भदौ २०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले राजेन्द्र लिङ्देनको राजीनामाले सदनको बोझ हटेकाे जनाएको छ।

माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको राजीनामा पहिल्यै आउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको भदौ २१ गतेको बैठकमा लिङ्देनको नाम उल्लेख नगरी महतले यस्तो टिप्पणी गरेका हुन्।

“अस्ति मात्रै आफूलाई अब्बल, राष्ट्रवादी र खूब इमानदार ठान्ने तर सदनमा आक्कल–झुक्कल आउने, आउँदा पनि राजा-महाराजा आएको झल्को देखाउने, सदनको भूमिकामा चासो नै नराख्ने, पहिले नै राजीनामा दिनुपर्ने मान्छे, साँचो अर्थमा भन्नुपर्दा सदनका लागि बोझ जस्ता देखिने माननीयले राजीनामा दिएर यो सदनलाई हलुका महसूस गराउनुभएकोमा उहाँलाई धन्यवाद,” महतले भने, “पुनः सांसद भएर आएमा उहाँको भूमिका के हुने, त्यो हेर्न बाँकी नै छ। उहाँलाई केही भनेर बिदाइ गर्ने मन थियो, त्यो अवसर पाइएन।”

राप्रपा अध्यक्ष लिङ्देनले भदौ १९ गते प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

September 6, 2022
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
राजेन्द्र लिङ्देनबारे माओवादी टिप्पणी–सदनको बोझ हट्यो, पहिल्यै राजीनामा आउनुपर्थ्यो
By साझासवाल
3 मिनेट पढाइ