चैत १४, काठमाडौं । भारतमा आज र भोलि बन्द घोषणा गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको हो । बन्दलाई अखिल भारतीय बैंक कर्मचारी संघले समर्थन गरेको छ ।

द हिन्दु समाचार पत्रका अनुसार नरेन्द्र मोदी नेतृत्वको सरकारका मजदुर, किसान र आमजनताविरोधी नीतिहरूको विरोधमा विभिन्न ट्रेड युनियनहरूले ४८ घन्टे बन्दको घोषणा गरेका हुन्। उक्त बन्दमा बैंकिङ, रेलवे, सडक, ट्रान्सपोर्ट, बिजुलीको क्षेत्रमा काम गर्ने कामदारले पनि साथ दिने बताएका छन्।

यसअघि २२ मार्चमा नयाँदिल्लीमा बसेको ट्रेड युनियनहरूको बैठकले मोदी सरकारका नीतिविरूद्ध भारत बन्द गर्ने निर्णय गरेको थियो।

सत्तारूढ भारतीय जनता पार्टीनिकट ट्रेड युनियनले भने यो बन्द राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै सहभागी नहुने बताएको छ।

बन्दकर्ताहरूले श्रम कानुनमा हुन लागेको परिमार्जन रोक्नुपर्ने, इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने लगायत विभिन्न माग राखेका छन्। बन्दमा २० करोड कामदारहरू सहभागी ट्रेड युनियनका नेताहरूको दाबी छ।

March 28, 2022
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
भारतमा आज र भोलि बन्दको घोषणा
By साझासवाल
3 मिनेट पढाइ