार ७२८ टन लसुन आयात भएको छ । तीमध्ये चीनबाट ५४ करोड ५२ लाख रुपैयाँबराबरको ५ हजार ७८ टन लसुन आयात भएको छ । यस अवधिमा भारतबाट करिब ६ सय ५० टन लसुन आयात भएको तथ्यांक भन्सार विभागसँग छ ।

गत वर्ष ८३ करोड रुपैयाँ बढीको ९ हजार २७७ टन लसुन आयात भएको थियो । चालू आवको पहिलो ६ महिनामा नेपालबाट ५८ लाख रुपैयाँबराबरको १ सय २५ टन लसुन निर्यात भएको छ । गत वर्ष ११ लाख रुपैयाँको १६ टन लसुन निर्यात भएको थियो ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार २२ देखि २९ पुससम्म प्रतिकिलो लसुनको औसत मूल्य २ सय ४५ रुपैयाँ थियो । त्यस्तै, १ माघमा प्रतिकिलो ४० रुपैयाँ बढेर २ सय ८५ रुपैयाँ पुगेको थियो ।

यसैगरी, ३ माघमा २ सय ८५ रुपैयाँमा बिक्री भएको लसुनको औसत मूल्य ४ माघमा प्रतिकिलो ४० रुपैयाँले वृद्धि भई ३ सय २० रुपैयाँ पुगेको थियो । त्यस्तै, ५ माघमा प्रतिकिलो ३ सय ४० रुपैयाँ, ६ माघमा प्रतिकिलो ३ सय ५० रुपैयाँ, ७ माघमा ४ सय ५० रुपैयाँ र १० माघमा ४ सय ९० रुपैयाँ पुगेको थियो ।

समितिको दैनिक कारोबारको तथ्यांकअनुसार १ माघदेखि क्रमशः उकालो लागेको लसुनको मूल्य २२ माघमा आइपुग्दा प्रतिकिलो औसत ३ सय ३५ रुपैयाँमा कारोबार भएको छ । समितिको तथ्यांकअनुसार एक महिनामा प्रतिकेजी ३ सय ५० बढेको हो |- यो समाचार आजको राजधानी दैनिकमा छ |