पढ्न करिब 2 मिनेट लाग्छ

मंसिर २३, काठमाडौं | गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको सेटिङमा नेपाली कामदारलाई भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको भन्ने गुनासो आएको भन्दै छानबिन शुरु गरेपछि विमानस्थलले सोमबार बिहान २ बजे ८४ जना नेपालीलाई फिर्ता पठाएको छ |

फ्लाई दुबई र नेपाल एयरलाइन्सबाट भिजिट भिसामा त्यता जान लागेका ती नेपालीलाई फिर्ता गरेपछि नाराबाजीसमेत भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ | मानवतस्करहरुले विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर खाडी मुलुक पठाउने गर्दा हजारौं नेपाली अलपत्र परेको भन्दै सम्बन्धित देशका दूतावासले सरकारलाई गुनासो गरेका थिए |

त्यही गुनासोका आधारमा गृह मन्त्रालयले विमानस्थलमा भएको गडबढीका बारेमा छानबिन गर्न समिति गठन गरेको थियो। त्यसपछि नै विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारीले भिजिट भिसामा जाने नेपाली कामदारलाई एकैपटक फर्काइदिएको हो |

विमानस्थलमा रहेका मानवतस्करले भिजिट भिसामा त्यता जान लागेका नेपालीलाई नै उचालेर नाराबाजी गर्न लगाएका थिए । नाराबाजी हुन थालेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई फिर्ता पठाएको थियो ।

यसअघि सेटिङ गर्दै आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारी र विभिन्न एयरलाइन्सका कर्मचारीको मिलेमतोमा नेपालीहरु कमका लागि भिजिट भिसामार्फत खाडी मुलुक जाने गरेका थिए ।

अहिले विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण अवैधरुपमा बसेका विदेशी कामदारलाई धमाधम सम्बन्धित देश फर्काउन थालेपछि नेपाली दूतावासहरुले अवैधरुपमा खाडी मुलुक प्रवेश गर्ने नेपालीलाई रोक्न सरकारलाई आग्रह गरेको थियो | यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ |